नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र रावल र प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीबीच मन्त्रालयभित्रै हात हालाहाल भएको छ। दुवैले एकअर्काविरुद्ध सोमबार बेलुका आफूलाई कुटपिट/दुर्व्यवहार गरिएको आरोप लगाएका हुन्।
एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव रावलले मन्त्री सोडारीले उनको कार्यकक्षभित्रै आफूलाई हातपात गरेको आरोप लगाएका छन्।
‘मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिन निर्देशनसहितको पत्र बुझाउन मन्त्रालय गएको थिएँ,’ रावलले नेपालखबरसँग भने, ‘मन्त्री एक्कासि आक्रमण गर्न आउनुभयो। मेरो कठालो समातेर दुर्व्यवहार गर्नुभयो।’
आफूसँग भएका अन्य पत्रसमेत मन्त्री सोडारीले च्यातिदिएको उनको आरोप छ।
यस्तै एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले पनि आफ्ना सचिव रावललाई हातपात गरिएको भन्दै मन्त्री सोडारीलाई कारबाही गर्न सम्बन्धित निकायसमक्ष माग गरेका छन्।
उता मन्त्री सोडारीले भने आफूले हातपात नगरेको दाबी गर्दै बरु रावलले चाहिँ आफूलाई दुव्र्यवहार गरेको आरोप लगाएका छन्।
मन्त्री सोडारीका स्वकीय सचिव ललितबहादुर बोहराले विज्ञप्ति जारी गरी एमाले प्रदेश सचिव रावलले मन्त्री सोडारीलाई अभद्र व्यवहार गरेको आरोप लगाएका हुन्।
‘कञ्चनपुर जिल्ला बस्ने क. राजेन्द्र रावलले मन्त्रीज्यूको कार्यकक्षमा प्रवेश गरी प्रदेश सभाको विषयमा कुरा गर्दै अभद्र व्यवहार गरेकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै विषयमा मन्त्री ज्यूसँग कुरा राख्नुपर्ने भएमा छलफलका माध्यम हुँदाहुँदै गुण्डागर्दी शैली अपनाउनु प्रदेश सभा र प्रदेश सरकारको अपमान महसुस भएको छ।’
मन्त्री सोडारी एमालेमा माधव नेपाल समूहका नेता हुन भने प्रदेश सचिव रावल ओली समूहका नेता हुन्। एमालेको ओली र नेपाल समूहबीचको विवाद सुदूरपश्चिममा उत्कर्षमा छ।
यही जेठ १० गते ओली समूहले माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। तर नेपाल समूहको बाहुल्यता रहेको प्रदेश संसदीय दलको बैठकले समर्थन कायम राख्ने निर्णय गरेको छ।
अल्पमतमा रहेका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगबाार संसदमा विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री भट्टलाई एमालेको नेपाल समूहको साथ रहेको छ। नेपाल समूहका ७ जना सांसद अहिले सुदूरपश्चिम प्रदेशमा मन्त्री छन्।
यो पनि : मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै, कस्तो छ सम्भावना?
प्रतिक्रिया