ad ad

राजनीति


सार्वजनिक रुपमै भिडे अमेरिकी र चिनियाँ अधिकारी, वार्ता बन्यो तनावपूर्ण

सार्वजनिक रुपमै भिडे अमेरिकी र चिनियाँ अधिकारी, वार्ता बन्यो तनावपूर्ण

नेपालखबर
चैत ६, २०७७ शुक्रबार ९:४८,

जो बाइडेनले राष्ट्रपति पद सम्हालेपछिको पहिलो साक्षात्कारमा अमेरिकी र चिनियाँ उच्च अधिकारीहरु सार्वजनिक रुपमै एकअर्कासँग भिडेका छन्।

अमेरिकाका तर्फबाट विदेशमन्त्री एन्टोनी ब्लिन्केन र राष्ट्रिय सुरक्षा सल्लाहका जेक सुलिभान तथा चीनको तर्फबाट विदेश मामिला आयोगका निर्देशक याङ जेइची र स्टेट काउन्सिलर वाङ यी सहभागी सो वार्ता अमेरिकाको अलास्कामा भइरहेको छ।

यो वार्ताले दुई मुलुकबीच केही वर्षयता तिक्त बनेको सम्बन्ध सुधार्ने अपेक्षा गरिएको थियो। तर, दुई देशका उच्चस्तरीय प्रतिनिधिले एकअर्काविरुद्ध असाधारण रुपमा तीक्ष्ण टिप्पणी गरेपछि त्यो आशा मेटिएको छ।

वार्ताको सुरुवाती टिप्पणीमा अमेरिकी विदेशमन्त्री ब्लिंकेनले सिन्जियाङ, हङकङ र ताइवान मामिलामा छलफल गर्नुपर्ने बताएका थिए। चीनले मानवअधिकार उल्लंघन गरेको, अन्तर्राष्ट्र्रिय कानुनहरु मिचेको, छिमेकीहरुलाई धम्क्याएको, हालैको आफ्नो विदेश भ्रमणमा जापान, दक्षिण कोरियालागयत मुलुकले चीनप्रति चिन्ता व्यक्त गरेको, बाइडेन प्रशासन आएपछि मित्र राष्ट्रहरु खुसी भएको लगायतका टिप्पणी गरेका थिए।

निर्देशक याङले अमेरिका चीनलाई पाठ पढाउने ठाउँमा नभएको जवाफ दिएका थिए। अमेरिकामा विद्यमान जातिवाद, उसका सैन्य हस्तक्षेप, एकतर्फी र मिचाहा व्यवहारको विरोध गर्दै याङले मानवअधिकारको विषयमा अमेरिकामै प्रशस्त समस्या रहेको बताएका थिए।

blinken_3245.jpg

उनले अमेरिकाको आफ्नै किसिमको लोकतन्त्र र चीनको आफ्नै किसिमको लोकतन्त्र भएको बताउँदै अमेरिकी लोकतन्त्र अरुमाथि जबर्जस्ती नलाद्न समेत आग्रह गरे।

उनले अमेरिकी लोकतन्त्रप्रति अमेरिकी जनता नै असन्तुष्ट भएकाले अरुलाई भन्नुअघि पहिले आफ्ना समस्या समाधान गर्न अमेरिकालाई आग्रह गरे।

‘अमेरिकाले आफ्नो छवि परिवर्तन गर्नु महत्वपूर्ण छ। र आफ्नो लोकतन्त्रलाई बाँकी विश्वमा लाद्न छोड्नुपर्छ,’ याङले भने, ‘वास्तवमा अमेरिकामै थुप्रै मानिसलाई अमेरिकाको लोकतन्त्रमा निकै कम विश्वास छ।’

त्यसअघि ब्लिन्केनले भनेका थिए– ‘हामी सिन्जियाङ, हङकङ ताइवान, अमेरिकामाथिको साइबर आक्रमण, हाम्रा सहयोगी मुलुकमाथिको आर्थिक जबर्जस्तीजस्ता चिनियाँ गतिविधिमाथि हाम्रो गहिरो चिन्ताका विषयमा छलफल गर्नेछौँ।’

जवाफमा याङले भने– ‘अमेरिका सैन्य शक्ति र वित्तीय प्रभुत्वलाई प्रयोग गरेर आफ्नो क्षेत्राधिकारबाहिर पनि हस्तक्षेप गर्ने गर्छ र अन्य मुलुकलाई दमन गर्छ। सामान्य व्यापारमा अवरोध गर्न र अन्य मुलुकलाई चीनमाथि आक्रमण गर्न बाध्य बनाउन अमेरिकाले राष्ट्रिय सुरक्षाको हतियार प्रयोग गर्छ। मलाई स्पष्ट भन्न दिनुस्– बलियो स्थानमा बसेर बोल्ने योग्यता अमेरिकासँग छैन।’

सामान्यतयाः यस्ता वार्तामा केही मिनेट पत्रकारहरुको माझमा सुरुवाती टिप्पणी राख्ने प्रचलन हुन्छ। तर, यो वार्तामा करिब एक घण्टा दुवै पक्षले आरोपप्रत्यारोपमा बिताएको थियो।

वार्ताको पूर्वसन्ध्यामा अमेरिकाले हङकङका विषयमा अनेकौँ प्रतिबन्ध लगाएको थियो। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .