राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश नं २ भारतको आधार इलाका बनेको दाबी गरेका छन्। भारतले हिमाल र पहाडबाट तराईका २० वटै जिल्ला अलग गर्न खोजेकोमा ८ वटा जिल्ला अलग गर्न सफल भएको बताए।
शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल कानुन व्यबसायी संघ(अन्ला) को प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष केसीले भारतको योजनामा नेपालमा संघीयता लागू गरेको दाबी गर्दै २ नं प्रदेशलाई नेपाल टुक्राउने आधार भुमिको रुपमा प्रयोग गरिरहेको बताए।
सरकार सञ्चालनमा समेत भारतको डरलाग्दो हस्तक्षेप रहेको केसीले जिकीर गरे। ‘तपाईंहरुले भारतबाट आएको बिषादी परीक्षणमा सरकार पछि हटेको त थाह पाईहाल्नुभयो नि?’ केसीले भने, ‘लैनचौरबाट बिषादी परीक्षण नगर्नु भनेर आएको चिठ्ठी प्रधानमन्त्री ओलीले मलाई थाहै छैन भनेर भनेका होइनन्? उनलाई त्यतिका दिनसम्म किन थाह दिइएन? ल, भन्नुस् सरकार कसले चलाएको रहेछ?’
उनले संघीयताको विरोध नगरे आफूलाई १० करोड रुपैयाँ दिने प्रलोभन र संघीयताको विरोध गरे ज्यान मार्ने धम्की दिएको प्रशंग उल्लेख गर्दै केसीले संघीयताले मुलुकलाई ध्वस्त पार्दै लगेको दाबी गरे। उनले संघीयताकाे भारले जनतालाई थिच्दै लगेकाे भन्दै जनताकाे ढाड सेक्ने गरी बढेकाे करका कारण नै जनता यसविरुद्ध सडकमा आउने बताए।
केसीले नेपालको न्यायप्रणाली खरिद बिक्रीबाट चलेको आरोप पनि लगाए। त्रिभुवन विश्वविद्यालयले ६ नम्बर पाएको विद्यार्थीलाई पछाडी ९ थपेर ६९ बनाइएको प्रशंग उल्लेख गर्दै केसीले भने, ‘त्यस्तो किन गरेको भन्दा गोल्ड मेडल पाउन अनि न्यायाधीश बन्न।’ केसीले अगाडि थपे, ‘जब पैसा तिरेर मान्छे न्यायाधीश हुन्छ, अनि उसले तपाईं हामी निमुखालाई न्याय दिन्छ की आफ्नो पैसा अशुल गर्न तिर लाग्छ?’
अध्यक्ष केसीले सरकारको गतिबिधिप्रति पनि तिब्र असन्तुष्टि प्रकट गरे। सरकार चारैतिरबाट माफियाको जालमा घेरिएको र जनताका लागि केही गर्न नसकेको उनको टिप्पणी थियो।
यस्तै, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले बर्तमान सरकार र सत्तारुढ दलले आफूलाई कम्युनिष्ट बताएपनि आधारभूत रुपमै कम्युनिष्ट सिद्धान्तबाट च्युत भएको बताए।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले महंगी र भ्रष्टाचारका कारण जनताको जनजीविका अत्यन्त कष्टकर बन्दै गएको भन्दै सरकारलाई सच्याउन आन्दोलनको विकल्प नरहेको बताए।
अखिल नेपाल कानुन व्यबसायी संघ(अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोकाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नेपाल बार एसोसियसनका उपाध्यक्ष इश्वरी प्रसाद भट्टराई, प्रगतिशील लयर्स एसोसिएसन (पीएलए) का प्रतिनिधि अधिवक्ता खिमानन्द अधिकारी, प्रजातान्त्रिक कानुन व्यबसायी संघ(डीएलए) का अध्यक्ष अधिवक्ता योगेन्द्र बहादुर अधिकारीलगायतको आतिथ्यता रहेको थियो।
शनिबारसम्म चल्ने कार्यक्रमले नयाँ नेतृत्वसमेत चयन गर्ने आयोजकले जनाएका छन्।
प्रतिक्रिया