नेकपा एमालेका केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षका नेताहरुबीच भेटघाट बाक्लिएको छ। विभिन्न चरणको कुराकानीपछि शुक्रबार साँझ पनि बालुवाटारमा झण्डै तीन घण्टा लामो वार्ता भएको छ।
ओली खेमाका विष्णु पौडेल, विष्णु रिमाल र सुवास नेम्वाङ तथा नेपाल पक्षबाट घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट छलफलमा सहभागी थिए।
दुई पक्षबीच पौने ५ देखि साढे ७ सम्म कुराकानी भएको थियो। तर, दुवै पक्ष आआफ्नो अडानमा कायमै रहेको घनश्याम भुसालले नेपालखबरलाई जानकारी दिएको छ।
‘उहाँहरुले बैठकमा आउनुस्, छलफल गर्दै जाऔँ भन्नुभयो। हामीले २०७५ जेठ २ भन्दा अगाडिको कमिटी र संरचनामा फर्किनुपर्छ भन्यौँ,’ भुसालले भने, ‘छलफल सकारात्मक छ तर नतिजा आइहालेको छैन।’
एकताभन्दा अगाडिको स्थितिमा फर्किंदा माओवादी केन्द्र छाडेर एमालेमा बसेकाहरुलाई के गर्ने भनेर ओली पक्षले प्रश्न गरेको थियो।
नेपाल पक्षले उनीहरुलाई ल्याउन कुनै समस्या नरहेको बताएको थियो। अझ ओलीले अघि सारेका अन्य चासोलाई पनि आफूहरुले सम्बोधन गरिदिने नेपाल पक्षले बताएको थियो।
‘तर, जेठ २ भन्दा तलमाथि भएर सहमति हुन नसक्ने हामीले बतायौँ,’ भुसालले भने।
दुई पक्षबीच जारी छलफललाई निरन्तरता दिने समझदारी बनेको छ।
बिहीबार मात्रै माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए।
प्रतिक्रिया