फिलिपिन्सले चीनलाई तत्काल उसको २ सय २० डुंगा सो क्षेत्रबाट फर्काउन आग्रह गरेको छ।
माछा मार्ने डुंगा भनिएता पनि उक्त डुंगामा चिनियाँ लडाकुहरु भएको फिलिपिन्सको सरकारले जनाएको छ।
फिलिपिन्सका रक्षामन्त्री डेल्फिन लोरेनजानकाका अनुसार चिनियाँ डुंगाले फिलिपिन्सको समुद्री अधिकार उल्लंघन गरेको छ र उक्त डुंगामा चिनियाँ लडाकु सवार छन्।
चीनले दक्षिण चीन सागरको ९० प्रतिशत भूभाग आफ्नो भएकोदाबी गर्दछ। तर यो समुद्री क्षेत्रलाई फिलिपिन्स, ब्रुनाई, मलेसिया, ताइवान र भियतनामले पनि आफ्नो भएको दाबी गर्दछन्।
दशकौंदेखि यो विवाद जारी छ। पाँच वर्ष अगाडि मात्र चीनको दाबीलाई अन्तर्राष्ट्रिय अदालतले खारेज गरेको थियो।
त्यस समययता अमेरिकाले यो समुद्री क्षेत्रमा गतिविधि बढाएको छ। खुला इन्डो–प्यासिफिक क्षेत्र र आफ्नो साझेदार मुलुकको लागि आफूले दक्षिण चीन सागरमा गतिविधि बढाएको अमेरिकी भनाइ छ।
चीनले भने नाइन–ड्यास लाइन भनेर चिनिने दक्षिण चीन सागरम कृत्रिम टापु खडा गरेर आफ्नो सेना तैनाथ गरिसकेको छ। अमेरिकी कार्यको चीनले लगातार विरोध गरिरहेको छ।
दुई वर्ष अगाडि मात्र फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले दक्षिण चीन सागरको बारेमा भनेका थिए,‘जब चीनका राष्ट्रपति सीले ‘म यहाँ माछा मार्छु’ भन्छन् उनलाई कसले रोक्ने?’
एएफपीसँग उनले भनेका थिए,‘यदी मैले मेरा नौसेना चिनियाँ माझीलाई हटाउन पठाए भने मलाई थाहा छ उनीहरु कोही जीवित फर्किने छैनन्।’ एससीएमपी
प्रतिक्रिया