*भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल कार्तिक ५ गते नेपाल आएपछि पहिले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेको सुरक्षा अधिकारीहरूले बताएका थिए। तिनै अधिकारीहरूलाई उधृत गर्दै नेपालखबरमा ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट’ शीर्षकमा रिपोर्ट प्रकाशित भएको थियो। लगत्तै प्रचण्ड र माधव नेपालको सचिवालयले त्यो रिपोर्टको खण्डन गर्दै रअ प्रमुख गोयलसँग भेटवार्ता नभएको बताएपछि हामीले यस विषयमा थप अध्ययन गरेका थियौं। नेपाली सेनाका अधिकारी लगायत विभिन्न उच्च सुरक्षा अधिकारी तथा अन्य स्रोतहरूसँग हामीले गरेको अनौपचारिक संवादबाट गोयलले यसपटक प्रधानमन्त्री केपी शर्मा ओली बाहेक प्रचण्ड, माधव नेपाल, शेरबहादुर देउवा, बाबुराम भट्टराई, महन्थ ठाकुर कसैलाई पनि नभेटेको पुष्टि भएको छ।
तसर्थ सुरक्षा स्रोतहरूले दिएको सूचनाका आधारमा हामीले यहाँ प्रकाशित गरेको रिपोर्ट पुष्टि नभएकाले हटाएका छौं। उक्त रिपोर्टबाट पाठक र सम्बन्धित सबैले भोग्नु परेको असुविधाप्रति हामी क्षमा याचना गर्दछौं। साथै भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिने प्रतितवद्धता पनि जनाउँछौं। – प्रधान सम्पादक
Shares
प्रतिक्रिया