ad ad

राजनीति


प्रचण्डदेखि विप्लवसम्मलाई किराँतीको पत्र– ‘पूर्वमाओवादी एक बनौँ’

प्रचण्डदेखि विप्लवसम्मलाई किराँतीको पत्र– ‘पूर्वमाओवादी एक बनौँ’

सागर न्यौपाने
चैत १३, २०७७ शुक्रबार १४:१३,

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किराँतीले सबै पूर्व माओवादी पार्टी तथा समूहबीच एकता अभियान थालेका छन्।

पूर्व माओवादीहरु एक हुनुपर्ने भन्दै अध्यक्ष किराँतीले माओवादीबाट विभाजन भएर बनेका सबै दलका शीर्ष नेताहरुलाई पत्राचार गरेका हुन्।

किराँतीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’,  हाल जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष रहेका डा.बाबुराम भट्टराई र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई बेग्लाबेग्लै पत्र पठाएर पूर्व माओवादी एक हुन आग्रह गरेका हुन्।

उनले ठूलो शक्तिका रुपमा रहेको माआवादी टुटफुट र छिन्नभिन्न हुँदा अन्य गलत तत्त्वले त्यसको फाइदा उठाएको भन्दै एक भएर देश, जनता र समाजवादी आन्दोलनमा लाग्नुपर्ने बताएका छन्। उनले पूर्व माओवादीहरुको एकतापछि सम्पूर्ण कम्युनिस्टबीच पनि एकता गरेर अगाडि बढ्नुपर्ने प्रस्ताव गरेका छन्।

‘क्रान्तिकारी माओवादीले भनेको जनगणतन्त्र, विप्लव नेकपाले भनेको वैज्ञानिक समाजवाद, नेकपा (माओवादी केन्द्र) ले भनेको ११ विशेषताको समाजवादी निर्वाचन प्रणाली तथा डा. बाबुराम भट्टराईहरुले भनिरहन भएको जनताको समाजवाद र प्रचण्डले भनिरहनु भएको समाजवाद वस्तुतः एउटै राजनीतिक कार्यक्रम हो, भन्ने हामीलाई लाग्दछ’ किराँतीकाे पत्रमा उल्लेख छ।

पत्रमा थप भनिएकाे छ, ‘अतः उपरोक्त सापेक्ष सम्बन्धित राजनीतिक कार्यक्रमका आधारमा माओवादी तथा पूर्व माओवादी र सम्पूर्ण कम्युनिष्टहरुबीच महाध्रुवीकरणको ठोस तथा यथासिघ्र पहलका लागि हाम्रो पार्टी केन्द्रीय समिति कमरेड समक्ष हार्दिक आग्रह गर्दछ।’ 

किराँतीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सम्बोधन गरेर पठाएको पत्रमा पूर्व माओवादीबीच एकताको पहल गर्न र त्यसको नेतृत्व लिन आग्रह गरेका छन्।

त्यस्तै वैद्य, डा. भट्टाई र विप्लवलगायतका नेतालाई भने उनले एकीकरण प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि किराँतीले आफ्नै नेतृत्वमा माओवादी केन्द्र पुनर्गठन गरेर निर्वाचन आयोगमा दर्ता गरेका थिए। सर्वाेच्च अदालतले गत फागुन २३ गते नेकपालाई खारेज गरेर माओवादी केन्द्र र एमालेलाई पूर्ववत अवस्थामा फर्काइदिएको छ।

याे पनि : पार्टी एकता हुनसक्ने भन्दै समितिहरुलाई तत्काल पूर्णता नदिने माओवादी निर्णय

त्यस्तै सरकारले विप्लव नेतृत्वको नेकपालाई लगाएको प्रतिबन्ध हटाएपछि अहिले पूर्व माओवादीका सबै घटकहरु शान्तिपूर्ण राजनीतिमा रहेको र अब एक भएर अगाडि बढ्ने परिस्थिति सिर्जना भएको किराँतीको ठहर छ। पछिल्लो सबै परिस्थितिको विश्लेषण गरेर किराँतीले एकताको पहल गरेको उनीनिकट नेता राजन तिमल्सिनाले बताए।

‘पछिल्ला सबै परिस्थिति पूर्व माओवादीहरुलाई एक ठाउँमा ल्याउने अवस्था सिर्जना गरेको छ। त्यही निष्कर्षसहित उहाँ (किराँती)ले पूर्व माओवादीहरुबीच एकता प्रक्रिया सुरु गर्ने प्रयास थाल्नुभएको हो’, तिमल्सिनाले नेपालखबरसँग भने।

किराँतीको हस्ताक्षरमा प्रचण्डलाई पठाइएको पत्रमा सबै माओवादीलाई जुटाउन अग्रसरता लिन आग्रह गरिएको छ।

‘प्रचण्डलाई पठाएको पत्रमा टुटफुट भएका सबै माओवादी जुटाउन पहल गर्दै त्यसको नेतृत्व लिन आग्रह गरिएको छ,’ तिमल्सिनाले नेपालखबरसँग भने, ‘अन्य नेताहरुलाई भने एकता प्रक्रियाको महाध्रुवीकरण अभियानमा सहभागी हुन आग्रह गरिएको व्यहोराको पत्र पठाइएको छ।’

पत्र प्राप्त गरेपछि प्रचण्डले त्यसका लागि आफूले पहल गर्ने जवाफ दिएका थिए। ‘ठीकै छ, सबै माओवादीलाई एकतामा ल्याउन पहल गर्छु, तपाईँहरु पनि लाग्नुस्’, प्रचण्डको भनाइ उद्धृत गर्दै तिमल्सिनाले भने।

प्रचण्डले एकताका लागि एकपटक सबैसँग छलफल गर्नुपर्ने बताएका थिए। ‘सैद्धान्तिक, वैचारिक र कार्यक्रमिक प्रश्नहरु हल भयो भने सबै एकैठाउँमा उभिने अवस्था छ,’ प्रचण्ड भने, ‘त्यसका लागि एकपटक सबैसँग छलफल गरौँ।’

पूर्व माओवादीहरु एक नभए जनयुद्धको बलमा प्राप्त सबै अधिकार र उपलब्धि गुम्ने खतरा बढ्दै गएको किराँतीले विश्लेषण गरेका छन्।

‘यदि हामी सबै टुटफुट र छिन्नभिन्न भइराख्यौँ भने अहिलेका सबै प्राप्त उपलब्धि गुम्छन्, त्यही भएर पूर्वमाओवादी र कम्युनिष्टहरुबीच एकीकरण र कार्यगत एकता गरेर जानुको विकल्प छैन भन्ने निष्कर्ष निकाली पत्राचार गरिएको हो’, तिमल्सिनाले भने।

किराँतीको पत्राचारपछि वैद्य, डा. भट्टराई र विप्लवको भने औपचारिक जवाफ नआएको उनले बताए। यद्यपि पत्र लिएर गएका नेतालाई भने महासचिव वैद्यले एकताका लागि धेरै कुरा मिलाउनुपर्ने बताएका थिए।

‘एकता त्यति सहजै हुन सम्भव छैन, धेरै कुरा मिलाउनु पर्नेछ, कतिपयका आचरणगत समस्या छन् भने केहीमा कार्यशैलीगत, वैचारिक र सैद्धान्तिक समस्या छ’, वैद्यको भनाइ उद्धृत गर्दै किराँतीनिकट एक नेताले भने।

२०५२ सालदेखि सशस्त्र जनयुद्ध गरेको तत्कालीन माओवादी ०६२/०६३ को जनआन्दोलमार्फत शान्ति प्रक्रियामा आएको थियो। २०६५ सालमा एकता केन्द्र मसालसँग पार्टी एकता गरेर एमाओवादी केन्द्र बनेको थियो।

यस्तो छ माओवादीको फुट शृंखला
२०६५ मा एकता केन्द्र मसालसँग एकता भएपछि माओवादीमा फुटको पनि शृंखला सुरु भएको थियो। एमता केन्द्रसँगको एकतालगत्तै नेता मातृका यादवले पार्टी छाडेर नेकपा (माओवादी) गठन गरेका थिए।

त्यस्तै २०६९ सालमा मोहन वैद्य, रामबहादुर थापा, नेत्रविक्रम चन्द विप्लव लगायत नेताले एमाओवादी पार्टी विभाजन गरी नेकपा–माओवादी गठन गरेका थियो। यो पार्टी पनि २०७१ मा विभाजित हुन पुग्यो। एक समूहको नेतृत्व वैद्यले गरे भने अर्को समूहको नेतृत्व विप्लवले गरे।

त्यस्तै २०७२ साल असोज ३ गते संविधान जारी भएको एक हप्तापछि असोज १० गते डा. बाबुराम भट्टराईले एमाओवादी छोडे। उनलाई देवेन्द्र पोडेल, हिसिला यमी, गंगा श्रेष्ठ, खमलाल देवकोटा लगायतले साथ दिए। उनी नयाँ शक्ति बनाउँदै समाजवादी पार्टीसँग एकता गरेर अहिले जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष छन्।

फुटमात्र नभएर कतिपय अवस्थामा जुट्दै पनि आएका छन्। २०७३ मा रामबहादुर थापा, मणि थापा, मातृका यादव पुनः माओवादी केन्द्रमै फर्किए।

त्यसपछि २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको थियो। उक्त नेकपा सर्वोच्चले खारेज गरिदिएपछि अहिले दुवै पार्टी पुरानै अवस्थामा फर्केका छन्। 

 यस्तो छ क्रान्तिकारी माओवादीका महासचिव किरणलाई किराँतीले पठाएको पत्र

kiratipatra

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .