ad ad

राजनीति


नेताहरुको शंका मेटाउन यस्तो रह्यो दिनभर प्रचण्डको व्यस्तता

नेताहरुको शंका मेटाउन यस्तो रह्यो दिनभर प्रचण्डको व्यस्तता

सागर न्यौपाने
साउन ४, २०७७ आइतबार १२:३६,

सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय र स्थायी कमिटीका आफूनिकट नेताहरुलाई विश्वासमा लिने प्रयत्न थालेका छन्।

आइतबार विहान उनले सचिवालयका शीर्ष नेताहरुदेखि स्थायी कमिटीका प्रभावशाली नेताहरुसँग अनौपचारिक छलफल गरी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनैपनि सहमति नगरेको प्रष्टिकरण दिएका हुन्।

प्रचण्ड निवास खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र १४ जना स्थायी कमिटी सदस्यहरुसँग सामूहिक छलफल गरेर प्रचण्डले आफूले ओलीसँग कुनै सम्झौता वा सहमति नगरेको स्पष्टीकरण दिएको सहभागी एक नेताले नेपालखबरलाई बताए।

सो अवसरमा प्रचण्डले ओलीसँग एक्लाएक्लै भएका भेटबारे समेत खुलस्त कुरा राखेका थिए। असार १८ गतेको स्थायी कमिटी बैठक रोकेर ओली प्रचण्डबीच कम्तिमा सातपटक एक्लाएक्लै भेट भएको थियो।

शनिबार बसेको सचिवालय बैठकमा ओली र प्रचण्डबीच गोप्य सहमति भएको आशंका गरेका वरिष्ठ नेता नेपाल लगायतलाई प्रचण्डले विश्वस्त पार्न खुमलटार बोलाएका हुन्।

स्थायी कमिटीका आफूपक्षीय नेताहरुसहित पुगेका नेता नेपालले सुरुमा ओली–प्रचण्डबीच सहमति बनेको भन्ने विषयमा जिज्ञासा राखेका थिए।

‘मिडियामा तपाईं र ओलीजीबीचमा सहमति बनेको समाचार आएका छन्,’ नेता नेपालको भनाई उद्धृत गर्दै प्रचण्ड निवास खुमलटारमा सहभागी एक नेताले नेपालखबरसँग भने, ‘यो कस्तो खालको सहमति बनेको हो? पार्टीलाई बिधि र प्रक्रियाअनुसार चलाउने कुरामा सहमत तपाईं कसरी ओलीजीसँग सहमति गर्न पुग्नुभयो?’

नेता नेपालले सहमतिको नाममा दुई अध्यक्षमात्र बसेर गरे त्यो गलत हुने समेत बताएका थिए।

‘सहमति हुनुपर्छ तर सहमतिका नाममा दुइजना मात्रै बसेर हुँदेन, पार्टीका कमिटी छन्, बैठक चलिरहेको छ, त्यहीँ छलफल चलाउनुपर्छ,’ नेपालको भनाई उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘कुनै पनि सहमति पार्टीका बैठकमा स्पष्ट रुपमा प्रस्तावसहित आएपछि मात्र गरिनुपर्छ।’

जवाफमा प्रचण्डले ओलीसँग कुनै सहमति नभएको बताएका थिए।

ओलीसँगको भेट र शनिबारको बैठकबारे बिफ्रिङ गर्दै प्रचण्डले भने, ‘कुनै कुरामा सहमति जुटेको छैन, महाधिवेशन गर्ने प्रस्ताव आएको हो,’ प्रचण्डको भनाई उद्धृत गर्दै अर्का एक नेताले भने, ‘बाहिर चाहिँ सबै सहमति भइसके जसरी हल्ला भइरहेको छ। यो सब बेकार हो।’

कोरोना संकट जारी रहेको, एकता प्रक्रिया नसकिएको र संगठित सदस्यता नवीकरण नै नभएको अबस्थामा छिटो महाधिवेशन कसरी गर्न सकिन्छ र भनी प्रचण्डले नै प्रतिप्रश्न गरेका थिए।
‘बरु यो प्रस्तावलाई पार्टी कमिटीको बैठकमा लैजाऊँ भनेको हुँ,’ उनले भने।

प्रचण्डको प्रष्टोक्ति सुनेपछि नेता नेपालले आफ्नो पक्षले उठाउँदै आएका विषयमा थप दृढताका साथ एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका थिए।

‘पार्टीभित्र भ्रम पैदा गरी अविश्वास जन्माउने कोशिस भइरहेको छ, हामी भ्रममा पर्नु हुँदैन, सबै एकताबद्ध भएर जानुपर्छ’, नेपालले भने।

स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, भीम रावल, बेदुराम भुसाल, भीम आचार्य, वर्षमान पुन, मुकुन्द न्यौपाने, देवप्रसाद गुरुङ, पम्फा भुसाल, रघुजी पन्त, मात्रिका यादव, गोकर्ण विष्ट लगायतका नेता सहभागी थिए।

नेता यादवले पनि जनता र कार्यकर्तामा भ्रम परे त्यसले जटिलता ल्याउने भन्दै त्यस्तो स्थिति आउन दिननहुने बताएका थिए।

‘कमाण्डरले सिपाहीहरुलाई सुदृढ गरेर राख्नुपर्छ अनिमात्रै लडाइँ जितिन्छ,’ यादवले बैठकमा भनेका थिए।

मंसिरमा महाधिवेशन : अल्मल्याउने योजना
खुमलटारमा पुगेका अर्का एक नेताले पनि प्रधानमन्त्री ओलीले आफ्नो राजीनामाको माग गरिरहेका नेताहरुलाई अल्मल्याउन मंसिरमा विशेष महाधिवेशनको प्रस्ताव अघि सारेको हुनसक्ने बताएका थिए।
‘मंसिरमा विशेष महाधिवेशन गर्न संभव छ ?, नेता अष्टलक्ष्मी शाक्यले नेपालखबरसँग भनिन्, ‘प्रधानमन्त्रीको काम नै नयाँ प्रस्ताव ल्याउने, नेताहरुलाई अल्मल्याउने, झुक्याउने हो, गुटगत भेला गरेर विषयान्तर गरी अरु नेताहरुलाई इन्गेज गराउन यो प्रस्ताव आएको हो।’

प्रचण्डले उनको कुरामा सहमति जनाउँदै ‘अहिले हामी तरङ्गित भइहाल्न आवश्यक छैन’ भनी अरु नेताहरुलाई आश्वस्त पारेका थिए।

प्रचण्ड भेट्न विहानै विष्णु र जनार्दन खुमलटार
महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्माले आइतबार विहानै कार्यकारी अध्यक्ष प्रचण्डलाई उनकै निवास पुगेर भेट गरेका थिए।

शनिबार पनि अध्यक्षद्वय ओली र प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका बेला पौडेल र शर्मा सँगै थिए।

बालुवाटारमा भएको सचिवालयको बैठक लगत्तै ओली–प्रचण्ड शीतल निवास गएका थिए।

शीतल निवासबाट फर्किएपछि प्रचण्डको सचिवालयले भने ओलीसँग कुनै सहमति नभएको भन्दै विज्ञप्ति निकालेको थियो। त्यसपछि आइतबार विहानै पौडेल र शर्माले प्रचण्डलाई भेट गरेका हुन्।

आइतबार विहानभर व्यस्त प्रचण्ड
ओली र प्रचण्डबीच केही न केही समझदारी भएको हुनसक्ने बताइरहेका बेला प्रचण्ड आइतबार विहानभर भेटघाटमै व्यस्त रहे।

उनले विहानै उपाध्यक्ष वामदेव गौतमसँग पनि छलफल गरेका थिए। त्यसपछि आफू निकटका केही नेतासँग छुट्टै परामर्श पनि गरेका थिए।

आलापालो प्रधानमन्त्रीको प्रस्ताव छोडेको छैन
प्रचण्डले आफूले ओलीसँग उठाउँदै आएको आलोपालो सरकारको नेतृत्वको माग नछोडेको बताएका छन्।

आफू निकटका नेता र वरिष्ठ नेता खनाल–नेपालसँगको छलफलमा उनले आफूले आलोपालोको प्रस्ताव नछोडेको स्पष्ट पारेको एक नेताले बताए।

‘आलोपालोको अडान छोडेको छैन, तपाईंहरु के कुरामा स्पष्ट हुनुस् भने, त्यो माग यथावत छदैँछ, अहिले नयाँ ढंगले गतिरोध हल गर्न खोजिएपनि स्थायी कमिटीको बैठक नबसी त्यो हल हुनेवाला छैन,’ प्रचण्डले भने।

दुई पार्टी एकीकरण हुँदा दुई अध्यक्षले पार्टीको संयुक्त नेतृत्व र सरकारको आलोपालो नेतृत्व गर्ने सहमति भएको थियो।

तर, गतवर्ष ओलीले पुरै पाँचवर्ष सरकारको नेतृत्व गर्ने र प्रचण्डले कार्यकारी अध्यक्षको रुपमा पार्टी हाँक्ने सहमति गरिएको थियो। त्यसअनुसार पार्टी सञ्चालन गर्न नपाएपछि प्रचण्डले सरकारको नेतृत्व आलोपालो हुनुपर्ने माग उठाएका छन्।

अझै कन्फ्युजन नै छ ?
नेकपाका नेताहरु अझैपनि नेकपाभित्रको विवाद समाधानमा ‘कन्फ्युजन’ नै रहेको बताउँछन्।

प्रचण्डले पनि आफ्ना मागहरु छोड्ने भए सरसलल्लाहमै छोड्ने र ओलीले पनि सहमति गरेरै पद त्याग गर्ने आशय व्यक्त गरेको बताउने गरेका छन्। तर, कस्तो खालको सहमति गर्ने भन्ने विषयमा दुई नेता अझै निष्कर्षमा नपुगेको प्रचण्ड–ओलीलाई भेटिरहने नेताहरु बताउँछन्।

‘ओली–प्रचण्डले केही न केही सहमति गर्न खोजेको जस्तो देखिन्छ,’ ती नेताले भने, ‘यही नै सहमति गर्ने भनेर उहाँहरुबीचमा प्रष्टता आएको छैन, प्रचण्ड पनि छलफल मै हुनुहुन्छ, यही र यसैगरी गरौं भन्ने ठ्याक्कै बनिसकेको देखिदैँन।’

स्थायी कमिटी बैठक : प्रधानमन्त्रीले सारे २ दिन
प्रधानमन्त्री ओलीकै चाहनामा स्थायी कमिटीको बैठक दुई दिन पर सारिएको एक स्थायी कमिटी सदस्यले बताए।

आइतबार ३ बजेको लागि बोलाइएको बैठक अब मंगलबार विहान ११ बजेको लागि बोलाइएको छ। कार्यकारी अध्यक्ष प्रचण्डले सोमबार राख्न खोजेको बैठक ओलीले पर्सी राखौं भनेपछि दुईदिन पर सारिएको हो।

‘प्रचण्ड–नेपाल समूहले भोलि राखौं भनेको हो, तर प्रधानमन्त्रीले पर्सी राखौं भन्नुभएछ’, ती नेताले भने।

खुमलटारमा बिहानदेखि निरन्तर भेटघाटमा रहेका उनी, अपरान्ह अध्यक्ष तथा प्रधामन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।

याे पनि: 
ओली–प्रचण्ड मात्र मिले देशव्यापी अभियानमा जान्छु : माधव नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .