ad ad

राजनीति


नेपाल–खनाल समूहमै मतभेद हुँदा एमाले सुदूरपश्चिम संसदीय दलको बैठक भाँडियो

नेपाल–खनाल समूहमै मतभेद हुँदा एमाले सुदूरपश्चिम संसदीय दलको बैठक भाँडियो

गोकुल जोशी
जेठ ११, २०७८ मंगलबार १३:१६,

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक स्थगित भएको छ। मंगलवार बिहान बस्ने भनिएको प्रदेश संसदीय दलको बैठक नेपाल–खनाल समूह एक ढिक्का हुन नसक्दा बस्न नसकेको हो।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री समेत रहेका नेकपा एमालेको नेपाल–खनाल समूहका नेता कृष्णराज सुवेदीले बुधवार बिहान ८ बजे संसदीय दलको बैठक आह्वान गरिएको जानकारी दिए।

सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेको नेपाल–खनाल समूह बलियो छ। ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा नेकपा एमालेका २५ (सभामुख सहित) सांसद छन्। तीमध्ये १८ जना नेपाल–खनाल समूहमा छन् भने ६ जना मात्रै प्रधानमन्त्री एंवम् अध्यक्ष ओली समूहमा देखिएका छन्।

एमाले र माओवादी केन्द्रको गठबन्धन रहेको प्रदेश सरकारमा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट मुख्यमन्त्री रहेका छन्। सोमवार नेकपा एमालेको केन्द्रीय कमिटीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै २४ घण्टाभित्र आफ्ना मन्त्रीलाई सरकारबाट बाहिरिन ह्विप जारी गरेको थियो।

त्यसपछि मंगलबार बिहान संसदीय दलको नेता समेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले आफ्नो पक्षका सांसदहरूलाई छलफलको लागि बोलाएका थिए।

तर त्यहाँ दलका नेता नै उपस्थित नभएपछि बिहानै कार्यालय पुगेका नेपाल–खनालका सांसदले सम्पूर्ण सांसद (२५ जना) नै उपस्थित हुने गरी बैठक बस्न आग्रह गर्दै बाहिरिएका थिए। नेपाल–खनाल पक्षबाटै ओली पक्षका सांसदलाई पनि बैठकमा बोलाउनु पर्ने माग अगाडि सारेका थिए।

यद्यपी मंगलवार बिहान आह्वान गरिएको संसदीय दलको बैठकमा ओलीपक्षीय सांसद लगायत नेपाल–खनाल समूहकै सांसद अनुपस्थित थिए।

‘बैठक दुवै पक्षका सांसदलाई राखेर हुनु पर्ने हो। एकलौटी रुपमा आफू निकटलाई मात्रै बैठकमा बोलाइएको थियो,’ एमालेको नेपाल–खनालनिकट एक सांसदले भने, ‘केन्द्रमा जे भए पनि प्रदेशमा हामी मिलेर जानुपर्छ भन्ने विचारमा हामी छौँ। दुबै पक्षलाई खबर नगरेर बैठक बस्न खोजिएकाले आजको बैठक बस्न नसकेको हो।’ उनले बैठकमा दुवै पक्षलाई बोलाउनु पर्ने पक्षमा आफूहरु रहेको बताए।

प्रदेश संसदीय दलको नेता शाह भीम रावल निकट हुन। केन्द्रीय कमिटीले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिँदै प्रदेश सरकारमा रहेका मन्त्रीलाई सरकारबाट बाहिरिन निर्देशन दिएको

अवस्थामा नेपाल पक्षका भीम रावलनिकट संसदीय दलका नेता शाहले समर्थन यथावत राख्न चाहेको नेपाल–खनाल समूहकै नेताहरुको विश्लेषण छ।

अर्कोतर्फ केन्द्रको निर्देशन पालना गर्नुपर्ने मत पनि सो समूहमा जोडबलका साथ उठेको नेपाल–खनाल समूहका सांसद बताउँछन्।

यो पनिः
ओली र नेपालको सहमतिसँगै माओवादी नेतृत्वको सुदूरपश्चिम सरकार धरापमा

पाँच महिनासम्म दुई मन्त्री किन नियुक्त गर्न सकेनन् मुख्यमन्त्री भट्टले?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .