ad ad

राजनीति


केही दिनमै संघ र प्रदेशको मन्त्रिमण्डल पुनर्गठन हुन्छः प्रचण्ड

केही दिनमै संघ र प्रदेशको मन्त्रिमण्डल पुनर्गठन हुन्छः प्रचण्ड

सागर न्यौपाने
असोज २, २०७७ शुक्रबार १६:१४,

सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन्।

शुक्रबार बिहानका लागि तय भएको सचिवालयको निर्धारित बैठक स्थगित भएपछि गृहजिल्ला चितवन पुगेका प्रचण्डले केही नेताहरुसँग संघीय मन्त्रिपरिषद् र केही प्रदेशको मन्त्रिमण्डल पनि पुनर्गठन हुने बताए।

‘प्रधानमन्त्रीसँग मन्त्रिमण्डल पुनर्गठनका विषयमा छलफल भइरहेको छ, सहमति जुट्यो भने दुईतीन दिन भित्रमा मन्त्रिमण्डल पुनर्गठन हुन पनि सक्छ,’ प्रचण्डको भनाइ उधृत गर्दै उनीनिकट एक स्थायी समिति सदस्यले भने, ‘दुईवटा प्रदेशको पनि मन्त्रिमण्डल परिवर्तन गर्ने भन्ने छ तर, टुंगो लागिसकेको छैन।’

सचिवालय बैठकले मन्त्रिमण्डलमा पठाउने विषयमा मापदण्ड बनाउने प्रचण्डले बताए।

‘मन्त्री बनाउनको लागि एउटा मापदण्ड तय गरिन्छ, आइतबार बस्ने सचिवालय बैठकमा त्यो बारेमा छलफल हुन्छ,’ प्रचण्डले भने।

शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रुपन्देहीमा पत्रकारसँग कुरा गर्दै एक हप्तादेखि १० दिनभित्र संघीय र प्रदेशका मन्त्रिमण्डल पुनर्गठन हुने बताएका थिए। उनले प्रधानमन्त्रीको कामलाई तीव्रता दिन पनि सो आवश्यक रहेको र तयारी अघि बढिसकेको बताएका थिए।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य मूल्यांकनका आधारमा मन्त्रिमण्डल पुनर्गठन गर्नुहुनेछ। यसको तयारी भइरहेको छ,’ ज्ञवालीले भने, ‘अब प्रदेशका मन्त्रिमण्डल समेत पुनर्गठन हुनेछन्। मुख्यमन्त्री नफेरिए पनि प्रदेश मन्त्री फेरिनुहुनेछ।’

लामो समय पार्टीमा देखिएको विवाद अन्त्य भएको जनाउँदै उनले पार्टी भित्रको सन्तुलन मिलाउन र सरकारको कामलाई थप प्रभावकारी गराउन पनि मन्त्रिमण्डल पुनर्गठन हुन लागेको बताएका थिए।

कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि प्रचण्ड पहिलो पटक गृहजिल्ला चितवन पुगेका हुन्।

मन्त्रिमण्डल पुनर्गठन, संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति र पार्टी एकताको बाँकी कामको विषयमा छलफल गर्न शुक्रबार सचिवालयको बैठक तय भएको थियो।

सोही बैठकको एजेन्डा तय गर्न प्रचण्डले महासचिव विष्णु पौडेलसँग बिहीबार साँझ छलफल पनि गरेका थिए। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले असोज ३ गतेको संविधान दिवसको तयारीमा व्यस्त रहनुपर्ने भएकोले बैठक सार्न आग्रह गरेपछि शुक्रबार बिहान ७ बजे सचिवालयको बैठक आइतबारका लागि सारेर प्रचण्ड भने निर्वाचन क्षेत्र लागेका हुन्।

‘प्रधानमन्त्रीले भोलि संविधान दिवसको तयारीमा व्यस्त हुनुप¥यो, बैठक २ दिन सारौं भनेर आग्रह गर्नुभएछ,’ प्रचण्डनिकट एक नेताले नेपालखबरसँग भने, ‘अनि बैठक आइतबार बस्ने तय गरेर अध्यक्ष चितवन जानुभएको छ।’

स्थलमार्गबाट चितवन पुगेका प्रचण्ड आज दिनभर र भोलि दिनभर पनि चितवनमा हुने विभिन्न कार्यक्रममा व्यस्त हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .