जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कोरोना संक्रमणको जोखिम कम नगरी सरकार अयोध्या र रामको रथ यात्रातिर लागेको आरोप लगाएका छन्।
संसदमा सोमबार प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षमा धाराणा राख्दै यादवले भने, ‘सरकारको ध्यान गयो अयोध्यातिर, रामको रथ यात्रातिर, त्यसले कोरोना निको हुन्छ?’
संविधान संशोधनको नाममा आफूहरुलाई धोका दिएको उनले गुनासो गरे।
‘धोका दिनुभयो, विश्वासघात गर्नुभयो। कसरी विश्वास गर्ने?’ उनले भने।
संसदलाई विघटन गर्ने प्रधानमन्त्रीलाई मत कसरी दिने भनेर उनले प्रश्न गरे।
‘जुन सदनलाई असंवैधानिक तबरले विघटन गर्नुभयो। जुन संसदमा यहाँको खुद विश्वास छैन त्यसमा तपाईँलाई कसरी मत दिने?,’ यादवले सोधे।
प्रधानमन्त्री ओली संघीयतासमेत सखाप पार्ने खेलमा लागेको यादवले आरोप लगाए।
‘संघीयता समाप्त पार्ने खेल होइन। संघीयतामा प्रदेशहरु साझेदार हुन्छन्। प्रदेशहरुको कानुन खोस्ने काम भयो। समावेशिता समाप्त पार्न खोज्नु भयो। संघीय गणतन्त्रलाई धरापमा पार्ने खेल भयो, यो कसैले दानमा राखेर दिएको हो र ? बलिदानबाट आएको यो गाण्तन्त्र समाप्त पार्न यहाँलाई मत दिने हो र ?’ उनले भने।
Shares
प्रतिक्रिया