ad ad

राजनीति


प्रधानमन्त्री ओलीसँग चिनियाँ टोलीको भेटवार्ता, राष्ट्रपति सीको यस्तो सन्देश

प्रधानमन्त्री ओलीसँग चिनियाँ टोलीको भेटवार्ता, राष्ट्रपति सीको यस्तो सन्देश

नेपालखबर
पुस १२, २०७७ आइतबार १४:१५,

नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेतृत्व गरेको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ।

आइतबार काठमाडौं आइपुगेको चिनियाँ टोली साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेपछि प्रधानमन्त्रीलाई भेट्न राती अबेर बालुवाटार पुगेको हो।

आइतबार साँझका लागि तय भएको भेटवार्ता समय नमिलेर सोमबारका लागि सरेको भनिएपनि राती अबेर प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले चिनियाँ टोलीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको जनाएका हुन्।

चिनियाँ टोलीले आइतबार साँझ बालुवाटारमा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको भट्टराईले बताए। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा आएको विभाजन बारे अध्ययन गर्न आएको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीसँग ओलीले करिब दुई घण्टा भेटवार्ता गरेका थिए।

‘चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीले प्रधानमन्त्रीसँगको भेटमा राष्ट्रपति सी चिनफिङले पठाउनु भएको नयाँ वर्ष २०२१ को शुभकामना सन्देश सुनाउनु भयो’, भट्टराईले भने, ‘साथै नेपाल–चीन सम्बन्ध तथा नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धबारे उहाँहरूको विचार पनि राख्नुभयो।’

चिनियाँ पक्षले आपसी हित र सम्मानमा आधारित दुई देश र दुई पार्टीबीचको सम्बन्धबारे खुशी व्यक्त गरेको भट्टराईले बताए।

‘हाम्रो प्रधानमन्त्रीले पनि राष्ट्रपति सीलाई नयाँ वर्ष २०२१ को शुभकामना सन्देश पठाउनु भयो’, भट्टराईले भने, ‘लामो समयदेखि नेपाल–चीन सम्बन्ध उत्कृष्ट रहेको र पछिल्लो समय केही क्षेत्रमा दुई देश बीचको सम्बन्धलाई नयाँ उचाई दिन सफल भएको बताउनु भयो।’

Guo Oli2

प्रधानमन्त्री ओलीले एक असल छिमेकी देशको नाताले चीनले नेपालको आर्थिक विकासको क्षेत्रमा सहयोग गरेको र भविष्यमा पनि यो सहयोग रहने विश्वास व्यक्त गरे।

चिनियाँ टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले गत वर्ष भएको राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण र राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको स्मरण गरेका थिए।

चिनियाँ टोलीले राष्ट्रपति भण्डारीसँग आइतबार साँझ ५ बजेबाट करिब एक घण्टा भेटवार्ता गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले बताए।

नेपालमा प्रतिनिधि सभा विघटन र सत्तारुढ नेकपामा विभाजन आएपछि राजनीतिक संकट बढेका बेला चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओले नेतृत्व गरेको प्रतिनिधिमण्डल आज आइतबार काठमाडौं आइपुगेको हो।

चिनियाँ टोलीले सोमबार बिहान ९ बजे नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटार निवासमा भेटवार्तागर्ने तय भएको छ। त्यसपछि अर्का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता तय भएको छ। सोमबार बिहान ११ बजे चिनियाँ टोलीले वरिष्ठ नेता झलनाथ खनालसँग डल्लुमा भेट गर्ने कार्यक्रम छ।

आइतबार साढे १ बजे चीनको चेङ्दुबाट काठमाडौं उत्रेको चार सदस्यीय चिनियाँ टोली विमानस्थलबाट सिधै बालुवाटारस्थित चिनियाँ दूतावास पुगेको थियो। कोरोना महामारीबाट जोगिन पीपीई लगाएरै काठमाडौं उत्रेको टोली चार दिन नेपालमा रहँदा दूतवासभित्रै बस्ने जनाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .