ad ad

राजनीति


पुथा उत्तरगंगा गाउँपालिका टुक्रियो, गाउँसभसाले पारित गर्‍यो प्रस्ताव

पुथा उत्तरगंगा गाउँपालिका टुक्रियो, गाउँसभसाले पारित गर्‍यो प्रस्ताव

नेपालखबर
बैशाख १९, २०७८ आइतबार ४:५०,

रुकुम (पूर्व) को पुथाउत्तरगङ्गा गाउँपालिकालाई दुईवटा गाउँपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित भएको छ।

१४ वटा वडा रहेको पुथाउत्तरगङ्गा गाउँपालिकालाई सात/सातवटा वडा रहने गरी पुथा र उत्तरगङ्गा गरी दुईवटा गाउँपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित भएको हो।

भौगोलिक हिसाबले विकट, छरिएर रहेका बस्तीहरुले गर्दा नागरिकलाई सहजरूपमा सेवा प्रवाह गर्न समस्या भइरहेको छ । नागरिकको सहजताका लागि उनीहरुकै माग र सल्लाह सुझावअनुसार गाउँपालिकालाई टुक्र्याएर दुईवटा बनाउने निर्णय गरिएको हो।

गाउँसभाले पारित गरेको पुथा गाउँपालिकामा हालको १ देखि ६ सम्मका वडा र ९ नम्बर वडालाई मिसाउने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही (मल्ल)ले जानकारी दिइन्। उनका अनुसार उत्तरगङ्गा गाउँपालिकामा ७ र ८ नं वडासँगै १० देखि १४ नंसम्मका वडाहरु रहनेछन्।

त्यसैगरी १२ नं वडामा रहेको जाजरबाङ गाउँलाई १३ नं वडामा मिलाउने प्रस्ताव पनि पारित भएको छ । सिस्ने गाउँपालिका १ र २ नं वडाले छुट्टै गाउँपालिका प्रस्ताव गरेमा पुथाउत्तरगङ्गा गाउँपालिकाको ७ र ८ नं वडालाई त्यसमा मिलाएर एउटा गाउँपालिका बनाउने प्रस्तावलाई पनि गाउँसभाले पारित गरेको उपाध्यक्ष मल्लको भनाई छ।

गाउँसभाबाट दुईवटा गाउँपालिका बनाउन भनेर पारित गरेको निर्णयलाई स्वीकृतिका लागि जिल्ला समन्वय समितिमार्फत प्रदेश हुँदै सङ्घमा सिफारिस हुने कानूनी प्रावधान छ। स्थानीय तहलाई हेरफेर गर्नुपरेमा स्थानीय तहको निर्वाचन हुनुभन्दा एक वर्ष अगाडि गाउँसभाबाट प्रस्ताव पारित भएको हुनुपर्ने प्रावधान छ।

सोहीअनुरुप पुथाउत्तरगङ्गा गाउँपलिकालाई दुई टुक्रा बनाउने निर्णय गाउँसभाबाट पारित भएको हो। अहिले रुकुम (पूर्व)मा सिस्ने, भूमे र पुथाउत्तरगङ्गा गरेर जम्मा तीनवटा गाउँपालिका छन्। स्थानीय तहको हिसाबले हेर्न हो भने रुकुम (पूर्व) देशकै सबैभन्दा सानो जिल्ला हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .