ad ad

राजनीति


एक अर्कालाई हेर्दाहेर्दै तीन दलले ल्याउन सकेनन् ओलीविरुद्ध अविश्वासको प्रस्ताव

एक अर्कालाई हेर्दाहेर्दै तीन दलले ल्याउन सकेनन् ओलीविरुद्ध अविश्वासको प्रस्ताव

सागर न्यौपाने
चैत ६, २०७७ शुक्रबार १५:१,

फागुन ११ गते सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि दलहरुको अपेक्षा थियो– प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा देलान्। तर, ओलीले उल्टै चुनौती दिए– सक्छौ भने मलाई हटाएर देखाऊ।

ओली हटाउन अविश्वासको प्रस्ताव ल्याउनुपर्ने भयो। फागुन तेस्रो साता ओलीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने गृहकार्य भएको थियो। तर, फागुन २३ मा एमाले र माओवादी केन्द्रलाई ब्युँताउने सर्वाेच्चको फैसलाले प्रस्ताव रोकिएको थियो।

त्यसयता दुई साता बितिसक्दा पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्तावबारे सहमति जुटाउन सकेका छैनन्। तीनै दलले एकअर्काको कदम हेरिरहेको र उपयुक्त समय कुरिरहेको जनाएका छन्। संसदमा कांग्रेसको ६३, माओवादी केन्द्रको ५३ र जसपाको ३४ सिट छ।

जसपामा ओली सरकारलाई समर्थन गर्ने कि नयाँ सरकारको समीकरण बनाउने भन्नेमा दुई धार छ। सोही कारण बिहीबार बस्ने भनिएको कार्यकारिणी समितिको बैठक बस्दै नबसी स्थगित गरियो।

बैठक राखेको भए जसपा विभाजन हुने खतरा रहेको नेताहरुले बताएका थिए। बैठक रोकेर वातावरण अनुकूल बनाउन खोजिएको र तयारी गरेर फेरि बैठक राख्ने उनीहरुको भनाइ छ।

राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी मिलेर २०७७ वैशाखमा जसपा गठन भएको थियो। एकतापछि समायोजन प्रक्रिया टुंगो नलागेको र त्यसको तयारी गरेर बैठक बस्ने नेता राजकिशोर यादवले बताए।

उनले नयाँ सत्ता समीकरणका लागि विवाद नभएको दाबी गरे।

‘सत्ता समीकरणमा हाम्रो पार्टी जसपा निर्णायक छ,’ यादवले नेपालखबरसँग भने, ‘त्यसका लागि कांग्रेसबाट औपचारिक प्रस्ताव आउनुपर्छ। त्यसैले अवस्था परिपक्क भइसकेको छैन।’

जसपाका नेताहरुले कांग्रेस, माओवादी केन्द्रसँग अनौपचारिक छलफल गरिरहेको उनले बताए।

‘जसपा न्युट्रल बसेकाले सबै पक्षसँग औपचारिक/अनौपचारिक छलफल त भइ नै रहेको छ,’ यादवले भने।

उनले नयाँ सत्ता समीकरणको विषयले जसपामा विभाजन नआउने ठोकुवा गरे।

अहिलेसम्म कांग्रेसकै नेतृत्वमा सरकार बनाउन तीनै दल सहमत छन्। महामन्त्री शंशाक कोइरालाले अबको १० दिनमा कांग्रेसकै नेतृत्वमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याइने बताए।

ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउने कोइरालाको भनाइ छ।

तर, कांग्रेसभित्र अविश्वासको प्रस्तावको विषयमा खासै छलफल भएको छैन।

कांग्रेसकी सांसद डिला संग्रौलाले जसपाको निर्णय कुरिरहेको बताइन्।

‘जसपाको संख्या स्थिर देखिएको छैन,’ संग्रौलाले नेपालखबरसँग भनिन्, ‘त्यस्तो बेलामा अविश्वासको प्रस्ताव ल्याइहाल्न मिल्दैन।’

उनले पनि वैशाखअघि नै नयाँ सरकार बन्ने बताइन्।

‘हाम्रो पार्टीभित्र सचेततापूर्वक यो कदम चाल्छौँ, सभापति शेरबहादुर दाइ उपयुक्त वातावरण हेरिरहनुभएको छ,’ संग्रौलाले भनिन्।

जसपा, कांग्रेस र माओवादी केन्द्रका दोस्रो तहका नेताहरु सहमतिका लागि निरन्तर छलफलमा छन्।

‘हतारमा नगरेको मात्र हो, तीन दल मिल्ने कुरामा आजको दिसम्म समस्या छैन,’ माओवादी केन्द्रका एक नेताले भने।

ओलीले गरे प्रधानमन्त्रीमा ठाकुरको प्रस्ताव
पछिल्लो समय यी तीन दललाई सहमतिमा आउन नदिन प्रधानमन्त्री ओलीले विभिन्न चाल चलिरहेका छन्। पछिल्लो समय उनले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको खुलेको छ।

बिहीबार बिहान ठाकुरलाई टेलिफोन गरेर ओलीले प्रधानमन्त्रीको प्रस्ताव गरेका हुन्। यो कुरा ठाकुरले बिहीबारको शीर्ष नेताहरुको बैठकमा जानकारी गराएका थिए।

‘ओलीले ठाकुरजीलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नुभएको बैठकमा ब्रिफिङ गर्नुभयो, उहाँले सल्लाह गरौँला भनेर जवाफ दिनुभएछ,’ जसपाका एक नेताले नेपालखबरसँग भने, ‘प्रधानमन्त्री ओलीको कामै सबैलाई प्रधानमन्त्री बाँड्दै हिँड्ने रहेछ। प्रचण्डलाई पनि फोन गरेर त्यसै भने होलान्, अब देउवालाई त्यही प्रस्ताव गर्छन् होला।’

किन समर्थन फिर्ता लिँदैन माओवादी केन्द्र?
सर्वाेच्चको फैसलापछि ब्युँतिएको माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन कायमै राखेको छ।

यसले पनि परिस्थिति अझै परिपक्व नभएको संकेत गरेको जसपाका नेता राजकिशोर यादवले बताए।

माओवादी केन्द्रले भने जसपाको निर्णय कुरिरहेको बताएको छ।

‘कांग्रेस पनि तातोस् जसपाले एउटा निर्णय गरोस् भन्ने हामीले चाहेको हो,’ छलफलमा रहेका एक नेताले नेपालखबरसँग भने।

‘प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमविरुद्ध सडक संघर्ष गरेका तीन दलको बीचमा ओली प्रवृत्तिलाई हेर्ने कुरामा समस्या थिएन, तर एकै ठाउँमा उभिन ढिलाइ भएपछि उहाँहरुको मुड हेरिएको हो। तर, सबै एक ठाउँमै उभिन्छौँ,’ ती नेताले भने।

अर्कोतिर, कांग्रेसले एमालेभित्र देखिएको विवादलाई हेरिरहेको बताएको छ।

‘पहिला हामी नेकपा विभाजनको पक्षमा थियौँ,’ देउवानिकट एक नेताले नेपालखबरसँग भने, अहिले एमालेभित्रको विवाद के हुन्छ भनेर पनि पर्खिरहेका छौँ। कांग्रेस सबैतिरबाट उपयुक्त मौका आउनेवित्तिकै मुभ गर्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .