ad ad

राजनीति


सपथग्रहणमा यसरी झडप हुँदा मुकेशको ज्यान गयो, दुई समूहमाथि आशंका

सपथग्रहणमा यसरी झडप हुँदा मुकेशको ज्यान गयो, दुई समूहमाथि आशंका

शैलेन्द्र महतो
कात्तिक ८, २०७७ शनिबार ५:५१,

पर्साको विन्दवासिनी गाउँपालिका–५ प्रसौनमा बिहीबार बिहानैदेखि नेकपा नेता कार्यकर्ताको चहलपहल थियो। एकवर्ष अघि बिक्रम चौरसियाको संयोजकत्वमा गठित नेकपा कमिटीको सपथ ग्रहण कार्यक्रमको आयोजना गरेकाले तामझाम जस्तै देखिन्थ्यो। बिहान करिब ११ बजे सपथ ग्रहण कार्यक्रम सुरु हुने तर्खर भइरहेको बेला झण्डै ३० जनाको एक हुल मानिस लाठी भाटासहित आक्रमक शैलीमा आइपुगे।

प्रवेशद्वारमै खटिएका नेकपाका केहि कार्यकर्ताले अवरोध गरे। भाटा बोकेर आएको हुलले ‘हामीलाई नबोलाई मनपरी कार्यक्रम गर्ने’ भन्ने प्रश्न गर्दै धमाधम आक्रमण गरे। भित्र रहेका केहि नेता कार्यकर्ता तिनीहरुको प्रतिकारमा उत्रे। भागदौड मच्चियो। सपथग्रह स्थल रणभूमि बन्यो। दुवै तर्फका गरी पाँचजना घाइते भए।

आक्रमणमा परी जिल्ला सदस्य तथा गाउँपालिका सचिव मुकेश चौरसिया गम्भीर घाइते भए। सबै घाइतेहरुलाई स्थानीय विभिन्न क्लिनिक तथा अस्पतालमा भर्ना गरियो। जसमध्ये गम्भीर घाइते मुकेश चौरसियाको शुक्रबार बिहान वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

कार्यक्रम स्थलमा गएर आक्रमण गर्नेहरु नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र सपथग्रहण गर्नेहरु अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षका रहेको पर्साका एक नेताले बताए।

स्थानीयका अनुसार पर्सामा नेकपामा मुख्य दुई गुट छन्। एउटा पूर्व माओवादी र अर्को पूर्व एमाले। त्यसमा समेत पार्टी एकिकरणपछि पूर्व माओवादीको जिल्ला नेतृत्व पंक्तिबाट असन्तुष्ट केहि माओवादी नेताहरु पूर्व एमाले पक्षलाई समर्थन गरिरहेका छन् भने पूर्व एमालेका रुष्टहरु माओवादी पक्षसँग मिलेका छन्।

विन्दावासिनी गाउँपालिकामा पूर्व माओवादी गुटले कार्यक्रम आयोजना गरेको थियो। त्यसमा केपी ओली गुटको पूर्व एमालेका केही नेताहरुले कार्यक्रम विथोल्न खोज्दा झडप भएको स्थानीय एक जनप्रतिनिधिको भनाइ छ।

यधपि नेकपा पर्साका एक नेताले भने स्थानीय स्तरमा पार्टीमा कुनै गुट नरहेको तथा आक्रमणकारी राजपाका पूर्व नेता कार्यकर्ता भएको दावी गरेका छन्।

‘हाम्रो पार्टीमा कुनै प्रकारको विवाद छैन। पूर्व एमाले र माओवादी मर्ज भएपछि एकवर्ष अघि हामीले सर्वसहमतिबाट कमिटी गठन गरेका थियौं। सोही कमिटीको सपथग्रहण कार्यक्रम राखेका थियौं’, नेकपा पर्सा जिल्ला सदस्य समेत रहेका स्थानीय सक्रिया नेता पर्शुराम यादवले नेपालखबरसँग भने, ‘आक्रमण गर्नेहरु स्थानीय चुनावमा राजपाबाट गाउँपालिका अध्यक्षमा लडेका लक्ष्मण चौरसिया समूहका मान्छे हुन्। राजपाबाट विन्दावासिनी गाउँपालिका वडा नम्बर ३ को अध्यक्ष भएकी सल्मा खातुनीका पति मो. हनिस अन्सारीले आक्रण समूहको नेतृत्व गरेर आएका थिए।’

आक्रमण गर्ने समूहमा पूर्व फोरम र राजपाका कार्यकर्ताहरु हनिस अन्सारी, उत्तम तिवारी, पारस बैठा लगायतको रहेको उनको भनाइ छ। अक्रमण गर्ने समूहमा पूर्व माओवादी अथवा एमालेका कोहि पनि नभएको उनको दाबी छ।

तर नेकपा एमालेकै पूर्व संविधानसभा सदस्य तथा नेकपाका जिल्ला सदस्य राजकुमार गुप्ताको घरबाट आक्रमण गर्ने पक्षका नेतृत्व गर्ने हनिश पक्राउ परेकाले उनको संलग्नता समेत रहेको स्थानीय नेकपाका नेताहरुको शंका छ। गुप्ता ओली पक्षका नेता हुन्। हनिश पक्राउ परेका बेला गुप्तालाई पनि प्रहरीले पक्राउ गरेको थियो। तर त्यसको केहि समयपछि उनलाई प्रहरीले छाडेको थियो। पटक पटक फोन सम्पर्क गर्दा गुप्ताले कुरा गर्न मानेन्।

कार्यक्रम बिथोल्ने पक्षको मुख्य योजनाकार भएको आरोप लागेका लक्ष्मण चौरसिया स्थानीय चुनावमा राजपाबाट गाउँपालिका अध्यक्षका उम्मेदावर थिए। गाउँपालिका अध्यक्ष बिक्रम चौरसिया एकवर्ष अघि पोखरिया नगरपालिकाको नगरसभामा प्रमुख अतिथिको रुपमा गएका नेकपाका नेता तथा पूर्व मन्त्री रघुवीर महासेठबाट राजपा उम्मेदावर लक्ष्मण चौरसिया सहित केहि व्यक्तिहरु हात मिलाएर पार्टी प्रवेश गरेको दाबी गर्दै आएका छन्।

‘पार्टीमा विधिवत प्रवेश गरेका छन् भन्ने कुरा हामीलाई थाहै छैन। त्यसैले उनीहरुलाई स्वीकार्ने कुरा पनि भएन’, जिल्ला सदस्य समेत रहेका बिक्रम चौरसियाले भने, ‘हामी पूर्व एमाले र पूर्व माआवादी मिलेर सर्वसम्मत ढंगले कमिटी गठन गरेका थियौं। विन्दावासिनी गाउँपालिकामा हाम्रो पार्टीमा कुनै विवाद छैन।’

नेकपाका पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साहले आक्रमण गर्ने समूहमा आफ्नो पार्टीको कुनै नेता कार्यकता नहेको दाबी गरे।

‘आक्रमण गर्नेहरु हाम्रो पार्टीको हुँदै होइनन्। उनीहरु अन्य पार्टीका नेता कार्यकर्ता हुन्। झडप ओली र प्रचण्ड एवं माधव नेपालपक्षका कार्यकर्ताबीच भएको छैन। तर कार्यक्रम बिथोल्नमा पार्टी भित्रैका केहि स्थानीय नेता कार्यकर्ताको हात छ भन्ने कुरा जानकारी पाएका छौं। त्यसको खोजविन गर्दैछौं। पार्टीले त्यस्तालाई कारबाही गर्छ।’

उनले अगाडि भने, ‘तिनीहरु पार्टी प्रवेश गरेको कुरा जिल्लामा हामीलाई थाहा छैन। गुण्डागर्दी गर्ने र कुण्डले मुण्डलेलाई हामी स्वीकार गर्दैनौं।’

जिल्ला इन्चार्ज साहले पूर्व संविधानसभा सदस्य राजकुमार गुप्ताको घरबाट केहि आक्रमणकारी पक्राउ परेकाले घटनामा उनको पनि संलग्नता भएको हुन सक्ने स्थानीय कार्यकर्ताको आशंका रहेको बताए। गुप्ता पार्टीको जिल्ला सदस्य भएपनि घटनापछि पार्टीको सम्पर्कमा नआएको इन्चार्ज साहको भनाइ छ।

नेकपाले झडपमा गम्भीर घाइते भइ मृत्यु भएका आफ्ना सक्रिय कार्यकर्ता मुकेश चौरसियाका हत्यारालाई कडा कारबाही गर्न माग गरेको छर घटनामा संलग्न ११ जनामाथि किटानी जाहेरीगर्ने तयारी गरेको जनाएको छ। तिनीहरुमाथि जाहेरी दर्ता नहुञ्जेलसम्म मुकेशको शवको पोस्टमार्टम हुन नदिने र लास पनि नबुझ्ने नेकपाका स्थानीय नेता पर्शुराम यादवले बताए।

समयमा प्रहरी नआएको गुनासो
नेकपाका स्थानीय नेता कार्यकर्ताले सपथग्रहन कार्यक्रम र विपक्षीबाट आक्रमण हुने सम्भावनको विषयमा पूर्व सचना दिँदा समेत प्रहरी नआएको आरोप लगाएका छन्।

नेकपाका स्थानीय नेता पर्शुराम यादव भन्छन्, ‘इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापालाई बिहान ९ बजे नै हामी कार्यक्रम गर्दैछौं। केहि व्यक्ति आक्रमणको योजना बनाउँदै छन्। हामीलाई सुरक्षाको लागि केहि प्रहरी पठाइ दिनु पर्यो भनेका थियौं। तर आएनन्। घटनाको १ घण्टापछि मात्र प्रहरी आए।’

यादवले थपे, ‘त्यसैले घटना हुनुमा प्रहरीमाथि पनि हाम्रो आशंका छ। प्रहरी समयमा आएको भए यस्तो घटना हुने थिएन। जब हामीले आक्रमणकारीलाई लखेटिदियौं त्यसको केहिछिन पछि मात्र प्रहरी आए।’

प्रहरीले भने सपथग्रहण कार्यक्रम गर्दैछौं भन्ने कुरा मात्र जानकारी गराएको दाबी गरेको छ।

‘बिहान ९ बजे फोन गरेर हामी यस्तो कार्यक्रम गर्दैछौं भनेर खबर गरे। हामीले भन्यौं पनि यस्तो अवस्थामा भीडभाड हुने कार्यक्रम नगरदिनुस्। तर घरमै सुरक्षित तवरले गर्दैछौं भने’, प्रहरी निरीक्षक दीपक थापा भन्छन्, ‘हामी अर्को कार्यक्रममा व्यस्त थियौं। यसरी आक्रमण हुन सक्छ भन्ने संकेत आएको थिएन। तर पनि दुईजना प्रहरीलाई त्यहाँ पठाएका थियौं। समयमा नपुगेकाले उनीहरुमाथि कारबाही थालिएको छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .