ad ad

राजनीति


संसद विघटन : मंगलबारलाई तोकियो पेसी, न्यायाधीशद्वयको निर्णय भोलि आउने

संसद विघटन : मंगलबारलाई तोकियो पेसी, न्यायाधीशद्वयको निर्णय भोलि आउने

उजिर कार्की
जेठ १६, २०७८ आइतबार ११:२४,

प्रतिनिधि सभा विघटनबारे परेका मुद्दाको पेसी मंगलबारलाई तोकिएको छ। प्रारम्भिक सुनुवाइका क्रममा इजलास गठनमै प्रश्न उठेपछि आइतबार निवेदनमाथि वहस हुन नसकेको हो।

विपक्षी १४६ सांसदको तर्फबाट बहसमा सहभागी कानुन व्यवसायीले न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको निस्पक्षतामाथी नै प्रश्न उठाएका थिए।

न्यायाधीशमाथि नै प्रश्न उठेपछि प्रधानन्यायाधीशले आइतबार संवैधानिक इजलासकै विषयमा बहस गराएका हुन्।

आइतबारको बहसपछि प्रधानन्यायाधीशले दुई न्यायाधीशलाई इजलासमा बस्ने नबस्ने आफैं निर्णय गर्न भनेका छन्।

उनीहरुको निर्णय सोमबार मात्रै आउने भएकाले इजलास पुर्नगठन हुने नहुने सोमबार टुंगो लाग्नेछ।

त्यहीकारण नियमित सुनुवाइका लागि पेसी मंगलबारलाई तोकिएको हो।

केसी र श्रेष्ठले यसअघि नेकपा विभाजन गर्ने फैसला गरेकाले उनीहरु इजलासमा रहँदा संसद विघटनको मुद्दा प्रभावित हुनसक्ने विपक्षी कानुन व्यवसायीको शंका छ।

उनीहरुले दुई न्यायाधीश इजलासबाट बाहिरिनु पर्ने र अरु न्यायाधीश तोकिनु पर्ने माग गरेका छन्। तर सरकारका तर्फबाट महान्यायाधिवक्ता कार्यालयका कानुन अधिकारीहरुले भने यहि इजलासलाई निरन्तरता दिएर सुनुवाइ गर्न माग गरेका छन्।

अब इजलाससम्बन्धी विवाद सोमबार टुंगिएमा मंगलबार रिटमाथि सुनुवाइ हुने सर्वोच्च अदालतका संचारविज्ञ किशोर पौडेलले बताए।

यसअघि कानुन व्यवसायीले दायर गरेका ८ वटा रिटमाथि प्रारम्भिक सुनुवाइ भइसकेको छ। यस्तै अन्य १९ रिट नियमित इजलासमा सुनवाइपछि संवैधानिक इजलासमा ल्याइएको छ।

सबै रिटमाथिको सुनुवाइपछि अन्तरिम आदेश दिने नदिने र मुद्दाको नियमित सुनुवाइ कहिलेबाट गर्ने भन्ने टुंगो लाग्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .