ad ad

राजनीति


सांसद पद गुमाएका मन्त्रीलाई ओलीको आश्वासनः जेठमै उपनिर्वाचन गरेर फेरि सांसद बनाउँछु

सांसद पद गुमाएका मन्त्रीलाई ओलीको आश्वासनः जेठमै उपनिर्वाचन गरेर फेरि सांसद बनाउँछु

सागर न्यौपाने
चैत २७, २०७७ शुक्रबार १५:४३,

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी छाडेर एमाले प्रवेश गरेका चार जना नेताहरुलाई उपनिर्वाचनबाट सांसद बनाउने आश्वासन दिएका छन्।

माओवादी केन्द्रले कारबाही गरेपछि टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद गुमेको छ।

उनीहरुलाई प्रधानमन्त्री ओलीले आगामी २०७८ जेठमै रिक्त स्थानमा उपनिर्वाचन गराएर सांसद बनाउने आश्वासन दिएका हुन्।

मंगलबार ओलीले बालुवाटार बोलाएर रायमाझी, भट्ट, चौधरी र साहलाई उपनिर्वाचनको तयारी गर्न निर्देशन दिएको ओलीनिकट एक नेताले बताए।

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेकामध्ये मणि थापाबाहेक ४ जना सबै प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनीहरुलाई माओवादी केन्द्रले बिहीबार सांसदबाट हटाएको जानकारी संसद् सचिवालयमा दर्ता गराएको थियो।

सो कुराको संकेत मंगलबार नै पाएका ओलीले उनीहरुलाई सो आश्वासन दिएका हुन्।

‘तपाईंहरुलाई प्रचण्डले कारबाही गरेर सांसद पदबाट हटाए पनि जेठमै उपनिर्वाचन गरेर फेरि सांसद बनाउँछु,’ ओलीले गरेको प्रस्तावबारे एक नेताले भने, ‘उपनिर्वाचनको लागि केही दिनमै वातावरण बनाउँछु। निर्णय गराउने ठाउँबाट मिलाउछु।’

मन्त्री टोपबहादुर रायमाझीले पनि प्रधानमन्त्री ओलीसँग यसबारे छलफल भएको बताए।

‘उपनिर्वाचनको विषयमा प्रधानमन्त्रीसँग छलफल भइरहेको छ, उहाँपनि विभिन्न निकायसँगको परामर्शमा हुनुहुन्छ,’ रायमाझीले नेपालखबरसँग भने।

तर, ओलीनिकट एक नेताका अनुसार उनले जेठमै उपनिर्वाचन गर्ने तयारी गरिसकेका छन्।

‘यदि सत्ता फेरबदल नभए सांसद पद गुमाएकाहरुलाई फेरि संसदमा ल्याउनेगरी प्रधानमन्त्री ओलीले छलफल गर्नुभएको छ,’ ती नेताले भने।

ओली सत्तामा टिकिरहन जनता समाजवादी पार्टी ९जसपा०सँग छलफल गरिरहेका छन्।

ओलीसँग प्रभु साहको मागः माधव नेपाललाई सांसदबाट हटाइदिनुस्

बैठकमा सहभागी अर्का एक नेताका अनुसार प्रभु साहले माधव नेपालको सांसद पद खोसिदिन आग्रह गरेका थिए। एमालेमा निलम्बनमा परेका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाइ पनि सांसदबाट हटाएर उपनिर्वाचन गर्न सुझाव दिएका थिए।

‘उपनिर्वाचन गर्ने नै भए चारवटाको मात्र किन, माधव नेपालसहितका नेताहरुलाई कारवाही गरेर रिक्त रहने स्थानमा पनि उपनिर्वाचन गरौं,’ साहले भनेका थिए।

त्यसबारेमा भने ओलीले कुनै प्रतिक्रिया नदिएको ती नेताले बताए।

प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फागुन ११ गतेको सर्वोच्चको फैसलापछि माओवादी केन्द्रबाट चुनाव जितेका चारैजना नेता ओलीतिर खुलेका थिए। उनीहरुलाई फागुन १० गते ओलीले मन्त्री बनाएका हुन्।

सांसद पद गएसँगै उनीहरुले शुक्रबार पुन: शपथ लिएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .