ad ad

राजनीति


जिल्ला प्रशासनमा मुद्दा चलेका विप्लवका सबै नेता शुक्रबार छाडिने

जिल्ला प्रशासनमा मुद्दा चलेका विप्लवका सबै नेता शुक्रबार छाडिने

उजिर कार्की
फागुन २०, २०७७ बिहिबार १५:२,

जिल्ला प्रशासन कार्यालयमार्फत मुद्दा चलाइएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीका सबै नेता शुक्रबार छुट्ने भएका छन्।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले यसरी मुद्दा चलाइएका सबै नेता कार्यकर्तालाई भोलि छाडिसक्न निर्देशन दिइसकेको बताए।

‘अन्य मुद्दाको हकमा प्रक्रिया पूरा गर्न केही दिन लाग्ला तर जिल्ला प्रशासन कार्यालयबाट मुद्दा चलाइएका सबैलाई भोलि छाडिसक्न निर्देशन दिइसकिएको छ,’ प्रवक्ता बुढाले भने, ‘प्रशासनबाट मुद्दा चलेका सबै भोलि छुटिसक्छन्।’

शान्ति भंग, अभद्र व्यवहार, विस्फोटक पदार्थ र गैरकानुनी चन्दा असुलीलगायतका मुद्दा जिल्ला प्रशासन कार्यालय मार्फत चलाइन्छ। यी मुद्दा सरकारी वकिल कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले फिर्ता लिन सक्ने भएकाले छिटो टुंगिने भएका हुन्।

अदालतबाट मुद्दा चलेकाको हकमा भने अदालतले नै छाड्न आदेश दिनुपर्छ। सरकारी वकिल कार्यालयले मुद्दा फिर्ता लिने र मुद्दा फिर्ता लिइसकेको कारण अदालतले छाड्न आदेश दिनेछ।

फैसला भइसकेकाको हकमा भने मन्त्रिपरिषदबाट निर्णय हुनुपर्छ। तर हालसम्म विप्लवका नेता कार्यकर्ताको एउटा पनि मुद्दामा फैसला भइसकेको छैन।

प्रतिबन्धसँगै २ हजार बढी विप्लव नेता कार्यकर्तालाई मुद्दा चलाइएको छ। तीमध्ये करिब डेढ सय जना थुनामा छन्।

सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्तामार्फत सहमति भएकाले सरकारले उनका नेता–कार्यकर्तालाई छाड्ने भएको हो।

सहमतिसँगै शुक्रबार विप्लव समेत सार्वजनिक हुने भएका छन्। सरकारले २०७५ फागुन २८ गते विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .