प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार दोस्रो पटक भएको छ। यद्यपि सो वार्ताबाट सकारात्मक नतिजा निस्किन नसकेको नेताहरुले बताएका छन्।
बुधबार साँझ भएको वार्तामा अध्यक्ष ओलीले केही सकारात्मक संकेत दिए पनि बिहीबारको कुराकानीले निराश बनाएको नेपाल पक्षको भनाइ छ।
‘बिहीबार बिहानै प्रधानमन्त्री ओलीले मदननगर बल्खुमा गरेको भाषणले बिहीबार दिउँसो हुने बैठकबाट सकारात्मक परिणाम आउँदैन भन्ने आकलन पहिले नै गरेका थियौ। पछि बैठक पनि त्यस्तै भयो,’ नेपालनिकट एक नेताले भने, ‘बुधबार सकारात्मक लागेको थियो। बिहीबार कसरी परिवर्तन भयो, आश्चर्य लागेको छ।’
नेकपा स्थापना तथा लेनिन दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गर्दै अध्यक्ष ओलीले आफूले गरेको वार्तालाई कमजोरीको रुपमा नलिन र समूहगत नभई व्यक्तिगत रुपमा मात्रै छलफल गर्ने बताएका थिए।
त्यस समयमा नेता नेपाल र उनी निकटका नेताहरु काठमाडौँको बिजुलीबजारस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानको कार्यालयमा भेला भएका थिए। सो भेलामा नेताहरुले बुधबार अध्यक्ष ओलीसँग भएको छलफलको समीक्षा गर्नुका साथै स्पष्टीकरणको विषयमा पनि छलफल गरेका थिए।
‘त्यहीँ प्रधानमन्त्रीको भाषण लाइभ हेरेका थियौँ। भाषणमा ओली जसरी प्रस्तुत हुनुभयो, त्यसबाट दिउँसो हुने वार्ता सकारात्मक हुँदैन भन्ने हाम्रो साझा निष्कर्ष थियो। बैठकमा पनि त्यस्तो नै भयो,’ ती नेताले भने।
बैठकपछि नेपालखबरसँग कुरा गर्दै नेता नेपालले पार्टीलाई एक बनाएर लैजाने विषयमा प्रधानमन्त्री ओलीले नयाँ प्रस्ताव पनि नल्याएको र आफूले उठाउँदै आएको विषयलाई सम्बोधन गर्न पनि अस्वीकार गरेको बताए।
लामो समयको संवादहीनतालाई तोड्दै अध्यक्ष ओली र नेता नेपालबीच बुधबार २ घण्टा छलफल भएको थियो। धेरैले त्यसलाई संकटमोचनको सार्थक प्रयास हुनसक्ने अपेक्षा गरेका थिए।
बुधबारको बैठकमा नेता नेपालसँग ओलीले केन्द्र र प्रदेश सरकारहरु अब के हुन्छ, माओवादीसँग एकता कहिले गर्दै हुनुहुन्छ भनेर जिज्ञासा राखेको एक नेताले बताए।
‘पार्टी विभाजन गरिहाल्नु भयो, अब माओवादीसँग एकता गर्नुहुन्छ होला भनेर प्रश्न सोध्नुभएको रहेछ,’ एक नेताले भने।
जवाफमा नेता नेपालले अहिलेको विवादले कसैको पनि भलो नगर्ने भन्दै पार्टीभित्रको विवाद समाधान भएमा सरकार जोगाउनका लागि आफूले माओवादीसँग कुरा गरिदिने प्रतिबद्धता जनाएका थिए।
‘तपाईंजस्तो हतारिएर माओवादीसँग एकता गर्ने र आफूलाई अनुकूल नहुनेबित्तिकै तोड्नेगरी मबाट काम हुँदैन। तत्काल एकता गर्ने योजना छैन। भविष्यमा हुन पनि सक्छ,’ नेता नेपालले जवाफमा भनेका थिए।
ओलीले बैठकमा नेपाल पक्षका नेताहरुलाई बैठकमा प्रवेश गर्न दिने र कारबाहीलाई केही समय स्थगन गर्ने मात्रै बताएको बैठकपछि नेपालले आफूनिकट नेताहरुलाई सुनाएका थिए।
ओलीले नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेका छन्। त्यसैगरी नेता नेपाल निकटका पाँच सांसदले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्दै माओवादी मुख्यमन्त्री महेन्द्र शाहीको पद जोगाइदिएका थिए। ओली पक्षीय समूहले शाहीविरुद्ध सांसदमा अविश्वासको प्रस्ताव ल्याँउदा नेपाल पक्षले त्यसलाई असफल बनाइदिएपछि ओली थप क्रुद्ध बनेका छन्।
फागुन २३ गते अदालतको फैसलाले नेकाप एमाले र माओवादी केन्द्रबीचको एकतालाई भंग गरेपछि नेपाल पक्षले माओवादीसँग एकताभन्दा अघिको कमिटीलाई ब्युँताउनु पर्ने माग गर्दै आएको छ।
ओलीले नेपालसहित प्रतिनिधिसभाका २७ जना सांसद र शाहीलाई साथ दिने कर्णाली प्रदेशका ५ सांसदसँग स्पष्टीकरण सोधेका छन्।
बिहीबारको बैठकपछि नेपालखबरँसग कुरा गर्दै नेता नेपालले अध्यक्ष ओली अदालतको फैसलाअनुसार २०७५ जेठ २ गतेको अनुसार पार्टीको संरचना ब्युँताउन तयार नभएको र पुस ५ गतेदेखि बनाएको जिल्ला कमिटीलाई निरन्तरता दिने पक्षमा रहेको बताएका छन्।
‘ओलीबाट नयाँ प्रस्ताव पनि आएन र न त हामीले उठाउँदै आएको विषयलाई सम्बोधन गर्ने पक्षमा देखिनु भयो,’ नेता नेपालले भने।
प्रतिक्रिया