दक्षिण कोरियाका अनुसार यो क्षेप्यास्त्र कम दुरीमा मार हान्नसक्ने खालका क्षेप्यास्त्र हुन्।
केही समययता उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणलाई निरन्तरता दिइरहेको छ। छोटो समयमै उत्तर कोरियाले यससँगै पाँचपटक क्षेप्यास्त्र प्रहार गरेको हो।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्तावलाई उल्लंघन गर्दै उत्तरले क्षेप्यास्त्र प्रक्षेपण गरेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार उत्तर कोरियाका नेता किम जोङ उन अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासलाई लिएर खुशी छैनन्।
हालै उनीहरुले संयुक्त सैन्य अभ्यास सम्पन्न गरेका थिए। जसलाई उत्तर कोरियाले युद्धको अभ्यासको संज्ञा दिएको थियो।
यद्यपी अमेरिका र दक्षिणबीचको मुख्य सैन्य अभ्यास आगामी ११ अगष्टबाट सुरुहुने जनाइएको छ। यसको विरोध उत्तरले गरिरहेको छ।
उत्तरले सैन्य अभ्यासलाई अमेरिका र उत्तरबीचको शान्तिवार्ता विथोल्ने कार्यको रुपमा हेरेको छ। उक्त सैन्यअभ्यास रोक्न चेतावनी स्वरुप उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपाणलाई निरन्तरता दिइरहेको विश्लेषकहरु बताउँछन्।
पछिल्लो क्षेप्यास्त्र प्रक्षेपण दक्षिण हैंमयोङ प्रान्तको पूर्वी शहर हमहुङ्गको नजिकबाट गरिएको हो। उक्त दुई क्षेप्यास्त्र पूर्वी कोरियाको प्रायद्वीप जापान सागरमा गएर खसेको थियो।
दक्षिण कोरियाली सेनाका अनुसार उक्त क्षेप्यास्त्रहरु मिसाइल मेक ६.१ भन्दा तेज गतिमा उडेका थिए। ती क्षेप्यास्त्रहरु ४८ किलोमिटरको उचाइमा पुगेका थिए।
गत जुन महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच पछिल्लोपटक भेट भएको थियो।
जहाँ परमाणु हतियार निशस्त्रीकरणको सम्झौता पुनः सुरु गर्ने कुराकानी भएको थियो। त्यसअघि गत फेब्रुअरीमा भएको छलफल विना निश्कर्ष टुंगिएको थियो।
त्यसयता उत्तर कोरियाले लगातार क्षेप्यास्त्र परीक्षण गरिरहेको छ। यी क्षेप्यास्त्र परीक्षणहरु अमेरिकालाई दबाब दिन भएको बुझिएको छ।
अमेरिकाले उत्तर कोरियामाथि विभिन्न प्रतिबन्ध लगाएको छ। पूर्ण प्रतिबन्ध हटे आफूले क्षेप्यास्त्र परीक्षण त्याग्ने उत्तर कोरियाको भनाइ छ।
ट्रम्प र किम
तर अमेरिका पूर्ण प्रतिबन्ध हटाउने पक्षमा छैन। सन् २०१८ पछि उत्तर कोरिया र अमेरिकाबीच जति पनि भेटवार्ता भए, ती सबै उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण त्याग्नुपर्ने र अमेरिकाले प्रतिबन्ध हटाउनुपर्ने विषयमा भएका हुन्।
तर वार्ता अहिलेसम्म सफल हुन सकेको छैन।
क्षेप्यास्त्र प्रक्षेपण अगाडि किमको चिठ्ठी
शनिबार क्षेप्यास्त्र प्रक्षेपण हुनुभन्दा अगाडि उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिठ्ठी लेखेका थिए।
ट्रम्पका अनुसार किमले अत्यन्त राम्रो चिठ्ठी लेखेका थिए। ह्वाइट हाउसका अनुसार उक्त चिठ्ठी निकै सकारात्मक थियो।
बीबीसीका अनुसार चिठ्ठी प्राप्त गरेपछि राष्ट्रपतिको कार्यालयले उत्तर र अमेरिकाबीच फेरि छलफल हुने संकेत गरेको थियो।
प्रतिक्रिया