ad ad

राजनीति


चप्पल र हाफ पाइन्ट लगाएर लौरो टेक्दै अछाम पुगेका मन्त्री के गर्दैछन् बाढीग्रस्त क्षेत्रमा

चप्पल र हाफ पाइन्ट लगाएर लौरो टेक्दै अछाम पुगेका मन्त्री के गर्दैछन् बाढीग्रस्त क्षेत्रमा

गोकुल जोशी
भदौ १०, २०७७ बुधबार ११:५७,

चप्पल, हाफ पाइन्ट, टिसर्ट र मुखमा मास्क लगाई लौरो टेकेर हिँड्दै एकजना व्यक्ति अछाम रामारोशनका बाढीपीडितबीच पुगे। मोटो शरीर भएका ती व्यक्तिका साथमा थिए केहि सुरक्षाकर्मी र सहयोगी।

यसरी धेरै तडक भडकबिना दुर्गम गाउँ पुगेका सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री झपटबहादुर बोहरा अहिले चर्चामा छन्। उनी त्यसरी गाउँ पुग्दाका तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका छन्।

मन्त्री बोहरा अछाममा गत मंगलवार राति अबिरल वर्षासँगै आएको बाढीले प्रभावित क्षेत्रको अनुगमनमा पुगेका हुन्।

त्यही क्रममा निकै अप्ठेरो बाटो छिचोल्दै हिडिरहेका तस्बिर धेरैले सामाजिक सञ्जालमा राखेर मन्त्री बोहराको प्रशंसा गरेको देखिन्छ।

यसअघि रामारोशन गाउँपालिकाकै बाढी प्रभावित क्षेत्रको अनुगमनमा हेलिकप्टरबाट गएका गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिञ्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, पूर्व–उपप्रधान तथा रक्षामन्त्री भीम रावल सहितको जम्बो टोली निकै आलोचित बनेको थियो।

स्थलगत निरीक्षण र राहतका लागि भन्दै दलबलसहित अछाम पुगेका गृहमन्त्री थापाले जनताले लगाएको बालीमाथि उभिएर भाषण गरेको भनी आलोचना भएको थियो।

अछामको रामारोशन गाउँपालिका–५ को स्थानीय कैलाश खोलामा बस्तीमा पस्दा १७ जना बेपत्ता भएका थिए। तीमध्ये ८ जनाको शव भेटिएको छ भने ९ जना अझै बेपत्ता छन्।

Jhapat Bohara 5

बाढीले त्यहाँका स्थानीयको घर, खेत बगाएर बगरमा परिणत गरेको छ। आफ्नै निर्वाचन क्षेत्रमा पर्ने रामारोशन गाउँपालिका–५ मा बाढीले बितण्डा मच्चाएको दुखद खबर सोहि प्रदेशका मन्त्री बोहराले बुधवार बिहान ५ बजेतिर जानकारी पाए।

त्यसपछि उनी बाढी पीडितहरुको व्यवस्थापन, राहत वितरण तथा उद्धारमा जुटेका हुन्। शनिवार राहत सामग्री लिएर बोहरा, उनको सचिवालयका सदस्य सहित ८ जनाको टोली बाढी प्रभावित क्षेत्रको अनुगमनमा निस्कियो।

धनगढीबाट गाडीमा गएको मन्त्री बोहराको अनुगमन टोली आइतवार अछाम पुग्यो। त्यसपछि उनी लौरो टेकेर बाढी प्रभावित गाउँ–गाउँ पुगे। बाढीले क्षति पुर्‍याएका घर, बाटोघाटो, कुलो, नहर, विद्युत गृह, सिँचाई, सडक पुल एक–एक गरी अनुगमन गरिरहेको अर्थमन्त्री बोहराका स्वकीय सचिव आदर्श साउँदले बताए।

‘कैलाश खोलाले प्रभावित हरेक ठाउँको अनुगमन गरिरहेका छौँ, पीडितसँग भेटघाट गरेर समस्याहरु बुझिरहेका छौँ,’ उनले नेपालखबरसंग भने, ‘बाढीपहिरो प्रभावित अन्य ठाउँको पनि अनुगमन गर्ने योजना छ।’

Jhapat Bohara 4

अनुगमन टोली बुधवार कैलाश खोलाले सबैभन्दा बढि मानवीय र भौतिक क्षति गरेको सैनिबजार पुगेको छ।

मन्त्री बोहराले अहिले बाढी प्रभावित क्षेत्रको अनुगमन, पीडितहरुसंग भेटघाट गरेर मृतकका परिवारलाई सान्त्वना दिएका छन्।

उनी बुधवार मृतकका मलामीमा पनि सहभागी भए। यसैबीच प्रदेश सरकारले मृतक परिवारलाई एक-एक लाख दिने निर्णय गरेको छ।

साथै घाइतेहरुको उपचारको खर्च सरकारले व्यहोर्ने र बाढी प्रभावितका नानीबाबुहरुलाई माध्यमिक शिक्षासम्म पठनपाठनका लागि प्रदेश सरकारमा छलफल गर्ने र आफ्नो क्षेत्रबाट हुने सम्पूर्ण सहयोग गर्ने आश्वासन मन्त्री बोहराले दिए।

Jhapat Bohara 3

३ लाख ६२ हजारको खाद्यान्न सामग्री वितरण
बाढी प्रभावित क्षेत्रको अनुगमनका लागि रामारोशन गाउँपालिका–५ पुगेका मन्त्री बोहराले राहत सामग्री बोकेर गएका थिए।

आफ्नो व्यक्तिगत स्रोतबाट ३ लाख ६२ हजार रकम बराबरको खाद्यान्न सामग्री बाढी प्रभावितलाई वितरण गरेको उनको सचिवालयले जनाएको छ। गाउँपालिका कार्यालयमार्फत उनले बाढी प्रभावितलाई राहत सामग्री उपलब्ध गराएका हुन्।

Jhapat Bohara 2

गोरेटो बाटो बनाइदै
बाढीले बाटो बगाउँदा रामारोशन गाउँपालिकाको केन्द्र मुजाबगरसँग केही गाउँको सम्पर्क बिच्छेद भएको छ।

अर्थमन्त्री बोहराले तत्कालै सो बाटो निर्माण सुरु गरेका छन्। प्रदेश पूर्वाधार कार्यक्रमबाट २० लाख विनियोजन गरेर मुजाबगरदेखि बाढीले सबैभन्दा बढि क्षति गरेको सैनिबजारसम्म जोड्ने गोरेटो बाटो निर्माण सुरु गरेका हुन्।

‘बाढी बगाएर जमिन र बाटो केही छैन्, खाद्यान्न ओसारपसार तथा आउजाउ गर्न पनि बाटो नभएपछि जनशक्ति जुटाएर गोरेटो बाटो निर्माण भइरहेको छ,’ मन्त्रीका स्वकीय सचिव साउँदले भने, ‘यो बाटो निर्माण गरेर मात्रै हाम्रो टोली ५ नम्बर वडाबाट फर्किन्छ।’

यो सडकखण्डले रामारोशन गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६ लाई जोड्छ। यो सडकखण्ड ग्राभेलिङ गर्नका लागि डेढ करोडमा टेन्डर समेत भएको थियो। प्रदेश सरकारले सडक स्तरोन्नतिका लागि यसवर्ष मात्रै २७ करोड विनियोजन गरेको थियो।

तर बाढीले सो सडक र त्यस वरपरको जमिन बगाएर बगरमा परिणत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .