ad ad

राजनीति


गौतम र थापाको साथ पाउने संकेतसँगै प्रचण्डलाई ओलीको प्रस्तावः सचिवालय बैठकबाटै विवाद सल्ट्याऔँ

गौतम र थापाको साथ पाउने संकेतसँगै प्रचण्डलाई ओलीको प्रस्तावः सचिवालय बैठकबाटै विवाद सल्ट्याऔँ

सागर न्यौपाने
साउन १८, २०७७ आइतबार १५:३१,

नेकपाभित्रको विवादबारे कुन कमिटीमा छलफल गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा आइतबार बिहान बालुवाटारमा भएको दुई अध्यक्षहरुबीचको छलफल निष्कर्षविहीन बनेको छ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको विवादको निकास सचिवालय बैठकबाट गर्नुपर्ने प्रस्ताव राखेका थिए। जवाफमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी स्थायी कमिटी बैठकबाटै विवादको समाधान खोज्नुपर्ने बताएपछि दुई अध्यक्षबीचको छलफलमा सहमति जुट्न नसकेको स्रोतले जनायो।

‘पार्टीभित्रको गतिरोध अन्त्य गर्न तत्काल स्थायी कमिटीको बैठक बोलाउन प्रचण्ड र मैले ओलीलाई आग्रह गर्‍यौं,’ बालुवाटारमा दुई अध्यक्षसँगै रहेका झलनाथ खनालको भनाइ उधृत गर्दै एक नेताले भने, ‘ओलीजीले सचिवालय बैठकबाट टुंगो लगाउने प्रस्ताव गर्नुभयो अनि कुरा मिलेन।’

ओली–प्रचण्डबीच आइतबार भएको छलफलमा वरिष्ठ नेता खनालसँगै स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई पनि सहभागी गराइएको थियो।

आइतबार भएको दुई अध्यक्षबीचको छलफलमा कुनै सहमति नजुटेपनि झण्डै एक हप्तादेखिको संवादहीनता भने तोडिएको प्रचण्डले बताएका छन्।

साउन १३ गतेपछि ओली–प्रचण्डबीच पहिलोपटक प्रत्यक्ष संवाद भएको हो।

‘बैठकमा कुरा त मिलेको छैन, ओलीले राजीनामा नदिने अडान दोहोर्‍याउनुभएको छ,’ प्रचण्डनिकट एक नेताले नेपालखबरसँग भने।

ओलीले किन राखे सचिवालय बैठकको प्रस्ताव?
स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित भएपछि त्यसको मिति तोक्न दुई अध्यक्षबीच भएको छलफलमा ओलीले सचिवालयको प्रस्ताव राखेका हुन्। यसलाई प्रचण्डले अस्वभाविक रुपमा पनि लिएका छन्।

सचिवालयमा अल्पमतमा रहेका भनिएका ओलीले पछिल्लो दिन नेताहरुसँगको छलफललाई तीव्रता दिएर आफू निकट बनाउने प्रयास गरिरहेका छन्।

साउन १३ गते उपाध्यक्ष वामदेव गौतमले ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री दिनुपर्ने र प्रचण्डको अधिकार बढाउनेसहितका ६ बुँदे प्रस्ताव अघि सारेका थिए। गृहमन्त्री समेत रहेका सचिवालयका अर्का सदस्य रामबहादुर थापाले पनि सचिवालयमा ओलीको समर्थन गर्ने स्थिति देखिएको छ।

गौतम र थापाको साथ पाएको अवस्थामा ओलीले सचिवालयमा बहुमत पाउनेछन्। ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल पनि ओलीसँगै छन्। सोही आधारमा पनि उनले सचिवालयको प्रस्ताव अघि सारेको हुनसक्ने वरिष्ठ नेता माधव नेपाल र प्रचण्ड पक्षले आशंका गरेको छ।

गृहमन्त्री थापाले पनि बिहीबार आफ्ना पक्षमा रहेका नेताहरुको भेला राखेका थिए। जसमा ओलीसँग मिलेर जाने, प्रचण्डसँग मिल्ने र मध्यमार्गीको रुपमा बीचमा रहने भन्ने तीन धार देखिएको नेताहरुले बताए।

स्थायी कमिटी सदस्यहरु देव गुरुङ र पम्फा भुसाल प्रचण्डसँग मिलेर जानुपर्ने पक्षमा उभिएका छन्। थापाका प्रभावशाली दुई नेता प्रचण्डसँग मिल्नुपर्ने पक्षमा रहेपछि थापाले आयोजना गरेको भेला कुनै निष्कर्षमा पुगेको थिएन।

असार १० गतेदेखि जारी स्थायी कमिटीको बैठकमा ओलीको राजीनामा माग भएपछि नेकपा विवाद उत्कर्षमा पुगेको हो।

साउन १३ गतेका लागि बोलाइएको स्थायी कमिटीको बैठक अध्यक्ष ओलीले एकल रुपमा स्थगित गरेपछि प्रचण्डले चलाएका थिए। २९ जना बहुमत नेताहरुसहित राखिएको सो बैठकले स्थायी कमिटीको बैठकको मिति तोक्न ओलीसँग छलफल गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो। तर, ४ दिनसम्म पनि दुईअध्यक्षबीच प्रत्यक्ष संवाद भएको थिएन।

आइतबार भएको छलफलमा ओलीसँग सहमति नजुटेपछि सोबारे आफू निकटका नेताहरुलाई अध्यक्ष प्रचण्डले खुमलटार निवास बोलाएर ब्रिफिङ गरेका छन्।

आइतबार साँझ वरिष्ठ नेता खनाल, नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेतासँग प्रचण्डले छलफल गरेका थिए।

नेकपाका दुई अध्यक्षबीचको बैठकमा कुनै सहमति नभएपछि फेरि भोलि (सोमबार) पनि छलफल हुने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .