ad ad

राजनीति


आर्थिक अनियमितताको आरोपमा रावललाई कारबाही गर्न ओली समूहको सिफारिस

आर्थिक अनियमितताको आरोपमा रावललाई कारबाही गर्न ओली समूहको  सिफारिस

गोकुल जोशी
पुस २३, २०७७ बिहिबार ५:४१,

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश समितिले आर्थिक अनियमितताको आरोपमा नेता भीम रावललाई कारबाही गर्न सिफारिस गरेको छ।

ओली समूहको सुदूरपश्चिम प्रदेश समितिले प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका सुदूरपश्चिम प्रदेश इन्चार्ज रावलमाथि कारबाही गर्न सिफारिस गरेको हो।

ओली समूहले पार्टी विभाजनपछि पार्टीको नाममा रहेको पैसा निकालेर हिनामिना गरेको आरोप लगाउँदै रावलमाथि छानबिन र कारबाही गर्न माग गरेको सो समूहका एक नेताले बताए।

‘पार्टीको नाममा बैंकमा रहेको खाताबाट पैसा निकालेर अन्यत्र राखेको खुलेपछि हामीले इन्चार्जबाट हटाई छानविन गर्न पार्टीलाई सिफारिस गरेका छौँ’, ती नेताले नेपालखबरसँग भने।

प्रतिनिधिसभा विघटनपछि नेकपा दुई धारमा विभाजित भएको छ। रावल यसअघि एकीकृत पार्टीको सुदूरपश्चिम इन्चार्ज थिए। पछि उनी प्रचण्ड–नेपाल समूहको सुदूरपश्चिम इन्चार्ज छन् भने ओली पक्षले रावलको ठाउँमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई इन्चार्ज बनाएको छ।

उद्योग मन्त्री भट्टले इन्चार्जको भूमिका पाएपछि बसेको पहिलो बैठकले रावललाई कार्बाहीको सिफारिस गर्ने निर्णय गरेको हो।

उता नेकपा प्रचण्ड–माधव समूहको सुदूरपश्चिम इन्चार्ज रावलले भने वैधानिक नेकपा आफूहरु भएकाले पार्टी कोषबारे सोधखोज गर्ने अधिकार अर्को समूहलाई नभएको बताउँदै आएका छन्।

ओली समूहले सुदूरपश्चिम प्रदेश कमिटी समेत विस्तार गरेको छ।

बुधबार बसेको प्रदेश कमिटीको चौँथो विस्तारित बैठकले कमिटी विस्तार गरी पाँच सय ५१ सदस्यीय बनाएको छ। सो समूहको प्रदेश अध्यक्ष कर्णबहादुर थापा बनेका छन्। थापाकै अध्यक्षतामा बसेको बैठकले प्रदेश कमिटी विस्तार गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .