नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफ्नै पार्टीका प्रदेश सांसद नरोत्तम वैद्यले दिएको अभिव्यक्ति कसैलाई पनि स्वीकार्य नहुने बताएका छन्।
शुक्रबार बागमती प्रदेश सभाको बैठकमा सांसद वैद्यले प्रधानमन्त्री ओलीले देश सिध्याउन लागेको भन्दै त्यसलाई रोक्न कोही नाथुराम गोड्से बन्नुपर्ने अन्यथा आफैं बन्ने अभिव्यक्ति दिएका थिए। भारतका गोड्से महात्मा गान्धीको हत्याराको रुपमा चिनिन्छन्।
नेता थापाले शनिबार बिहान सामाजिक सञ्जालमार्फत् वैद्यलाई आफ्नो अभिव्यक्ति फिर्ता लिँदै आत्मालोचना गर्न सुझाब दिएका हुन्।
‘नरोत्तम वैद्यको प्रदेश सभाको अभिव्यक्ति हामी कसैलाई पनि स्विकार्य छैन। मलाई विश्वास छ, दलको नेताको निर्देशन अनुसार आत्मालोचना गर्दै आफ्नो अभिव्यक्ति अविलम्ब फिर्ता लिनुहुनेछ,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिंसात्मक राजनीतिमा विश्वास गर्ने कांग्रेसमा संघर्षमा मात्र हैन आलोचनामा पनि हिंसालाई कुनै स्थान हुँदैन।’
प्रतिक्रिया