ad ad

राजनीति


ओलीले पोखरेलको हातबाट किन खोसे रक्षा मन्त्रालयको जिम्मेवारी?

ओलीले पोखरेलको हातबाट किन खोसे रक्षा मन्त्रालयको जिम्मेवारी?

नेपालखबर
असोज २८, २०७७ बुधबार १४:४२,

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नयाँ तीन जना मन्त्री थप गरेका छन् भने दुई जनाको जिम्मेवारी हेरफेर गरिएको छ।

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेलको जिम्मेवारी पनि फेरिदिएका छन्। पोखरेलको मातहतमा रहेको रक्षा मन्त्रालय आफूसँग राखेर ओलीले उनलाई मन्त्रिपरिषद् कार्यालयमा लगेका छन्।

पोखरेलको हातबाट रक्षा मन्त्रालय किन खोसियो भन्ने विषयमा अनेक अड्कलबाजी भइरहेका छन्। तर, प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री पोखरेल निकटस्थहरु भने उनको जिम्मेवारी थपिएको बताउँछन्।

पोखरेलसँग पटकपटक छलफल गरेरै ओलीले उनलाई मन्त्रिपरिषद् कार्यालयमा लगेको पोखरेलका सचिवालयका एक सदस्यले जानकारी दिए।

‘प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीच यस विषयमा पटकपटक छलफल भएको छ। सुरुमा मन्त्री हुँदा समेत प्रधानमन्त्रीले उहाँलाई मन्त्रिपरिषद कार्यालयको मन्त्री बनाउन खोज्नु भएको थियो। तर त्यस समयमा कार्यादेश के हुने भन्ने स्पष्ट कुरा आएको थिएन,’ पोखरेलको सचिवालयका एक सदस्यले भने, ‘अहिले भने स्पष्ट कार्यादेश पनि आएको छ। जिम्मेवारी बढेको छ।’

उनका अनुसार पोखरेलले प्रधानमन्त्री ओलीबाट लिखित कार्यादेश नै पाउने छन्।

तत्कालीन नेकपा एमालेका महासचिव रहेका पोखरेलले सुरुमा मन्त्री बनाउन खोज्दा अर्थ मन्त्रालय रोजेका थिए। तर, प्रधानमन्त्री ओलीले डा. युवराज खतिवडालाई सो जिम्मेवारी दिएका थिए।

‘अहिलेको संरचनामा प्रधानमन्त्री अध्यक्ष रहने करिब २५ वटा निकायहरु छन्। त्यसैगरी विभिन्न विभागहरुलाई पनि प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याइएको छ,’ उनले भने, ‘सबैलाई प्रधानमन्त्रीले हेर्न सक्नु भएको छैन। त्यसैले उपप्रधामन्त्रीलाई मन्त्रिपरिषद् कार्यालयमा लगिएको हो।’

तर, नेकपाका अन्य नेताहरु भने उपप्रधानमन्त्रीको कार्यशैलीसँग प्रधानमन्त्री ओली असन्तुष्ट रहेको बताउँछन्।

‘प्रधानमन्त्री ओलीको कार्यशैली थाहा छँदै छ। त्यसमाथि पोखरेलको भूमिकाप्रति प्रधानमन्त्री असन्तुष्ट हुनुहुन्थ्यो,’ एक मन्त्रीले भने, ‘जिम्मेवारीको हिसाबले ठूलो हो। तर भूमिका पाउनुहुन्छ कि हुन्न भन्ने कुरा महत्वपूर्ण हो।’

खासगरी पोखरेलले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको र नेपाली सेनासँग पनि उनको सम्बन्ध राम्रो हुन नसकेका कारण प्रधानमन्त्री ओली उनीसँग असन्तुष्ट रहेको ती मन्त्रीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .