नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड-नेपाल समूह) का स्थायी कमिटी सदस्य डा. भीम रावलले ललिता निवास जग्गा प्रकरणमा आफ्ना अध्यक्ष माधवकुमार नेपालाई जेल हालेर देखाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन्।
आज (शुक्रबार) बिहान प्रेस संगठन (कञ्चनपुर) ले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले ओलीले आफ्ना महासचिव विष्णु पौडेललाई चाहिँ चोख्याएर नेता नेपाललाई कारबाही गर्छु भन्नु हास्यास्पद भएको टिप्पणी गरेका हुन्।
केही दिनअगाडि नेकपा ओली समूह सुदूरपश्चिमक अध्यक्ष कर्ण थापाले आफूहरूसँग प्रमाण भएकाले ललिता निवास प्रकरणमा माधवकुमार नेपाल जेल जाने दाबी गरेका थिए।
सोही प्रसंगमा पत्रकारले राखेको जिज्ञासामा नेता रावलले गीत सम्झिँदै भने, ‘डाडुपन्यूँ तेरा हात न खा भन्ने को छ? यदि त्यस्तो हो भने केपी ओलीले गरे भयो नि ! म यहीँबाट चुनौती दिन चाहन्छु।’
ललिता निवास प्रकरणको छानबिनका क्रममा दोषी देखिएका आफ्ना महासचिव पाैडेललाई कारबाही नगरेर नेता नेपाललाई थुन्ने तर्क हास्यास्पद भएको उनको टिप्पणी छ।
‘ललिता निवासमा जब उहाँहरुले छानबिन गर्नुभयो। उहाँका महासचिव महोदय विष्णु पौडेलकाे छोराको नाममा घर भएको प्रमाणित भयो। हत्तपत्त घर फिर्ता गरेर म बचेँ भन्न पाइन्छ,’ उनले प्रश्न गरे, ‘कुनै चोरी गरेपछि चोरी गरेको फिर्ता हुँदा कानुनमा सजाय नहुने दुनियाँमा कतै देख्नुभएको छ? कुरा त्यहाँ छ। थुन्ने माधव नेपाललाई रे ! हास्यास्पद तर्क।’
याे पनि : ओलीले मलाई र प्रचण्डलाई जेल हाल्न खोजेका थिए : माधव नेपाल
प्रतिक्रिया