ad ad

राजनीति


देउवाको नेतृत्वमा सरकार बनाउने सही समय आएको कांग्रेसको ठहर

देउवाको नेतृत्वमा सरकार बनाउने सही समय आएको कांग्रेसको ठहर

सागर न्यौपाने
बैशाख ८, २०७८ बुधबार १५:३३,

नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने सही समय आएको ठहर गरेको छ।

नयाँ सरकार गठन गर्नको लागि परिस्थिति अनुकूल रहेको भन्दै कांग्रेसले केही प्रधानमन्त्री केपी शर्मा ओलीलाई सकेसम्म चाँडो हटाउनुपर्ने निष्कर्ष पनि निकालेको छ।

बुधबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले यस्तो निष्कर्ष सुनाएका थिए।

देउवाले सबै हिसाबले राजनीति कांग्रेसले सोचेकै बाटोमा अघि बढेको बताएको उनीनिकट एक नेताले जानकारी दिए।

कांग्रेसले चैत २० गते प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो। तर, सो सूचना पाएलगत्तै ओलीले संसद् अधिवेशन अन्त्य गराएका थिए।

संसद् अन्त्य भएपनि ओलीलाई फाल्ने वातावरण झन् राम्रो भएको देउवाको भनाइ रहेको ती नेताले नेपालखबरलाई बताए।

‘जनता समाजवादी पार्टी र एमाले विभाजित अवस्थामा पुगेका छन्, यसले नयाँ सत्ता समीकरण मात्र होइन, आगामी चुनावमा समेत कांग्रेसलाई फाइदा पुग्ने देखिन्छ,’ देउवाको विश्लेषण सुनाउँदै ती नेताले भने।

देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा देउवाले नयाँ सरकारका लागि दलहरुसँगको छलफलसकारात्मक रहेको बताएका थिए।

ती नेताका अनुसार देउवा एमालेभित्रको विवाद के हुन्छ भनेर अध्ययन गरिरहेका छन्।

बुधबार साँझ एमालेका अध्यक्ष ओली र माधवकुमार नेपालबीच काठमाडौंको होटेल मेरियटमा छलफल भएको थियो।

‘ओली र नेपालबीचको भेट, त्यसपछि एमाले पार्टीमा देखिने गतिविधि हेरेपछि थप रणनीति तय बन्न सक्छ,’ देउवानिकट स्रोतले भन्यो।

लुम्बिनी प्रदेशको घटनाबाट जसपा विभाजनको अवस्थाका पुगेको देउवाले विश्लेषण गरेका छन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध सोमबार अविश्वास प्रस्ताव ल्याइएको थियो। तर, सो प्रस्तावमा हस्ताक्षर गर्नेमध्येका ४ जना जसपाका सांसदहरु पोखरेलकै नेतृत्वको सरकारमा सहभागी भएपछि जसपामा विभाजन देखा परेको हो।

पार्टी निर्णय नमानेको भन्दै मंगलबार जसपाले चारजनालाई स्पष्टीकरण सोधेको छ। तर, अध्यक्ष महन्थ ठाकुरकै सल्लाहमा सरकारमा गएको सांसदहरुले दाबी गरेका छन्।

जसपाका सांसद लक्ष्मणलाल कर्णले केन्द्र सरकारको सल्लाह र सहमतिमै सरकारमा गएको नेपालखबरलाई बताए।

माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।

नयाँ सत्ता समीकरणका लागि ओली सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिनुपर्ने बताउँदै आएका देउवाले माओवादीको बुधबारको स्थायी समितिको निर्णयले परिस्थितिलाई परिपक्व बनाउँदै लगेको बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .