ad ad

राजनीति


सरकारमा नगए पनि देला त जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत?

सरकारमा नगए पनि देला त जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत?

सागर न्यौपाने
जेठ ४, २०७८ मंगलबार ९:३५,

जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने सो पार्टीका नेताहरुले बताएका छन्।

प्रधानमन्त्री ओलीले केही दिनभित्र संसदमा विश्वासको मत लिने तयारी गरिरहेका छन्।

मंगलबार अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले विश्वासको मतको पक्षमा मतदान नगर्ने निर्णय गरेर सयुंक्त विज्ञप्ति जारी गरेका छन्। उनीहरुले ओली सरकारमा तत्काल सहभागी नहुने बरु आफ्नै नेतृत्वमा सरकार बनाउने उल्लेख गरेका छन्।

यसअघि वैशाख २७ गते संसदमा भएको मतदानमा यादव पक्षले ओलीको विपक्षमा मत दिएका थिए भने ठाकुर पक्षका १५ सांसद तटस्थ बसेका थिए।

नेकपा एमालेकै माधवकुमार नेपाल पक्षका २८ सांसदले सो प्रक्रिया नै बहिष्कार गरेका थिए। जसकारण ओलीले विश्वास गुमाएर पदमुक्त भएका थिए।

त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा रहेका दुई वा दुई भन्दा बढी दलहरुलाई बहुमतसहित दाबी पे िगर्न वैशाख ३० गतेसम्मको समय दिएकी थिइन्।

तर, बहुमतको सरकार बनाउने प्रक्रियामा पनि जसपाका यादव र ठाकुर पक्ष विभाजित भए। सोही कारण नेपाली कांग्रेस बहुमत सरकार बनाउने निर्णयबाट पछि हटेको थियो।

त्यसपछि संसदमा रहेको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पुनः ओली नै प्रधानमन्त्री नियुक्त भएका थिए। उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ। जसपाको समेत साथ लिएर ओलीले विश्वासको मत लिने तयारी गरिहेका बेला सो पार्टीले उनलाई तत्काल विश्वासको मत नदिने निर्णय गरेको ठाकुर पक्षका सांसद प्रमोद साहले नेपालखबरलाई बताए।

‘सरकारले हाम्रो माग पुरा गरिसकेको छैन,’ साहले भने, ‘संसदबाट पुरा गर्ने बाहेक सरकारले सीधै गर्नसक्ने काम नगरी विश्वास गर्ने अवस्था छैन। आज, भोलि, वा एकदुई दिनमै ओली सरकारलाई विश्वास गर्न सम्भव पनि छैन।’

जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तियाक राईले जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको बताए।

‘हाम्रो पार्टीले ओली सरकारलाई विश्वासको मत नदिने निर्णय गरेर दुई अध्यक्षले संयुक्त विज्ञप्ति जारी गरिसक्नुभएको छ,’ राईले भने, ‘अब हाम्रै नेतृत्वमा सरकार बनाउने निर्णय भएकोले त्यतातिर छलफल केन्द्रित हुन्छ।’

तर, प्रधानमन्त्री ओलीले केही दिनभित्र जसपाले उठाएको माग पुरा गरे सरकारमा जाने सम्भावना रहेको सांसद साहले बताए।

‘सरकारले माग पुरा गरे विश्वासको मत पनि दिन्छौं र सरकारमा पनि जान्छौं, तर, अहिलेसम्म त्यो अवस्था देखिएको छैन,’ साहले भने।

राई भने त्यो सम्भावना टरिसकेको दाबी गर्छन्।

‘पार्टीभित्र देखिएको केही आन्तरिक समस्या हल भइसकेको छ, अब ओली नेतृत्वको सरकारमा सहभागी हुने नभई आफैँले सरकार बनाउन पहल गर्न सबै नेताहरु लाग्ने हो,’ राईले जिकिर गरे।

जसपाले विश्वासको मत नदिए ओली सरकार फेरि ढल्नेछ।

पार्टीले आफ्नै नेतृत्वको सरकार बनाउने लगायतका सांगठनिक संरचनाको एकता प्रक्रिया टुंगो लगाउन जसपाले आगामी जेठ ८ र ९ केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति छ। पार्टीभित्रको महत्वपूर्ण निर्णय गर्ने अधिकार सोही समितिलाई छ।पुसपछि कार्यकारिणी समितिको बैठक बसेको थिएन।

पार्टीभित्र आन्तरिक विवाद चुलिँदै गएपछि जसपा विभाजनको संघारमा पुगेको विश्लेषण भइरहेका बेला मंगलबार अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गरेर सबै विवाद समाधान गर्ने उल्लेख गरेका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .