ad ad

राजनीति


प्रचण्डले कांग्रेस र जसपाको कदम हेरेर मात्रै सरकारबारे निर्णय गर्ने

प्रचण्डले कांग्रेस र जसपाको कदम हेरेर मात्रै सरकारबारे निर्णय गर्ने

सागर न्यौपाने
चैत ३०, २०७७ सोमबार १४:४२,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिनुअघि अझै केही दिन कुर्ने भएका छन्। नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को कदम हेरेर मात्र निर्णय गर्ने निष्कर्षमा उनी पुगेका छन्।

प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार तत्काल ढाल्नुपर्ने पक्षमा भए पनि कांग्रेस र जसपाकै कारण त्यो हुन नसकेको उनीनिकट एक नेताले बताए।

‘अध्यक्ष तुरुन्तै समर्थन फिर्ता गर्ने पक्षमा हुनुहुन्छ। तर, एकदुई दिन कांग्रेस र जसपाको कदम हेरौँ भन्नुभएको छ,’ उनले भने।

प्रधानमन्त्री ओलीको सत्ता बहिर्गमनको लागि कांग्रेस तयार नभएको र जसपा समेत अनिर्णयको बन्दी भएपछि प्रचण्ड पनि केही दिन परिस्थिति विश्लेषण गर्ने मुडमा पुगेका हुन्।

कांग्रेसको अगुवाइमा जसपाको समेत समर्थन लिएर ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्ने पक्षमा प्रचण्ड छन्। शुक्रबार सभापति देउवाले राखेको जसपासहितको बैठकमा पनि प्रचण्डले नयाँ सरकार बनाउने कांग्रेसको प्रस्तावमा समर्थन गर्दै सहयोग गर्ने बताएको थिए।

तर, सो बैठकमा जसपाले भने नयाँ सत्ता समीकरणको निर्णय गर्न केही दिनको समय मागेको थियो।

त्यसबारे निर्णय गर्न आइतबार बसेको जसपाको पदाधिकारी बैठकले कुनै निर्णय गर्न सकेन।

प्रधानमन्त्री ओली आफूहरुको माग सम्बोधनको प्रक्रियामा रहेकाले नयाँ सत्ता समीकरणमा जान नहुने अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले बताएपछि बैठक बिनानिष्कर्ष टुंगियो।

उता नेपाली कांग्रेसको आइतबारका लागि बोलाइएको पदाधिकारी बैठक पनि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित भएपछि निर्णायक बन्न सकेन।

यी दुई पार्टीको गतिविधि नियालिरहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एक्लै अघि बढेर जोखिम उठाउने पक्षमा नभएको नेताहरु बताउँछन्।

‘कांग्रेस र जसपा तयार नभई हामीले जोखिम उठाउने कुरा भएन,’ स्थायी समिति सदस्य मात्रिका यादवले नेपालखबरसँग भने, ‘कांग्रेसले साँच्चै ओलीको बहिर्गमन चाहेको हो कि चुनाव भन्ने केही दिनमा प्रष्ट होला।’

कांग्रेस र जसपा तयार नभएसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिँदा ओलीले फेरि संसद् विघटन गर्न सक्ने प्रचण्डको विश्लेषण छ।

‘पछिल्लो दिन जसपाको कारण कांग्रेस हच्कियो,’ प्रचण्ड निकट अर्का स्थायी समिति सदस्यले नेपालखबरसँग भने, ‘अविश्वासको प्रस्ताव ल्याउन तयार भएको कांग्रेस रोकियो। अब एकदुई दिन परिस्थिति हेरौं।’

सोमबारको संसद् बैठकमा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले संसदको रक्षा गर्न सरकारलाई दिएको समर्थन फिर्ता नलिएको बताए।

‘हाम्रो दलले सरकारलाई दिएको समर्थन कायम राख्नुको अर्थ सरकारका अलोकतान्त्रिक र असंवैधानिक कदमलाई समर्थन गर्नु होइन, सहयोग गर्नको लागि पनि होइन,’ उनले भने, ‘संसदको रक्षा, रखवाली गर्न हाम्रो दलले सरकारलाई दिएको समर्थन कायम राखेको छ, सबै खालका असंवैधानिक कदमको हामी साक्षी बसेर ल्याप्चे लगाइराखेको छौँ भन्ने भ्रम नपरोस्।’

आइतबार चितवनमा प्रचण्डले केही दिनभित्र ओलीलाई हटाउने घोषणा गरेका थिए।

‘यसअघि हामीले तीन पटक प्रधानमन्त्रीलाई हटायौँ तर बिडम्बना भन्नुपर्छ अहिले पनि नकचरो भएर केपी प्रधानमन्त्रीको कुर्सीमा बसिरहेका छन्। अब हामी चौथोपटक केही दिनभित्रै उनलाई हटाउँदैछौँ,’ उनले भनेका थिए।

प्रचण्डले नयाँ सरकारको नेतृत्व समेत सहमतिमा हुने बताएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .