ad ad

राजनीति


पार्टी एकता हुनसक्ने भन्दै समितिहरुलाई तत्काल पूर्णता नदिने माओवादी निर्णय

पार्टी एकता हुनसक्ने भन्दै समितिहरुलाई तत्काल पूर्णता नदिने माओवादी निर्णय

सागर न्यौपाने
चैत १२, २०७७ बिहिबार १४:२८,

माओवादी केन्द्रले नेकपा हुँदाकै अवस्थाको सांगठनिक संरचना कायम राख्ने भएको छ।

नेकपा–एमालेको माधव नेपाल पक्ष वा अन्य कुनै पार्टी तथा समूहसँग एकीकरण हुनसक्ने सम्भावनालाई ध्यान दिएर तत्काल सानो, चुस्त संगठन बनाएर जान लागेको नेताहरु बताउँछन्।

एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्दा माओवादी केन्द्रको १९ सदस्यीय स्थायी कमिटी र २ सय सदस्यीय केन्द्रीय समिति थियो।

सर्वाेच्च अदालतको फैसलापछि पुर्ववत् अवस्थामा पुगेको माओवादी केन्द्र सोही संख्यालाई नै कायम राखेर देशभर गतिविधि गरिरहेको छ।

चैत १ गते बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति २ सयबाट नबढाउने बताएका थिए।

‘एकीकृत (नेकपा) हुँदाकै कमिटी र सोही संख्यालाई नै निरन्तरता दिने नेताहरुबीच सहमति भएको छ,’ एक स्थायी समिति सदस्यले भने, ‘सानो समिति बनाउँदा काम गर्न सहज पनि हुने र व्यवस्थित पनि हुने रहेछ।’

नेकपा हुँदा गठन गरिएको जस्तो केन्द्रीय सचिवालय माओवादी केन्द्रमा बनाउने कि नबनाउने निर्णय भएको छैन। तत्कालीन नेकपाको सचिवालयमा माओवादी केन्द्रबाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा थिए। तर, थापा माओवादी फर्केनन्। उनी एमालेमै प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताका रुपमा क्रियाशिल छन्।

माओवादी केन्द्रको विधान संशोधनको काम भइरहेको र संशोधनपछि सांगठनिक संरचनाको निर्णय हुने नेताहरुले बताएका छन्।

विधानलाई अन्तिम रुप दिनको लागि अहिले स्थायी समिति सदस्य देव गुरुङ जुटिरहेका छन्।

उनले पुरानो नेकपा हुँदाखेरीको संरचना कायम रहनसक्ने संकेत गरे।

यद्यपि त्यसबारे अब बस्ने केन्द्रीय समिति र राष्ट्रिय भेलाबाट निर्णय लिइने उनको भनाइ छ।

‘अहिले हाम्रो पार्टीमा तत्कालीन नेकपा हुँदाकै सांगठनिक संरचना कायम राखिएको छ,’ गुरुङले भने, ‘पार्टीका बैठकहरु बसेर कति संख्या बनाउने टुंगो लगाउँछौं।’

माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि अब बस्ने केन्द्रीय समिति र राष्ट्रिय भेलाबाट सांगठनिक संरचना, पार्टी कमिटी र विभागहरुको निर्णय गरिने बताए।

‘पार्टीका संरचना कस्तो बनाउने, विभाग तथा कमिटीहरु कति र कस्ता बनाउने? लगायतका निर्णय राष्ट्रिय भेला र केन्द्रीय समितिको बैठक राखेर गर्छौं,’ श्रेष्ठले नेपालखबरसँग भने।

एक स्थायी समिति सदस्यका अनुसार माओवादी केन्द्रले अन्य पार्टीबाट एकतामा आउने पार्टीहरुलाई समेत पार्टी एकता गर्न सहज हुनेगरी नेकपा हुँदाकै संरचनालाई कायम राख्न लागेको हो।

एकीकृत पार्टी नेकपामा ९ जना सचिवालय सदस्य, ४४ सदस्यीय स्थायी समिति र ४ सय ४१ सदस्यीय केन्द्रीय समिति थियो।

त्यसमध्ये माओवादी तर्फका स्थायी समितिमा १९ र केन्द्रीय समितिमा २ सय सदस्य थिए।

सोही संख्यालाई पछि कायम राख्नेगरी माओवादी केन्द्रले तयारी गरेको हो।

‘त्यसैलाई कामय राख्दा भोलि अन्य पार्टीसँग एकता गर्न सजिलो हुन्छ,’ स्थायी समितिका ती सदस्यले नेपालखबरसँग भने, ‘एकताका विषयमा विभिन्न पार्टीसँग छलफल भइरहेको छ। माधव नेपाल समूह लगायतसँग एकता गर्दा समस्या नहुने गरी पुरानै संरचना कायम राखिएको हो।’

जिल्लामा समेत नेकपा हुँदाकै सदस्य संख्यालाई कायम राखिएको छ।

एमालेसँग एकीकरण हुनुअघि माओवादी केन्द्रमा केन्द्रीय सदस्य ४ हजारभन्दा धेरै थिए। अन्य समिति समेत भद्दा थिए। त्यसले संगठन क्रियाशील नभएको भद्रगोल भएको र पार्टीको काम गर्ने भन्दा नेताहरुको संख्यामात्र बढी भएको भन्दै आलोचना भइरहेको थियो। त्यो कुरालाई अहिले ध्यान दिइएको नेताहरु बताउँछन्।

प्रचण्डनिकट एक नेताका अनुसार अहिले विधान परिमार्जन र संशोधन गर्दा ती पक्षलाई समेट्न खोजिएको छ।

नेकपालाई विभाजन गर्ने सर्वाेच्चको फैसलापछि माओवादी केन्द्रबाट केही जिल्लामा अध्यक्ष र केहीमा सचिव रिक्त छन्।

‘कतिपय जिल्लामा अध्यक्ष र सचिव खाली छन्,’ ती नेताले भने, ‘अब कुन मोडालिटीमा जाने, कार्यदिशा, विधान र राजनीतिक कोर्स कता जान्छ, साथीहरु ध्रुविकृत भएर कति आउनुहुन्छ त्यसले पार्टी कमिटीको संख्याबारे निर्णय हुन्छ।’

नेकपा हुँदा बनेको भन्दा ठूलो संख्या बनाएर जान नहुनेमा आम नेता तथा पार्टीपंक्तिको सुझाव रहेको नेताहरु बताउँछन्।

माओवादी केन्द्रले जिल्ला जिल्लामा समेत आंशिक संगठन मात्र बनाउन निर्देशन दिएको छ।

‘नेकपा रहँदा कमिटीमा जति हाम्रो तर्फका थियौं त्यसबाट नबढाउन निर्देशन दिइएको छ, अहिलेलाई आंशिक संगठनमात्र बनाउनु भन्नेछ,’ एक केन्द्रीय सदस्यले भने।

तर, केन्द्रीय सदस्य हरि दाहालले राष्ट्रिय भेला नहुँदासम्म मात्र अहिलेको कमिटी सदस्यलाई कायम राखिने बताए।

‘सांगठनिक संरचना र पार्टी कमिटी संख्या अहिले जे छ त्यसलाई मानेर जाने भनेको राष्ट्रिय भेलासम्म हो, दीर्घकालीन होइन त्यसमा थपघट हुन्छ,’ दाहालले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .