ad ad

राजनीति


महन्थ-उपेन्द्र द्वन्द्व: यस्तो छ एकअर्कालाई असफल पार्ने दाउपेच

महन्थ-उपेन्द्र द्वन्द्व: यस्तो छ एकअर्कालाई असफल पार्ने दाउपेच

सागर न्यौपाने
बैशाख २८, २०७८ मंगलबार १२:२९,

नयाँ सरकार गठनका लागि निर्णायक जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव एकअर्कालाई असफल पार्ने दाउपेचमा लागेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदको विश्वास गुमाएपछि जसपाभित्रको ध्रुवीकरण झन् तीव्र भएको छ। अध्यक्ष यादव सके सर्वसम्मत र नभए बहुमतबाट निर्णय गराएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा बहुमतको सरकार बनाउन दौडधुप गरिरहेका छन्।

तर, अध्यक्ष ठाकुर भने देउवा नेतृत्वमा सरकार बन्नै नदिने रणनीतिअनुसार काम गरिरहेका छन्।

संविधानको धारा ७६ (२) अनुसार सरकार गठन हुनै नदिने र केपी शर्मा ओलीकै नेतृत्वमा ७६ (३) अनुसार सरकार गठन गर्न सहज पार्ने ठाकुरको योजना देखिन्छ।

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले बहुमतीय सरकार बन्न नदिने स्पष्ट पारे।

‘०७६ (२) अनुसार सरकार बन्दैन,’ महतोले नेपालखबरसँग भने, ‘जसपाको नाममा कसैले सत्ता समीकरण भन्यो भने त्यो पार्टीको निर्णय होइन, हामी सरकार बनाउने योजनामा छैनौँ।’

महतोका अनुसार देउवालाई सघाउने यादवको प्रयासलाई असफल पार्न ठाकुर–महतोले विभिन्न योजना समेत तयार पारेका छन्।

पहिलो, जसपामा दलको आधिकारिक निर्णय गर्ने अधिकार ठाकुरलाई मात्र छ भनेर दाबी गर्ने। सोही आधार देखाई राष्ट्रपति कार्यालयमा पार्टीको आधिकारिक पत्र पठाउने र आवश्यक पर्‍यो भने निर्वाचन आयोगमा समेत पत्र पठाएर उपेन्द्रलाई रोक्ने।

दोस्रो, यदि त्यसो गर्दा पनि जसपाको एउटा पक्ष मिलेर बहुमतको सरकार बन्ने अवस्था देखिए उपेन्द्र यादवलाई कारबाही गरेर हटाउने।

‘जसपामा दुई अध्यक्षबीच आफ्नाआफ्ना कुरा लागू हुने अवस्था देखियो भने प्रथम अध्यक्ष महन्थ ठाकुरले भनेको मान्नुपर्छ,’ महतोले थपे, ‘त्यसो गर्दा पनि नमाने उपेन्द्र यादवलाई कारबाही गरेर जान्छौँ।’

उनीहरुले यादवलाई कारबाही गर्ने कारण समेत तयार पारिसकेका छन्। सत्तामा जान पार्टी विभाजन गर्न खोजेकोले कारबाही गर्ने महतोको भनाइ छ।

‘सत्तामा जान पार्टी विभाजनतिर लागेकोले पार्टी जोगाउन पनि कारबाही गरेर जानुपर्छ,’ महतोले खुलाए, ‘त्यसको नाइके भनेको उपेन्द्र नै हुन्।’

प्रधानमन्त्री ओलीले सोमबार संसदमा मागेको विश्वासको मतमा यादव पक्षका १५ सांसदले विपक्षमा र ठाकुर पक्षका १५ सांसदले ‘मत दिन्नँ’ भन्नेमा मतदान गरेका थिए।

‘विभाजनको माहोल सुरुदेखि उपेन्द्रले नै बनाएका हुन्, अहिलेपनि अन्य नेतालाई विभाजन गर्ने चाहना छैन। तर, उनी सत्तामा जान पार्टी नै फुटाउन खोज्दैछन्। बहुमतको निर्णय लागू नभए उनीमाथि पार्टीले कारबाही गर्छ,’ महतोले थपे।

तर उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले भने यसअघि नै पार्टीभित्र बहुमतको आधारमा निर्णय गर्ने अभ्यास गरिसकेका छन्।

सोही आधारमा लुम्बिनी प्रदेशमा आफ्नै पक्षका सांसदलाई कारबाही गरिसकिएको नेता मोहम्मद इस्तियाक राईले बताए।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गरेका चार सांसद त्यसको केही घण्टामै पोखरेलकै सरकारमा गएपछि यादव–भट्टराईले पदमुक्त गरिदिएका थिए।

सो कदम पार्टीको निर्णय नभएको र केन्द्रीय कार्यकारिणी समितिको बैठक नबसेको भन्दै महन्थ ठाकुरले पत्राचार गरेपनि त्यो काम नलागेको राईले बताए।

जसपाले देउवाको नेतृत्वमा सरकार बनाउने निर्णय पनि बहुमतले गर्ने बताए।

‘सकभर सर्वसम्मतको प्रयास गर्छौँ,’ राईले भने, ‘त्यसो हुन नसके पार्टीको बैठक बसेर बहुमतले देउवाको नेतृत्वमा सरकार बनाउन समर्थन गर्ने निर्णय गर्छ।’

जसपाको विधानमा पहिलो र दोस्रो अध्यक्षको व्यवस्था नभएको र बहुमतको निर्णय अल्पमतले मानेर जाने राईले दाबी गरे।

उनले ठाकुर र महतोलाई आफैँले हस्ताक्षर गरेको पार्टी विधान पढ्न पनि सुझाव दिए।

‘महन्थ र राजेन्द्रजीले आफैँले हस्ताक्षर गरेको जसपा पार्टी विधान पढ्नुपर्‍यो। त्यसमा पहिलो अध्यक्ष भनेर कहीँ लेखिएको छैन। अर्काे कुरा बहुमतको निर्णय अल्पमतले स्वीकारेर जाने उल्लेख छ,’ राईले भने।

नेकपामा ओलीले पहिलो अध्यक्ष दाबी गरेजस्तै अभ्यास ठाकुरले जसपामा गरेपनि त्यो सफल नहुने राईको भनाइ छ।

‘किर्ते कागज हाम्रो पार्टीमा चल्दैन। नेकपाको विधान जसपामा लागू हुँदैन।’

जसपाले अहिलेसम्म संसदीय दलको नेता चयन गरेको छैन। त्यसैले अल्पमतमा परे पनि आफूले आधिकारिकता दाबी गर्ने ठाकुर पक्षको योजना छ।

‘दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन भनेर राष्ट्रपतिले भन्नुभएको छ,’ महतोले तर्क गरे, ‘उपेन्द्र यादवजी मात्र पार्टी होइन। कि उहाँले पार्टी विभाजन गर्नुपर्‍यो। त्यो पनि तीन दिनमा सम्भव छैन।’

तर, मोहम्मद इस्तियाक राई भने संसदीय दलको नेता चयन नभएपनि पार्टीको निर्णय नै आधिकारिक हुने जिकिर गर्छन्।

‘पार्टी भनेको संसदीय दलभन्दा माथि हुन्छ, पार्टीले आधिकारिक निर्णय गरेपछि त्यही कार्यान्वयनमा जान्छ, लुम्बिनीमा पनि त्यही भएको हो,’ राई भन्छन्।

यो पनिः
१५ वर्षपछि फेरे उपेन्द्रले धार

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .