ad ad

राजनीति


महाशिवरात्रिमा कोरोना प्रभाव : घट्यो साधुसन्तको संख्या

महाशिवरात्रिमा कोरोना प्रभाव : घट्यो साधुसन्तको संख्या

नेपालखबर
फागुन २६, २०७७ बुधबार ११:५८,

कोरोना महामारीको जोखिम कायमै रहेका कारण यस वर्ष पशुपति क्षेत्रमा विगत वर्षका महाशिवरात्रिको भन्दा साधुसन्तको आगमन घटेको छ।

विगत वर्षमा महाशिवरात्रिको अघिल्लो दिनसम्म करिब चार हजार साधुसन्त आउने गरेकामा यस वर्ष अहिलेसम्म एक हजार ५ सयदेखि दुई हजारसम्म साधुसन्तको मात्र उपस्थिति रहेको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ।

पशुपति मूल मन्दिर परिसरमा बस्ने नागाबाबाको संख्या पनि अहिलेसम्म करिब १ सयमात्र रहेको कार्यालय प्रमुख उमा आचार्यले जानकारी दिए।

विगत वर्षमा ४५० देखि ५०० नागाबाबा पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको अवसरमा दर्शनमा आउने गरेको अभिलेख कार्यालयसँग छ। नागाबाबा सबैजसो भारतका विभिन्न स्थानबाट आउने गरेको जनाइएको छ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाल पनि विगत वर्षमाभन्दा साधुसन्तको संख्या यसपटक ५० प्रतिशतले नै घटेको बताउछन्। महाशिवरात्रिमा पशुपतिनाथ दर्शनमा आउने साधुसन्तका लागि संस्थानले फाल्गुन कृष्ण एकादशी अर्थात् फागुन २५ गते बेलुकीदेखि भोजन, धुनी र बस्ने व्यवस्था गरिसकेको छ।

फाल्गुन कृष्ण औँसीसम्म साधुसन्तलाई सत्कार गरेर राखी दक्षिणासहित बिदाइ गर्ने प्राचीनकालदेखि विधि छ। दक्षिणासहित बिदाइ गर्ने दिन साधुसन्तको संख्या बढ्ने गरेको संस्थानको पशुपति गोश्वारा कार्यालयले जनाएको छ।

बिहीबारको महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको कोषले जनाएको छ। यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपति आउने भक्तजनका लागि कोषले मास्क अनिवार्य गरेको छ। कोरोनाका जोखिम कायमै रहेकाले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेर दर्शनमा आउन आह्वान गरिएको छ। यस वर्ष स्वास्थ्य मापदण्ड पूरा गरेर करिब आठ लाख भक्तजनलाई दर्शन गराउने कोषको तयारी छ।

शिव–पार्वती रथयात्रा
महाशिवरात्रिको पूर्व सन्ध्यामा योगी नरहरिनाथ ट्र«स्ट आध्यात्मिक परिषद्ले आज काठमाडौँमा १२ औँ रथयात्रा गरेको छ।

मिलनचोकस्थित बानेश्वर महादेवस्थानबाट शुरु भएको रथयात्रा रत्नराज्य माध्यमिक विद्यालय–पुरानोबानेश्वर–गौशाला–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिनकुने–कोटेश्वर महादेवस्थान–तिनकुने–नयाँबानेश्वर हुँदै रत्नराज्य माध्यमिक विद्यालयअघि पुगेर समापन भएको थियो।

यात्राका सहभागीले सभ्यरुपमा महाशिवरात्रि मनाउन आह्वान गरेका थिए। यात्रामा शिव–पार्वतीसँगै पशुपतिनाथको प्रतीकको रथ पनि राखिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .