प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्या र भूगोलमा नेपालभन्दा भारत ठूलो भएपनि सार्वभौकिता बराबरी हुने बताएका छन्।
सोमबार आफ्नै कार्यकक्षमा भारतीय टेलिभिजन जीन्युजलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले दुई सार्वभौम देशका प्रधानमन्त्रीको हैसियत सानो र ठूलो देशको नभइ समान हैसियत भएको स्पष्ट पारेका छन्।
पत्रकारले सोधेको एक प्रश्नको जवाफ दिँदै ओलीले व्यक्तिगत रुपमा भारतीय प्रधानमन्त्री आफूभन्दा केही वर्ष जेठो भएपनि प्रधानमन्त्रीको हैसियतमा बस्दा ठूलो देश र सानो देशको नभइ समान हैसियत हुने बताए।
ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी भएको पनि स्पष्ट सन्देश दिएका छन्। उनले वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए।
उनले नेपाल भारत र चीनलाई फरक ढंगले व्यवहार गर्ने नभइ पञ्चशीलको सिद्धान्तका आधारमा असंलग्न नीति अंगिकार गरिरहेको बताए। ओलीले नेपाल कुनै पनि देशकाे साथमा लागेर अर्काे देश विरुद्ध आफ्नाे जमिन वा आकास प्रयाेग गर्न नदिने बताए।
प्रधानमन्त्री ओलीले भारत र चीन दुवै देशमा शान्ति कायम भएमा नै नेपाल पनि सुरक्षित हुने बताएका छन्। भारत र चीन दुवै देशले चाहेमा आफू मध्यस्थता गर्न तयार रहेको पनि उनले बताए।
प्रतिक्रिया