ad ad

राजनीति


कोरोना नियन्त्रणमा सरकारको काम नदेख्नेहरु ‘मोतिविन्दु’ लागेका हुन्ः स्वास्थ्यमन्त्री ढकाल (भिडियाे)

कोरोना नियन्त्रणमा सरकारको काम नदेख्नेहरु ‘मोतिविन्दु’ लागेका हुन्ः स्वास्थ्यमन्त्री ढकाल (भिडियाे)

नेपालखबर
साउन १२, २०७७ सोमबार ११:४६,

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम नदेख्ने नेपालीलाई मोतिविन्दु लागेको टिप्पणी गरेका छन्।

सोमबार वीर अस्पतालको १ सय ३१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम विदेशीहरुले देखेको तर नेपालीहरुले नदेख्नुमा नेपाली संस्कारमा मोतिविन्दु लागेको हुनसक्ने बताए। उनले शक्ति सम्पन्न राष्ट्रहरुले भन्दा नेपाल सरकारले प्रभावकारी काम गर्न सकेको तर नेपालीहरुले नै नदेखेको बताए।

उनले विदेशमा बस्ने नेपाली र स्वदेशमा बस्ने नेपाली सबैले सरकारको काम नदेख्नुले नेपाली संस्कारमा मोतिविन्दु लागेको हुनसक्ने अनुभूति भएको बताएका हुन्।

उनले भने, ‘शक्ति सम्पन्न राष्ट्रहरुको स्वास्थ्य नीतिप्रति त्यहाँका जनता र राष्ट्र प्रतिको जवाफदेहिता र सिमित साधन स्रोतबाट हाम्रो जस्तो मुलुकमा हामीले निर्वाह गरेको यो भूमिका विदेशमा बस्ने नेपालीले र स्वदेशमा बसेका नेपालीहरुले यसलाई देख्न सक्दैनन्। मलाई लाग्छ यो सकारात्मक पक्ष नदेख्नुमा हाम्रो संस्कारमा कतै मोतियाविन्दु लागेको छ की जस्तो अनुभूति मैले गर्ने गरेको छु।’ 

कोभिड १९ बाट विश्वभर मृत्यु हुनेहरुको दर बढी रहेको तर नेपालले शुन्य दशमलव २ प्रतिशत भन्दा कममा रोक्न सक्नु सबैभन्दा सकारात्मक पक्ष भएको बताए। नेपाल कोरोना रोकथाम तथा नियन्त्रणका लागि दक्षिण एशिया मै राम्रो रहेको मन्त्री ढकालले बताए। उनले भारतमा भन्दा नेपालमा पहिला कोरोना संक्रमणको केस देखिएको तर अहिले भारतमा उच्च गतिमा वृद्धि भइरहँदा नेपालमा नियन्त्रण भित्रै रहेको बताए।

सरकारको स्वास्थ्य नीति कस्तो छ र सरकारबाट कस्तो स्वास्थ्य सुविधा पाउन सकिन्छ भन्ने थाहा पाउन एकपटक वीर अस्पतालमा आउनै पर्ने समेत मन्त्री ढकालले बताए। वीर अस्पतालमा आउँदा सेवाग्राहीलाई राज्यको मूटु अस्पतालमा आएको छु भन्ने अनुभूति गर्न सक्नेगरी सेवालाई प्रभावकारी बनाउन समेत उनले निर्देशन दिए।

राज्यको तर्फबाट कमि कमजोरी भई प्रभावकारी सेवा दिन नसके कसरी सेवा प्रभावकारी बनाउने भन्ने सम्बन्धमा प्रस्ताव ल्याउन समेत वीर अस्पताललाई आग्रह गरे।

अस्पताल भित्र बेथिति भए सुधार गर्न तयार रहन आग्रह गर्दै राज्यबाट बेथिति भएको भए सरकार सुध्रिन तयार रहेको समेत मन्त्री ढकालले बताए। जनताले सरकारलाई हेर्ने ऐनाको रुपमा वीर अस्पताल रहेकाले अस्पतालका सेवालाई प्रभावकारी बनाउँदै जानुपर्नेमा उनले जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .