३ नोभेम्वरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ। निर्वाचन नजिकिँदै गर्दा अमेरिकामा मात्रै होइन, विश्वभर नै त्यहाँ अबको राष्ट्रपति को बन्ला भन्ने विषयमा चर्चा परिचर्चा सुरु भएको छ।
निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि चुनाव लड्दैछन्। ट्रम्पसँग डेमोक्रेटिक पार्टीका उम्मेदवार तथा पूर्व उपराष्ट्रपति जो बाइडनले प्रतिस्पर्धा गर्दैछन्।
राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा दुई उम्मेदवारबीच आरोप प्रत्यारोप पनि तीव्र बनेको छ। विशेषगरी ट्रम्पले बाइडनलाई चीनसँग जोडेर विभिन्न आरोप लगाइरहेका छन्।
अमेरिकी निर्वाचनमा तीन किसिमले मतदान गर्न पाइन्छ। मतदानको दिन सीधै मतदानस्थलमा लाइनमा उभिएर गरिने मतदान, निर्वाचन आयोगले हुलाकमार्फत घर ठेगानमा पठाएको मतपत्रमा मन परेको उम्मेदवारको नाममा चिन्ह लगाएर हस्ताक्षर गरी टाउनहलमा पुगी बुझाइने मतदान र टाउनले पठाएको मतपत्रमा आफूलाई मन परेको उम्मेदवारको नाममा चिन्ह लगाएर हस्ताक्षर गरी टाउनले विभिन्न स्थानमा राखेको मतपेटिकामा खसालेर गरिने मतदान।
अहिलेसम्म करिब सात करोड मतदाताले हुलाकमार्फत अग्रिम मतदान गरिसकेका छन्। अन्तिम दिनसम्म अग्रिम मतदानमा करिब १० करोड मतदाता सहभागी हुने अनुमान त्यहाँको निर्वाचन आयोगले गरेको छ।। करिब पाँच करोड मतदाताले मात्रै निर्वाचनको दिन लाइनमा उभिएर मतदान गर्नें अनुमान छ।
अहिले ट्रम्प र बाइडन अन्तिम प्रतिस्पर्धाका लागि निर्णायक राज्यका रुपमा चिनिएका अरिजोना, फ्लोरिडा, मिचिगन, नर्थ क्यारोलिना, पेन्सिलभेनिया, विस्कन्सिन लगायतका राज्मा केन्द्रीत भएका छन्। तटस्थ राज्य र युद्ध प्रभावित क्षेत्रका मतदातालाई फकाउन उनीहरु तल्लिन छन्।
विगत ५० वर्षको इतिहासमा अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ६१ प्रतिशतभन्दा बढी मतदान भएको छैन। सदरदरमा ५० प्रतिशत हाराहारीमा मात्रै मतदान हुने गरेको छ। तर यसपटक यो बढेर ६६ प्रतिशतसम्म पुग्ने पर्यवेक्षकहरुको अनुमान छ।
यो निर्वाचनमा ट्रम्प वा वाइडेन कसले बाजी मार्लान्? अहिले विश्वभर यही जिज्ञासा छ। नेपालीहरु पनि अहिले यही प्रश्न गरिरहेका छन्। तर, यसैले जित्छ भनेर ठोकुवा गरेर भन्न सक्ने स्थिति छैन । विभिन्न मत सर्वेक्षणले भने वाइडेन विजयी हुने देखाएका छन्।
तर कतिपयले भने यस्ता मत सर्वेक्षणको विश्वसनियता नहुने तर्क गर्छन्। अमेरिकी राष्ट्रपतीय निर्वाचन प्रत्यक्ष नभएर परोक्ष हो। आम मतदाताले आफूलाई मन परेको उम्मेदवारलाई गरेको मतदानले राष्ट्रपति निर्वाचित हुने होइन। राष्ट्रपति को बन्छ भन्ने कुराको निर्धारण इलेक्टोरल कलेजले गर्छ।
अमेरिकाका प्रत्येक राज्यबाट दुई दुई जना गरी एक सय सिनेटर, तल्लो सदनका चार सय ३५ र डिष्ट्रिक अफ कोलम्वियाका तीन गरेर जम्मा पाँचसय ३८ जनाको कलेज डेलिगेट्स अर्थात् इलेक्टोरल कलेज रहन्छ।
यसमध्ये जुन उम्मेदवारले आधाभन्दा बढी अर्थात् दुई सय ७० मत ल्याउँछ, त्यही व्यक्ति राष्ट्रपति निर्वाचित हुने प्रावधान छ। इलेक्टोरल कलेज नै वास्तवमा राष्ट्रपतिका उम्मेदवारको निर्णायक हो।
अमेरिकी मतदाताले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्दा अप्रत्यक्ष रुपमा इलेक्टोरललाई नै मतदान गरिरहेका हुन्छन्। लोकप्रिय मत पाएर विजयी हुने उम्मेदवारले त्यहाँको सबै इलेक्टोरल मत पाउँछ।
लोकप्रिय मत थोरै पाएर पनि इलेक्टोरल मत धेरै पाउने नै अन्ततः राष्ट्रपतिमा विजयी हुन्छ।
सन् २०१६ मा राष्ट्रपति ट्रम्पले तीन सय चार इलेक्टोरल मत पाएका थिए। उनकी प्रतिस्पर्धी हिलारी क्लिन्टनले लोकप्रिय मत धेरै पाएकी थिइन्। तर, इलेक्टोरल मत धेरै पाएको आधारमा ट्रम्प विजयी भएका थिए।
२० वर्ष अघि सन् २००० मा पनि एल गोरभन्दा लोकप्रिय मत कम पाएर पनि इलेक्टोरल मत धेरै पाएको आधारमा जर्ज डब्लु बुस राष्ट्रपतिमा निर्वाचित भएका थिए। एजेन्सीको सहयोगमा
Shares
प्रतिक्रिया