ad ad

राजनीति


सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिएको ओली पक्षको यस्ताे छ रणनीति

सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिएको ओली पक्षको यस्ताे छ रणनीति

गोकुल जोशी
पुस २२, २०७७ बुधबार १४:५५,

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपडबहादुर बोहराले बुधवार मन्त्री पदबाट राजीनामा दिए। अछाम निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सांसदमा बोहराको राजिनमासँगै उनको कित्ता पनि क्लियर भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाको केन्द्रीय सदस्यमा मनोनित भएका बोहराले केही समय केन्द्रीय सदस्य अस्वीकार गररे तटस्थ उभिएका थिए। यद्यपी बुधवार दिउँसो मन्त्री पदबाट राजीनामा दिँदै बोहरा प्रधानमन्त्री ओलीको पक्षमा उभिएका हुन्।

तत्कालीन माओवादी केन्द्रबाट बाम गठनबन्धका उम्मेदवार बनेका बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले फागुन ५ गते आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका थिए।

मन्त्री बोहराको राजीनामा सँगै नेकपाको ओली पक्ष प्रदेश सरकारबाट बाहिरिएको छ। यसअघि ओली पक्षमा खुलेका भौतिक पूर्वाधारमन्त्री पठान सिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए।

ओली पक्षको यस्तो छ तयारी
मुख्यमन्त्री त्रिलोचन भट्ट विरुद्ध अविस्वासको प्रस्तावको तयारी भइरहेको नेकपाको ओली पक्षले बताएको छ। सोही अनुसार आर्थिक मामिला तथा योजनामन्त्री झपडबहादुर बोहराले मन्त्री पदबाट राजीनामा दिएको ओली पक्षीय एक प्रदेश सांसदले बताए।

‘अब छिट्टै नयाँ समिकरण बन्छ। मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्तावको तयारी भइरहको छ’ ती सांसदले भने, ‘३७ सदस्यीय संसदीय दल छ। त्यसमा हामी बहुमत पु¥याउछौँ। यो सरकार छिट्टै ढल्छ।’

प्रधानमन्त्री ओली पक्षमा अहिले १५ जना सांसद उभिएको उनको दाबी छ।

‘केही मन्त्री र सांसद पनि अझै हाम्रो पक्षमा आउँदैछन्। उहाँहहरुले सहयोग गर्छौं भन्नु भएको छ’ उनले भने, ‘पहिला हामी नै सरकार गठन गर्ने प्रयास गर्छौं। यदी नभए आवश्यक परेको खण्डमा प्रतिपक्षको सहयोग पनि लिन सकिन्छ।’

सुदूरपश्चिम प्रदेश सभामा ५३ जना सांसद छन्। तीमध्ये ३९ जना नेकपा, १२ जना नेपाली कांग्रेस र २ जना जनता समाजवादी पार्टीका सांसद हुन्। प्रदेश सांसद झपडबहादुर बोहरा, पठानसिंह बोहरा, नेपालु चौधरी, लिलाधर भट्ट, रतन थापा, महेशदत्त जोशी र ग्याल्बु बोहरा ओलीको पक्षमा खुलेका सांसद हुन्। यद्यपी आफूसँग १५ जना सांसद रहेको ओली पक्षको दाबी छ।

संघीय सरकारका चार मन्त्री धनगढीमा
संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वनमन्त्री प्रेम आले, श्रममन्त्री गौरीशंकर चौधरी, सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना अहिले प्रदेशको अस्थायी राजधानी धनगढीमा छन्।

प्रचण्ड–नेपाल समूह आफ्ना नेता तथा कार्यकर्ता जोगाउने कसरतमा छ भने प्रदेश सरकारमा अल्पमतमा रहेको ओली समूह अर्को समूहका नेता तथा कार्यकर्तालाई आफ्नो समूहमा तान्ने प्रयासमा छ। २४ पुसमा धनगढीमा हुने जनसभाका लागि आएका संघीय सरकारका मन्त्रीहरु कार्यक्रमको तयारी सँगसँगै प्रचण्ड–नेपाल समूहमा लागेका प्रदेश तथा जिल्लास्तरका नेताहरूलाई आफ्नो समूहमा तान्न कसरतमा छन्।

धनगढी पुगेका चारवटै संघीय मन्त्री सुदूरपश्चिम प्रदेशकै रहेका कारण पनि कार्यकर्ता तथा आफ्ना जिल्लाका नेताहरूलाई बोलाएर अलग–अलग छलफल तथा भेटघाट भइरहेको स्रोत बताउँछ।

उता प्रचण्ड–नेपाल समूह पनि आफ्नो पक्षका सांसद जानबाट रोक्ने रणनीतिमा छ। एक साता धनगढी बसेर फर्किएका नेकपाका स्थायी कमिटी सदस्य एवं प्रचण्ड–माधव समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज डा. भीम रावलले पनि धनगढीमा आयोजित विरोधसभामा सम्बोधनसँगै जिल्ला र प्रदेशस्तरका नेता तथा कार्यकर्तालाई आफ्नो समूहमा रहन र आफूहरू नै सच्चा नेकपा रहेको आश्वस्त पारेर फर्किएका थिए।

प्रधानमन्त्री ओली धनगढी आउने
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी आउने भएका छन्। नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा हुने जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पौष २४ गते धनगढी आउन लागेका हुन्।

कैलालीको धनगढीस्थित खुला मञ्चमा शुक्रवार दिउँसो १२ बजे हुने जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

प्रतिनिधि सभा विघटन पछि पहिलो पटक सुदूरपश्चिमको कार्यक्रममा आउन लागेका प्रधानमन्त्री ओलीको धनगढीको यात्रालाई निकै चासोका साथ हेरिएको छ। 

याे पनि : 

सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री बोहराद्वारा राजीनामा

आफ्नै पक्षको स्पष्ट बहुमत हुँदाहुँदै सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट संकटमा !

मुख्यमन्त्रीले भीम रावलको दबाब थेग्न नसकेर मलाई हटाउनुभयो: बोहरा

सुदूरपश्चिमका ३० सांसद प्रचण्ड–नेपाल पक्षमा खुल्दा, ६ जना उभिए ओलीतिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .