ad ad

राजनीति


जसपाबिनै यसरी बन्न सक्छ नयाँ सरकार

जसपाबिनै यसरी बन्न सक्छ नयाँ सरकार

सागर न्यौपाने
चैत १७, २०७७ मंगलबार १५:११,

जनता समाजवादी पार्टी (जसपा) यतिबेला नेपाली राजनीतिको निर्णायक शक्ति बनेको छ। किनभने सरकारको चाबी उसकै हातमा छ।

जसपाले प्रधानमन्त्री केपी ओलीको सरकार टिकाउन पनि सक्छ र त्यसलाई ढालेर नयाँ सरकार बनाउन पनि। तर, यो निर्णायक शक्ति यतिबेला आफैँ अनिर्णयको बन्दी बनेको छ।

जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो समूह ओलीलाई समर्थन गर्नुपर्ने पक्षमा छ भने उपेन्द्र यादव–डा. बाबुराम भट्टराई खेमा कांग्रेस र माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार गठनको पहल गर्नुपर्ने पक्षमा छ।

जसपाको यही विवादले ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सहमति जुट्न सकेको छैन। त्यसैले जसपाबिनै नयाँ सरकार गठन हुनसक्ने सम्भावनाहरुको खोजी पनि भइरहेको छ।

प्रधानमन्त्री ओलीकै कारण जसपाबिना पनि नयाँ सरकार गठनको बाटो खुल्ने सम्भावना बढ्दै गएको नेताहरुले बताएका छन्।

एमाले अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि निलम्बन गरिसकेका छन्। सोही प्रकृतिको स्पष्टीकरण सोधिएका पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पनि नेपाल र रावलले जस्तै प्रतिप्रश्नसहितको जवाफ ओलीलाई फर्काएका छन्।

ओलीले भुसाल र पाण्डेलाई पनि कारबाही गर्ने निश्चितप्रायः छ। यसरी नेपाल पक्षका चार प्रमुख नेताहरुमाथिको कारबाहीका कारण ओली र नेपाल समूह विभाजित अवस्थामा छन्।

अहिलेकै अवस्थामा संसदमा प्रमुख प्रतिपक्षी कांग्रेस वा अन्य कुनै दलले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याए नेपाल समूहले ओलीको पक्षमा मतदान गर्ने सम्भावना देखिँदैन।

यतिबेला कांग्रेसको ६३ सिट (निलम्बित दुईसहित), माओवादी केन्द्रको ५३ सिट, (ओलीतर्फ रहेका चारसहित) र नेपाल समूहका करिब ३५ सांसद एकैतर्फ खुल्दा बहुमत पुग्छ।

अहिले यी तीनै पक्षबीच सघन वार्ता पनि भइरहेको छ।

अध्यक्ष महन्थ ठाकुरलगायत जसपाका नेताहरु भने प्रधानमन्त्री ओलीसँग निरन्तर छलफलमा छन्।

आफ्ना माग पूरा गरे ओलीलाई साथ दिन सकिने उनीहरुले बताउँदै आएका छन्। ओलीले जसपालाई मनाएको अवस्थामा पनि कांग्रेस, माओवादी र एमालेको नेपाल समूहबीच गठबन्धन बन्दा ओली सरकार ढाल्न आवश्यक मत पुग्नेछ।

केही दिनयताका नेताहरुको दौडधुपमा यो विषयमा पनि छलफल भइरहेको माओवादी केन्द्रका एक नेताले बताए।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले ओली सरकारलाई दिएको समर्थन चाँडै फिर्ता लिने बताएका थिए। त्यसयता उनले कांग्रेस, नेपाल समूह र जसपाका नेताहरुसँग निरन्तर छलफल गरिरहेका छन्।

सोमबार नेता नेपाल र भीम रावलसँग छलफल गरेका प्रचण्डले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका थिए।

दुवै नेतासँगको भेटमा सत्ता समीकरणकै विषयमा छलफल भएको बताइएको छ।

ओली नेपाल पक्षमाथि जति आक्रामक बन्दै गए, उति नै वैकल्पिक सरकारको बाटो खुल्दै गएको माओवादीका एक स्थायी समिति सदस्यले दाबी गरे।

‘ओलीले पार्टीभित्रको पंक्तिलाई नछोएको भए वैकल्पिक सरकार बन्न कठिन थियो,’ ती नेताले नेपालखबरसँग भने, ‘अब जसपा नभएपनि वैकल्पिक सरकार निर्माणको वातावरण बनेको छ।’

माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाल समूहका सांसदहरुले कांग्रेसको अगुवाइमा हुने नयाँ सरकार गठनको प्रक्रियामा गरेमा जसपाबिनै सरकार बन्न सक्ने देखिन्छ। यद्यपि नेपाल समूहले प्रचण्ड र कांग्रेसलाई साथ दिन्छ नै भन्ने यकीन भएको छैन।

अर्कोतिर, ओलीले नेपाल समूहका सांसदहरुमाथि कारबाही गर्न सक्छन्। तर, फ्लोर क्रस गरेका नेपाल पक्षका सांसदलाई कारबाही गर्नुको अर्थ ओलीले भएको बहुमत पनि गुमाउनु हो।

यसअघि माओवादी केन्द्र, कांग्रेस र जसपा मिलेर ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रयास असफल भएको थियो।

जसपाभित्र देखिएको दोधारले सो प्रयास असफल भएको थियो। यद्यपि माओवादी केन्द्रले अब चाहिँ सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .