पूर्वमन्त्री मणि थापाले प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा अभिव्यक्ति दिएपछि नेकपा एमालेका पोलिटब्युरो सदस्य डा. विजय पौडेलले कटाक्ष गरेका छन्।
नेकपा माओवादी केन्द्र त्यागेर एमाले (ओली समूह) मा प्रवेश गरेका थापाले सामाजिक सञ्जालमार्फत आफ्ना अध्यक्ष एवं प्रधानमन्त्रीमन्त्री ओलीले संसद् विघटन गरी चुनाव घोषणा गर्नु उचित भएको दाबी गर्दै यसको विरोध गर्ने विपक्षी गठबन्धन देशको ठूलो राजनीतिक समस्या भएको आरोप लगाएका छन्।
यसैमा कमेन्ट गर्दै एमालेकै माधव नेपाल पक्षीय नेता डा. पौडेलले नेता थापा वैचारिक रूपमा यतिसम्म स्खलित होलान् भन्ने आफूले नसोचेको बताएका हुन्।
पूर्वमन्त्री मणि थापाले ट्विट गरेका छन्, ‘प्रधानमन्त्रीमन्त्री केपी ओली अहिलेको राजनीतिक समस्याको हल नयाँ जनादेशबाट हल गर्न चाहनुहुन्छ तर अन्य केही दल अदालतबाट समाधान खोजिरहेछन्। यो समाधान हो कि झन् ठूलो राजनीतिक समस्या हो?’
जसमा एमाले पोलिटब्युरो सदस्य डा. विजय पौडेलले टिप्पणी गरेका छन्, ‘मणि थापाजी, यतिसम्म वैचारिक रूपमा टाट पल्टिनुहोला भन्ने लागेको थिएन।’
तत्कालीन नेकपा माओवादीले १० वर्षसम्म सञ्चालन गरेको जनयुद्धमा सक्रिय नेता थापा प्रधानमन्त्री ओलीले पहिलोपटक गत पुस ५ गते प्रतिनिधि सभा विघटन गराउँदा थापा प्रचण्डको साथ छाडेर उनकै पक्षमा लागेका थिए। त्यस क्रममा उनलाई ओलीले खानेपानीमन्त्री बनाएका थिए। पछि सर्वाेच्च अदालतले नेकपा नै भंग गराउँदै यसमा मिसिएका पहिलेकै पुराना दुई दल ब्युँताएपछि पनि थापाले नेकपा माओवादी केन्द्रमा फर्किएनन्।
सांसद नरहेका थापालाई ओलीले दोस्रोपटक मन्त्री नियुक्ति गरे पनि सर्वाेच्च अदालतले त्यो अवैधानिक ठहर गरेपछि उनी मन्त्री पदबाट बर्खास्त भएका हुन्। अहिले उनी नेकपा एमालेको केन्द्रीय सदस्य हुन्।
Shares
प्रतिक्रिया