ad ad

राजनीति


कांग्रेस पदाधिकारी बैठक : तयार होला ओली सरकार ढाल्न?

कांग्रेस पदाधिकारी बैठक : तयार होला ओली सरकार ढाल्न?

सागर न्यौपाने
चैत ८, २०७७ आइतबार १५:४०,

सत्ताको चाबी हातमा लिएर बसेको नेपाली कांग्रेसले सोमबार दिउँसो २ बजे पदाधिकारी बैठक बोलाएको छ।

संसदको बैठक चैत १० गते बस्दैछ। सो बैठकको अघिल्लो दिन कांग्रेसले डाकेको पदाधिकारी बैठकलाई चासोपूर्वक हेरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने चर्चा चलिरहेका बेला बस्न लागेको पदाधिकारी बैठकमा त्यसबारे छलफल गरेर निष्कर्ष निकाल्ने एक नेताले जानकारी दिए।

‘पछिल्लो राजनीतिक परिस्थिति र कांग्रेसको भूमिकाबारे छलफल हुन्छ,’ पदाधिकारी बैठकमा सहभागी हुने नेताले नेपालखबरसँग भने, ‘भोलिको बैठकबाट कांग्रेसले एउटा निकास निकाल्नेछ।’

उनका अनुसार कांग्रेसकै कारण नेपाली राजनीति अनिर्णयको बन्दी भएको भनी आरोप लाग्न थालेका कारण पार्टीले अब सरकार गठनबारे आफ्ना धारणा प्रष्ट पार्ने संभावना छ।

‘जनता समाजवादी पार्टी (जसपा)ले कांग्रेसलाई दोष दिइरहेको छ, यस्तो महत्वपूर्ण समयमा राखिएको पदाधिकारी बैठकले यस विषयमा एउटा निक्र्योल निकाल्नेछ,’ ती नेताले थपे।

महामन्त्री डा. शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीले पदाधिकारी बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने बताए।

‘अहिले समग्र परिस्थितिको बारेमा छलफल हुन्छ, नयाँ सरकार समीकरणको विषयले प्रवेश पाउँछ, औपचारिक रुपमा पार्टीले कुनै धारणा सार्वजनिक नगरेकोले पनि भोलिको बैठकमा कुरा उठ्नेछ,’ डा. कोइरालाको भनाइ उद्धृत गर्दै तिवारीले भने।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा पार्टीको आन्तरिक र राष्ट्रिय राजनीतिबारे छलफल हुने बताए।

‘आन्तरिक विषयअन्तर्गत महाधिवेशन, क्रियाशील सदस्यताको विषयमा छलफल हुन्छ,’ शर्माले नेपालखबरसँग भने, ‘बैठक बसिसकेपछि राष्ट्रिय राजनीतिको बारेमा छलफल त हुन्छ नै।’

प्रतिनिधि सभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फागुन ११ गतेको फैसला र फागुन २३ गतेको सर्वोच्चकै आदेशबाट नेकपा विघटन भएपछि पनि केपी शर्मा ओलीकै सरकार निरन्तर जारी छ।

ओली सरकारको विकल्प दिन नसकेको भनी मुख्यतः प्रमुख प्रतिपक्षी दल कांग्रेसमाथि प्रश्न उठ्न थालेपछि नेताहरुले पार्टी सभापति शेरबहादुर देउवामाथि दबाब दिन थालेका छन्।

यसै सन्दर्भमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार केही नेताहरुसँग आफ्नै निवासमा छलफल गरेका थिए।

प्रधानमन्त्री ओलीको सरकार ढालेर कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने पक्षमा रहेका पौडेल खेमाको सो भेलाले पदाधिकारी बैठकमा कसरी प्रस्तुत हुने भनी छलफल गरेका थिए। छलफलबाट सरकारमा जाने बारेमा एकीकृत धारणा बनाउनुपर्ने निष्कर्ष निकालिएको एक नेताले बताए।

‘माओवादी केन्द्र, जसपासँग मिलेर सरकार बनाएर ओलीलाई विदाइ गर्नुपर्ने पक्षमा नेताहरु एकमत हुनुहुन्छ, पदाधिकारी बैठकमा यही विषयमा छलफल हुन्छ,’ ती नेताले भने।

नयाँ समीकरण गठनमा अर्को निर्णायक शक्तिको रुपमा रहेको जसपाले पनि नेपाली कांग्रेसले सरकार बनाउने विषयमा ठोस पहल नगरेको आरोप लगाएको छ।

जसपाका नेता राजकिशोर यादवले नयाँ सरकार बनाउने विषयमा कांग्रेसले गम्भीर पहल नै नगरेको बताए।

‘संसदमा रहेको शक्तिको आधारमा कांग्रेसले पहल लिनुपर्ने हो, पटक पटक छलफल हुँदा पनि उसले नयाँ सरकार गठनको विषयमा औपचारिक प्रस्ताव ल्याएकै छैन,’ यादवले नेपालखबरसँग भने, ‘कांग्रेसको मुखमै त कसले लगेर राखिदिन्छ र?’

तर, यादवले कांग्रेस, माओवादी केन्द्र र जसपाबीच छलफल भने हुने बताए।

‘छलफल त भइहाल्छ, देशलाई निकास निकाल्नको लागि पनि जसपाले छलफल होस् भनेर लागेकै छ,’ यादवले थपे।

सर्वाेच्च अदालतले फागुन ११ गते प्रतिनिधि सभा पुनस्र्थापना गरेपछि प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा नदिएको भन्दै उनलाई हटाउन तीन दलले तत्काल अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका थिए।

त्यसका लागि जसपाको नेतृत्वमा समेत कांग्रेस र माओवादी केन्द्रसँग छलफल पनि गरिएको थियो।

तीन पक्षबीच छलफल भइरहेकै बेला प्रधानमन्त्री ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण लगायतका नेतालाई बालुवाटारमा बोलाए।

ओलीले उनीहरुको माग के के छन् सोधे। ठाकुर र महतोले थुनामा रहेका सांसद रेशम चौधरीको रिहाई, मधेस र थरुहट आन्दोलनमा लागेकाहरुमाथि लगाइएको मुद्दा खारेज र संविधान संशोधन लगायतको विषयमा प्रतिबद्धता जनाउनुपर्ने प्रस्ताव राखे।

जुन प्रस्तावमा ओलीले सकारात्मक रहेको सन्देश दिए।

त्यतिमात्र होइन, ओलीले रेशम चौधरीको रिहाई कसरी गर्न सकिन्छ भन्नेबारे जसपा नेताहरुलाई आश्वस्त पार्नका लागि अर्थमन्त्री बिष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई रहेको एउटा अनौपचारिक कार्यदल नै बनाएका छन्।

कार्यदलमा जसपाका तर्फबाट नेताहरु लक्ष्मणलाल कर्ण र सवेन्द्रनाथ शुक्ल रहेका छन्।

कार्यदलले पटक पटक छलफल गरेर चौधरीको रिहाई गर्ने उपाय खोजिरहेको छ।

नयाँ सरकार निर्माणबारे निर्णायक धारणा बनाउन लागेको जसपामा प्रधानमन्त्री ओलीसँगको छलफलपछि भने दुईधार देखापर्‍यो।

पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमविरुद्ध जसपा पुस ६ गते नै आन्दोलनका लागि सडकमा उत्रेको थियो। ओली सरकारलाई नै साथ दिने वा ओलीलाई हटाउने भन्ने विषयमा राजपामा विभाजन आएपछि अविश्वासको प्रस्ताव ल्याउने तयारी पनि रोकिएको नेताहरुले बताएका थिए।

संसदमा ६३ सिट रहेको कांग्रेस, ५३ सिट रहेको माओवादी केन्द्र र ३४ सिट रहेको जसपा मिले भने ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आवश्यक संख्या पुग्छ। तर, जसपामा दुईधार देखिएका कारण आफ्नो पार्टीले पनि निर्णय गर्न नसकेको कांग्रेस नेताहरुको भनाइ छ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला नेता कृष्ण सिटौला लगायतले जसपा र माओवादी केन्द्र मिलेर नयाँ सरकार बनाउने बताएका थिए।

कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गर्न अब थप ढिलाइ गर्न नहुने भनी उनीहरुले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउँदै लगेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .