ad ad

राजनीति


नेकपामा गुटबन्दी चर्काउने अखडा बन्दैछन् नेताका नाममा खुलेका प्रतिष्ठान

नेकपामा गुटबन्दी चर्काउने अखडा बन्दैछन् नेताका नाममा खुलेका प्रतिष्ठान

सागर न्यौपाने
साउन ११, २०७७ आइतबार १६:४८,

असार १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सत्ताबाट हटाउन भारत (दिल्ली)र पार्टीभित्रकै केही नेता लागेको आरोप लगाए।

मदन जयन्तीको अवसर पारेर मदन भण्डारी फाउन्डेसनले काठमाडौंमा गरेको कार्यक्रममा ओलीले दिएको यो अभिव्यक्तिले नेकपाभित्रको विवादलाई उत्कर्षमा पुर्‍यायो।

असार १० गते बसेको स्थायी कमिटीको बैठकमा सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै ओलीको राजीनामा माग भएको थियो। त्यसपछि १२ र १३ गतेको बैठकमा सहभागी हुन अस्वीकार गरेका प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा पुगेर विवाद चर्काउने काम गरे।

उता, पुष्पलाल स्मृति दिवसमा साउन ९ गते तुल्सीलाल स्मृतिभवन च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले ओलीप्रति तीव्र कटाक्ष गरे।

ओलीले पार्टीलाई रायमाझीपथमा लैजान खोजेको भन्दै प्रचण्डले पार्टी गम्भीर संकट रहेको पनि बताए।

वास्तवमा पुराना कम्युनिस्ट नेताको नाममा खोलिएका यस्ता प्रतिष्ठानहरु हालका नेताहरुको शक्ति प्रदर्शन र गुटबन्दी चर्काउने अखडा बन्ने गरेका छन्।

पार्टीको औपचारिक कमिटीहरुको बैठकसमेत बस्न नसकिरहेको बेला यस्ता संस्थाहरुको गतिविधि भने बढिरहेको देखिन्छ।

नेकपामा मृत नेताहरुको नाममा अनेकौँ संस्था खोलिएका छन्। मदन भण्डारी फाउन्डेसन, माधव नेपाल अध्यक्ष रहेको पुष्पलाल स्मृति प्रतिष्ठान, गोपाल शाक्य अध्यक्ष रहेको तुल्सीलाल स्मृति प्रतिष्ठान, मनमोहन स्मृति प्रतिष्ठान, मदन–आश्रित स्मृति प्रतिष्ठान, पोष्टबहादुर बोगटी फाउन्डेसन, नरबहादुर कर्माचार्य फाउन्डेसन, इच्छुक प्रतिष्ठान, सहीद स्मृति प्रतिष्ठान जस्ता संस्था सक्रिय छन्।

त्यस्तै, रवीन्द्र अधिकारी, प्रकाश दाहाल, साहना प्रधान, नेत्रलाल अभागीलगायतका नाममा पनि प्रतिष्ठान सञ्चालन भइरहेको छ।

मदन भण्डारी, पुष्पलाल, तुल्सीलाल प्रतिष्ठानलाई सरकारले वार्षिक बजेट समेत दिने गरेको छ। मदन भण्डारी अध्ययन केन्द्र, कार्ल माक्र्स द्विशतवार्षिकी केन्द्र, झलनाथ खनाल फाउन्डेसन, पुष्पलाल मित्रता केन्द्रले वर्षमा एक दुईपटक कार्यक्रम राख्ने गरेका छन्।

नेकपा स्थायी समिति सदस्य युवराज ज्ञवालीले प्रधानमन्त्री ओलीले नै पार्टीको गविविधि ठप्प पारेर ‘हाँगाबिँगा’ चलाएको आरोप लगाए।

‘नेकपाको गतिविधि ठप्प छ। चलेकै छैन, त्यसको काम चाहिँ नगर्नै अनि, अरु हाँगाबिँगा चलाउने काम हिजो पनि थियो, आज पनि जारी राख्न थाल्नुभयो,’ ज्ञवालीले भने, ‘यो शक्तिको अभ्यास गर्ने कसरत हो।’

ओलीले एमालेमा छँदैदेखि मदन भण्डारी फाउन्डेसनमार्फत गतिविधि गर्दै आएका थिए।

आठौँ महाधिवेशनमा झलनाथ खनालसँग पराजित भएपछि ओलीले खनालको विरुद्धमा सोही फाउन्डेसनमार्फत देशभर कार्यक्रम आयोजना गरेका थिए।

खनाल प्रधानमन्त्री भएका बेला ३ महिनामै सरकार असफल भएको र विदाई गर्ने बेला आएको भन्दै ओली खुल्लमखुल्ला सरकार ढाल्न लागिपरे। त्यसबेला ओलीले दिएको अभिव्यक्तिको भिडियो अहिले पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

नवौं महाधिवेशनपछि अध्यक्ष बनेका ओलीले फाउन्डेसनमा नियमित कार्यक्रम गरेर आफ्नो उपस्थिति जनाइरहे।

देशभर सम्पर्क सञ्जाल रहेको सो फाउन्डेसनको आफ्नै कलेज, पोलिटेक्निक इन्स्टिच्युट पनि छन्।

अहिलेको नेकपाको देशभर रहेको पार्टी संरचनाभन्दा सो फाउन्डेसन बढी सक्रिय रहेको आरोप एकाथरी नेताहरुको छ। यसमार्फत ओलीले पहिलेदेखि गुटको कार्यक्रम गर्ने र आफ्ना धारणा लैजाने परिपाटीलाई अहिले पनि जारी राखेको नेताहरु बताउँछन्।

२०७१ सालको कात्तिक महिनामा बसेको केन्द्रीय कमिटीको बैठकमा माधव नेपालले अध्यक्ष ओलीले प्रतिष्ठानका नाममा समानान्तर गतिविधि गरेको आरोप लगाएका थिए।

पछिल्लो समय पार्टीभित्र अल्पमतमा देखिएका ओलीले विवादका विषयमा बोल्न, गतिविधि गर्न फेरि फाउन्डेसनको सहायता लिन थालेका छन्। यसले समस्या झन् बल्झाउने नेताहरु बताउँछन्।

‘मूल पार्टीको काम नगर्ने बाहिर बाहिर गुट चलाउँदै हिँड्ने उहाँको पुरानो बानी हो,’ स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने, ‘यसले समस्या झन् थपिन्छ।

माघ १५ देखि १९ सम्म बसेको नेकपाको केन्द्रीय कमिटीको बैठकमा नेताहरुले प्रतिष्ठान, अध्ययन केन्द्र या फाउन्डेसनका नाममा खोलिएका संघसंस्था गुटबन्दीको ‘घर’ भएको भन्दै तत्काल बन्द गर्न सुझाव दिएका थिए।

केन्द्रीय सदस्यहरुले गुटबन्दीको सुरुवात पार्टी नेतृत्वले नै गरेको र त्यसलाई व्यवस्थित गर्न फाउन्डेसन प्रयोग गरिएको आरोप लगाउँदै त्यसलाई बन्द गर्नुपर्ने आवाज उठाएका थिए। तर, त्यस्ता संस्था बन्द हुनु त कता हो कता, अन्य नेताहरुले पनि ओलीकै सिको गर्दै ती संस्थामार्फत गुटबन्दी चर्काइरहेका छन्।

सहाना प्रधान स्मृति प्रतिष्ठानले असार २९ गते एक भिडियो कन्फ्रेन्स आयोजना गर्‍यो। प्रतिष्ठानकी अध्यक्ष सांसद रामकुमारी झाँक्री हुन्। सो कन्फ्रेन्समा बोल्दै वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्ष सरकार सञ्चालन गर्न दिने हो भने अर्को चुनावमा नेकपा सखाप हुने बताए।

‘ओलीले अहिले जसरी सरकार सञ्चालन गरिरहनु भएको छ, त्यसरी पाँच वर्ष उहाँलाई सरकार सञ्चालन गर्न दिने हो भने नेकपा रुट आउट हुन्छ,’ खनालले भने।

ओलीले पार्टी फुटको त्रास देखाएर सत्ता टिकाउन खोजेको उनको आरोप थियो।

साउन १० गते मदन भण्डारी फाउन्डेसनले काभ्रेमा कार्यक्रम राख्यो। कार्यक्रममा अतिथि बनाइएका थिए ओली पक्षकै नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली।

उनले पार्टीभित्र विवाद झिकेर सरकार र नेतृत्वलाई असफल बनाउन खोजिएको भन्दै तीव्र असन्तुष्टि जनाए।

नेताका नाममा खुलेका प्रतिष्ठानबाट पार्टीको समानान्तर गतिविधि चलाउनु दुःखद् भएको केन्द्रीय सदस्य ठाकुर गैरेले बताए।

‘कम्युनिस्ट नेताका नाममा प्रतिष्ठान खालेर उहाँहरुको बारेमा प्रचार प्रसार गरिनु राम्रो हो,’ गैरेले नेपालखबरसँग भने, ‘पार्टीको समानान्तर संगठन जसरी चलाउने, गुटबन्दी गर्न त्यसलाई प्रयोग गरिनु भने गलत छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .