ad ad

राजनीति


ओली रणनीति : देउवा फकाउने, देशैभर गुट जगाउने

ओली रणनीति : देउवा फकाउने, देशैभर गुट जगाउने

नेपालखबर
मंसिर ७, २०७७ आइतबार १३:४७,

पार्टीभित्रको विवाद झनै तिक्ततापूर्ण बन्दै गएपछि नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन्।

योसँगै उनले देशभर पार्टी संगठनमा आफ्नो उपस्थिति बलियो बनाउने गतिबिधि पनि तीब्र पारेका छन्। त्यसका लागि उनले जनताको बहुदलीय जनवादप्रति आकर्षित पूर्वएमाले तप्कालाई आफूतर्फ तान्ने प्रयास गरेका छन्।

शनिबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर लामो छलफल गरेका प्रधानमन्त्री ओलीले उनीसँग कांग्रेसलाई सरकारमा सहभागी हुनका लागि प्रस्ताव गरेको देउवानिकट स्रोतले जनाएको छ।

‘हाम्रो पार्टीभित्रको अवस्था देख्नुभएकै छ, अब सरकारमा मिलेर जानुपर्ने अवस्था आउने देख्दैछु,’ सो भेटमा ओलीले देउवासँग सोधेका थिए ‘भोलि त्यो अवस्था आएमा तपाईंहरु सहकार्य गर्न तयार हुनुहुन्छ?’

जवाफमा देउवाले भने, ‘संकट पर्‍यो भने भन्नुहोला सहकार्य गरेर जान पनि सकिन्छ।’

तर नेकपा नफुटी सहकार्य हुनै सक्तैन भन्ने देउवाको भित्रि मनसाय रहेको उनीनिकट नेता बताउँछन्।

‘सहकार्यको प्रस्ताव आएको हो, केही दिनदेखि प्रधानमन्त्रीले त्यही विषयमा कुरा गर्न खोजिरहनुभएको थियो,’ देउवानिकट स्रोतले भन्यो, ‘तर उनीहरुको पार्टी फुटे न सत्ता सहकार्य हुन्छ, नत्र कसरी सहकार्य हुनसक्छ र?’

स्रोतका अनुसार शनिबार दिउँसो ३ बजेदेखि झण्डै सवाघण्टा देउवा बालुवाटारमा छलफलमा थिए।

सुरुमा संवैधानिक आयोग, विश्वविद्यालयमा रिक्त पदाधिकारी नियुक्तिका विषयमा छलफल भएपनि दुई नेताबीच शनिबारको कुराकानी मुख्यतः सत्ता सहकार्यका विषयमा केन्द्रित रहेको छलफलमा सहभागी नेताको भनाइ उद्धृत गर्दै स्रोतले बतायो।

‘विश्वविद्यालयमा पदाधिकारी नियुक्तिको विषयमा सुरुमा कुरा भयो, नेकपाबाट स्थायी समिति सदस्य सुवास नेम्वाङ र कांग्रेसबाट केन्द्रीय सदस्य रमेश लेखकलाई सो आयोगहरुमा पदाधिकारी नियुक्तिको विषयमा एउटा खाका तयार गर्न जिम्मेवारी दिएपछि ओली र देउवाबीच सत्तामा मिलेर जाने विषयमा पनि छलफल भएको हो,’ स्रोतले भन्यो।

यता देउवालाई अहिले नै नेकपासँग सत्ता सहयात्राका विषयमा हतारमा निर्णय नगर्न कांग्रेसका नेताहरुले दबाब दिएका छन्।

‘नेकपा फुट्दा कसरी फुट्छ? उनीहरुको अवस्था के हुन्छ? ओलीतिर कति शक्ति रहन्छ? सत्ता जोगाउने गरी रहन्छ कि रहदैँन? यी धेरै कुरा विचार गरेर मात्रै ओलीसँग सरकारमा सहभागिताबारे सोच्नुपर्छ,’ देउवानिकट स्रोतले भन्यो, ‘उनीहरु फुट्ने नै निश्चित छैन, यस्तो बेलामा हतारमा निर्णय गर्दा जनतामा नराम्रो सन्देश जान्छ।’

त्यसैगरी ओली र देउवाबीचकाे भेटबारे समाचारहरु आएलगत्तै कांग्रेसका केहि नेताहरुले सार्वजनिक रुपमैं देउवालाई अहिले सरकारमा जाने खेलमा नलाग्न सचेत गराएका छन्।

आइतबार अपरान्ह ट्वीट गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि जनताले कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस्ने जनादेश दिएकाले त्यसविपरित जान नहुने बताएका छन्।

‘भ्रम, कोही कसैलाई केही छ भने, पाँच वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई। अतः कनैपनि भड्कावबाट टाढा छौं, रहनेछौं। नेकपाको द्वन्द्वसँग बिलकुल निरपेक्ष छौं। अतः यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्, सजग गराउदछौं,’ शर्माले ट्वीटमा उल्लेख गरेका छन्।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २८ गतेको पार्टी सचिवालय बैठकमा १९ पृष्ठको राजनीतिक प्रस्ताव पेस गरेपछि आक्रोशित भएका प्रधानमन्त्री ओलीले त्यसको जवाफमा आफूले छुट्टै प्रतिवेदन ल्याउने बताएका छन्। ओलीले मंसिर १३ गतेको बैठकमा आफ्नो प्रतिवेदन पेस गर्ने तय भएको छ।

प्रचण्डको जवाफ दिनका लागि भनी १० दिनको समय लिएपनि यो अवधिमा उनले सत्ता जोगाउनेबारे बिभिन्न रणनीतिमा काम गरिरहेको नेकपाका नेताहरुको भनाइ छ।

ओलीले एकातर्फ आफू संकटमा परे देउवालाई सरकारमा सहभागी हुन मनाउने रणनीति अख्तियार गरेका छन् भने त्योसँगै पार्टीभित्र देशभर आफ्नो गुटका कार्यक्रमहरु समानान्तररुपमा क्रियाशील गराएका छन्।

कर्णाली प्रदेशमा एक कार्यक्रम आयोजना गरी ओलीनिकट नेताहरुले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको विषयमा प्रशिक्षण कार्यक्रम आयोजना गराएका छन्।

कर्णाली प्रदेशबाट सुरु गरिएको सो कार्यक्रम क्रमशः सबै प्रदेशमा आयोजना गरिने स्रोतहरुको भनाइ छ।

कात्तिक २० गते प्रदेश १ का आफूनिकट नेताहरुसँग अनलाइन छलफल गरेका ओलीले त्यतिबेला पनि पूर्वका नेताहरुलाई जनताको बहुदलीय जनवादलाई अब प्रशिक्षण कार्यक्रमहरुमार्फत् देशैभर लग्नुपर्ने बताएका थिए।

सो अनलाइन छलफलमा उपप्रधानमन्त्री समेत रहेका ईश्वर पोखरेलले पनि भण्डारीको जबजलाई प्राथमिकताका साथ अगाडि बढाउन निर्देशन दिएका थिए।

केही दिनपहिले गोरखा लगायतका जिल्लाका आफूनिकट पदाधिकारीलाई काठमाडौं बोलाएका ओलीले उनीहरुसँग पनि जबजकै पक्षमा माहोल बनाउन निर्देशन दिएको स्रोतले बतायो।

पार्टीभित्र कार्यकारी अध्यक्षसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ एकापट्टि हुँदा अल्पमतमा परेका ओलीले संसद विघटन गरेर नयाँ निर्वाचनमा जाने योजनासमेत बनाएको बताइएको थियो।

तर, त्यसमा कानुनविद्हरुले धेरै जटिलता औल्याएपछि ओलीले कांग्रेससँगको सहकार्यदेखि देशभर आफ्नो गुटलाई सक्रिय पार्ने रणनीतिलाई सँगसँगै अघि बढाएका हुन्।

अर्को बैठकका लागि ६ दिन बाँकी हुँदा बालुवाटारले आफ्नो पक्षमा माहोल बनाउन तीव्र रुपमा लागिपरेको नेकपा नेताहरुले बताएका छन्।

अहिलेसम्मको अवस्थामा सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा अल्पमतमा रहेका ओली पार्टी फुट्ने अवस्था आएमा संसदीय दलमा संख्या पुर्‍याउने योजनामा रहेको नेताहरुको भनाइ छ।

उनले पार्टी विभाजन गर्न सहज हुने अध्यादेश ल्याउने, सोअनुसार संसदीय दलमा आबश्यक संख्या पुर्‍याउने र कांग्रेस लगायतका दलसँग मिलेर सरकारको नेतृत्व गर्ने योजना बनाएर देउवासँग छलफलमा जुटेका हुन्।

भदौ २६ गतेको स्थायी समिति बैठकले गरेको निर्णय कार्यान्वयन नगरेको भन्दै पार्टीभित्रैबाट विरोध हुन थालेपछि नेकपा फुटकै संघारमा पुगेको छ।

सचिवालय बैठकले मंसिर १३ गते सचिवालयको अर्को बैठक, १८ गते स्थायी समिति र २५ गते केन्द्रीय समितिको बैठक तय गरेका कारण प्रधानमन्त्रीले त्यसअघि नै आफ्नो स्थिति सुरक्षित गर्नका लागि बिभिन्न रणनीतिमा तयारी गरिरहेको नेकपा नेताहरुले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .