ad ad

राजनीति


कोरोनाका कारण अस्पताल बन्द हुँदै गर्दा दिनहुँ भीड जम्मा गर्दै हिँडिरहेछन् प्रधानमन्त्री

कोरोनाका कारण अस्पताल बन्द हुँदै गर्दा दिनहुँ भीड जम्मा गर्दै हिँडिरहेछन् प्रधानमन्त्री

उजिर कार्की
बैशाख १२, २०७८ आइतबार १६:४२,

बनिनसकेको धरहरा प्रधानमन्त्री केपी ओलीले शनिबार उद्घाटन गरे। उद्घाटन समारोहको भीड हेर्दा लाग्थ्यो– अब नेपालमा कोरोनाको जोखिम छैन।

कोरोना संक्रमणबाट ठूलो क्षति हुन नदिन समयमै प्रभावकारी कदम चाल्न आवाज उठिरहेको बेला सरकारी निकायहरुले भने आफैँले बनाएका मापदण्ड उल्लंघन गरिरहेका छन्। एकातिर अत्यधिक संक्रमणका कारण अस्पताल बन्द हुँदैछन्, अर्कोतिर देशकै प्रधानमन्त्री भीड जम्मा गरेर दिनदिनै सभा–सम्मेलन, शिलान्यास–उद्घाटन गरिरहेका छन्।

आइतबार मात्रै बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल एक साताका लागि बन्द भयो। राजधानी पनि जोखिममुक्त छैन।

उपत्यकाका तीनै जिल्ला प्रशासनले नागरिकता, राहदानी, संस्था दर्ता लगायतका सेवा बन्द गरेका छन्। अत्यावश्यक सेवा मात्रै सञ्चाल हुनेछन्। अन्य कार्यालयलाई पनि भीडभाड नगरी वैकल्पिक व्यवस्था गरेर सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारीहरुको निर्देशन छ।

सीसीएमसीले अब लकडाउन नै गर्नुपर्ने निर्णय गरेको छ। सीसीएमसीले सहरमा ५ सय र पहाडी जिल्लामा २ सय बढीमा संक्रमण देखिए स्थानीय तहले नै लकडाउन गर्न सक्ने निर्णय गरेको छ।

आइतबार राजधानीमा मात्रै १४ सय ९८ जनामा कोरोना संक्रमण देखिएको छ। देशभर ३१ सय २२ जनामा संक्रमण देखियो। पहिलेभन्दा मृत्युदर पनि बढिरहेको छ। पछिल्लो २४ घण्टामा २८ जनाको ज्यान गयो।

सरकारले वैशाख ६ गते नै २५ जनाभन्दा बढी भेला जम्मा हुन नपाउने निर्णय गरेको थियो। तर, प्रधानमन्त्री भने निर्णय गरेपछि पनि हरेक दिनजसो सयौँको भीड जम्मा गरिरहेका छन्। आइतबार मात्रै पनि बालुवाटारमा मापदण्डको २० गुणा बढी संख्यामा मानिसहरु जम्मा भएर एमालेको बैठक राखियो।

नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटिको बैठक आइतबार बसेको छ। बैठकमा सहभागीको कोरोना परीक्षण पनि गरिएन। दुई दिनपछि कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। बैठक पहिले कोरोना परीक्षण गर्ने निर्णय त गरेको छ तर त्यहाँ पनि सरकारको निर्देशनविपरीत बढी संख्यामा जम्मा हुने निश्चित नै छ।

यता स्वास्थ्य मन्त्रालयले भने दिनदिनै जोखिम बढिरहेको भन्दै सचेत रहन सूचना जारी गरिरहेको छ। देशका नेताहरुलाई भने डाक्टरको सुझावले छोएको देखिँदैन।

स्वास्थ्य मन्त्रालयका एक अधिकारी भन्छन्, ‘नेताहरु हाम्रो सल्लाह सुन्नुहुन्न, उहाँहरुलाई अहिले स्वास्थ्यको भन्दा पनि आर्थिक चिन्ता देखिन्छ, त्यही भएर व्यवसायीको सल्लाह मानिरहनु भएको छ।’

सरकारले नियम बनायो तर पालना गराउन सकेन। र, नियम उल्लंघनको नेतृत्व आफैँ गरिरहेको छ। टेकु अस्पतालका डा. अनुप बास्तोला अहिलेको भाइरसले निक्कै ठूलो धक्का दिने बताउँछन्।

‘अस्पतालको बेडका लागि अहिले पनि धेरै फोन आउँछन्, बेड नभएर सरी भन्नु पर्ने अवस्था छ। आज तीन हजार व्यक्तिमा कोरोना देखिएको छ। तीमध्ये ५ प्रतिशत मात्रै गम्भीर खालको भए भने अब आउने ७ दिनमा कति सिकिस्त हुन्छन्? २० प्रतिशत अस्पताल भर्ना गर्नु पर्‍यो भने पनि हामीले व्यवस्थापन गर्न गाह्रो छ,’ डा. बास्तोलाले भने, ‘सरकारले गरेका निर्णय ठिक छन् तर हाम्रोमा कार्यान्वयन गाह्रो देखियो।’

२५ जना पनि जम्मा हुन दिन नहुने बास्तोलाको सुझाव छ। बिरामी भएपछि उपचार पाउनेहरुको पनि मृत्यु भइरहेकाले रोग लाग्नै नदिने विधि अपनाउन उनको सुझाव छ।

यस्तै ग्रान्डी अस्पतालका डाक्टर प्रभात अधिकारीले पनि भीड नरोकेसम्म कोरोनाको चेनब्रेक हुन नसक्ने बताए। यस्तो संकटको अवस्थामा चाहिने भएपनि राजनीतिक दलहरुले नै उल्लंघन गर्दा कार्यन्वयनमा थप समस्या पर्ने अधिकारीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .