ad ad

राजनीति


देउवाजीले मलाई पार्टी फुटाएर गल्ती गरिस् भन्नुहुन्थ्यो पछि आफैँले फुटाउनु भयोः वामदेव

देउवाजीले मलाई पार्टी फुटाएर गल्ती गरिस् भन्नुहुन्थ्यो पछि आफैँले फुटाउनु भयोः वामदेव

नेपालखबर
माघ १४, २०७७ बुधबार ११:२२,

नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजनबाट उत्साहित नहुन अन्य दललाई सुझाव दिएका छन्। नेकपा एकताका लागि राष्ट्रिय अभियानको सुरुवात गर्दै गौतमले पहिले विभाजित नहुन सुझाव दिने शेरबहादुर देउवाले पछि आफैँ पार्टी विभाजत गरेको प्रसंग स्मरण गरे।

‘पार्टी (एमाले) फुटेको राति शेरबहादुर देउवा डडेलधुरा हुनुहुँदो रहेछ। उहाँले ए वामदेव कमरेड भन्नुभो। मैले जय नेपाल भने। उहाँ लालसलाम भन्नुहुन्नथ्यो, कमरेड भन्नुहुन्थ्यो,’ गौतमले भने ‘उहाँले भन्नुभो– तपाईंको बुद्धि कहाँ गएको हो? यो पार्टीमा तपाईं प्रमुख बन्दै हुनुहुथ्यो। यो पार्टी फुटाएर के गर्नु भयो? तर केही समयपछि उहाँले नै पार्टी फोड्नु भयो।’

गौतमले २०५४ सालमा एमाले विभाजन गरेर माले बनाएका थिए भने देउवाले २०५९ असोजमा नेपाली कांग्रेस विभाजन गरेर नेपाली कांग्रेस प्रजातान्त्रिक खोलेका थिए।

गौतमले विभाजन भनेको रोग नै हो भन्दै त्यसले अन्य पार्टीमा पनि समस्या आउनसक्ने बताए।

‘यो रोगले यति ठूलो पार्टीलाई फुटाएको छ भने, यत्रो सम्भावना भएको पार्टी त फुटेपछि कुन पार्टी बाँकी रहन्छ भन्ने भएको छ,’ उनले भने।

एमाले फुट्दा तत्कालीन सभामुख रामचन्द्र पौडेलले पनि विभाजन नगर्न आग्रह गरेको गौतमले सम्झिए।

‘मैले पार्टी फुटाउँदा रामचन्द्र पौडेल सभामुख हुनुहुन्थ्यो। उहाँले मलाई तीन पटक गोप्य कोठामा लैजानु भयो। उहाँले तपाईंसँग संख्या पुगिसकेको छ। तपाईंले पार्टी फुटाउँदा नेपाली कांग्रेसलाई यो भन्दा मज्जा अरु केही हुँदैन। हामी अघि जान्छौ तर तपाई मेरो जेलको साथी हो। हामी जेलमा सँगै बस्यौ, जेलका साथी सधैँभरीको साथी हुन्छ। अफ्ठ्यारो परेको समयमा मद्दत गर्ने साथीले साँचो कुरा बोल्छ। तपाईं पार्टी नफुटाउनुस्,’ गौतमले भने, ‘पार्टी नफुटाउनुस् ६–७ महिनापछि यो पार्टीको मुख्य मानिस बन्दै हुनुहुन्छ। प्रधानमन्त्री बन्दा पनि तपाईं नै हो महासचिव बन्दा पनि तपाईं नै हो। किन उफ्रिएर पार्टी फुटाउन आउनु भएको हो भन्नुभयो। दोस्रो पटक लगेर पनि त्यही भन्नु भयो। तेस्रो पटक पनि साँच्ची फुट्न लागेको भनेर भन्नुभयो।’

आफूले भने फुटेको नेकपालाई एक गराउने उदेश्यले एकता अभियान सुरु गरेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .