ad ad

राजनीति


मणि थापा भन्छन् : हामी प्रधानमन्त्री ओलीबाट उपयोग भएका छैनौं

मणि थापा भन्छन् : हामी प्रधानमन्त्री ओलीबाट उपयोग भएका छैनौं

नेपालखबर
असार ७, २०७८ सोमबार १२:३०,

नेकपा (एमाले) का नेता मणि थापाले आफुहरु प्रधानमन्त्री केपी शर्मा ओलीबाट उपयोग भएको नभई बृहत्तर कम्युनिष्ट आन्दोनको निर्माणका लागि साथ दिएको बताएका छन्।

नेता थापाले सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै आफूहरु प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट उपयोग नभएको जिकिर गरे।

उनले आफूहरु बृहत्तर कम्युनिष्ट आन्दोलनको पक्षमा रहेको र त्यही प्रक्रियालाई पुरा गर्नका लागि ओलीको साथमा रहेको स्पष्ट पारे। ओली र प्रचण्डले सरु गरेको कम्युनिष्ट आन्दोलन निर्माणकै प्रक्रियामा रहेकाले आफूहरुले राजनीतिक रुपमा कुनै गल्ती नगरेको उनको भनाई छ।

‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पछिल्लो चरणमा गरेको समर्थनको आधार नेकपा निर्माणको आधार हो। हामी नेकपा निर्माण गर्न चाहान्छौँ र बृहत्तर कम्युनिष्ट आन्दोलन हामी बनाउन चाहान्छौँ जुन प्रक्रिया केपी ओली र प्रचण्डले सुरु गर्नुभयो', उनले भने, 'त्यो प्रक्रियालाई पुरा गर्न चाहान्छौँ। त्यो प्रक्रियालाई पुरा गर्ने बाटोबाट हामी हिडिरहेकाले राजनीतिक रुपमा केही गल्ती गरेका छैनौँ। हामी उपयोग भएको होइन।'

राजनीतिमा लेनदेन, उपयोग, किनबेच र क्याम्प चेन्ज गर्ने प्रवृत्तिले राजनीतिलाई विकृत गरेको उनले बताए।

नेता थापाले नेकपा (एमाले) को एकतालाई आफूले जायज र न्यायिक ठान्ने बताए। एकताको लागि प्रधानमन्त्री ओलीले वातावरण बनाउनुपर्ने र माधव नेपाल समूह पनि एकतामा आउनुपर्ने उनको धारणा छ। एमाले एकताले आफूहरुलाई फरक नपर्ने उनले बताए।

‘पूर्व एमाले एक ठाउँमा आउने कुरालाई हामीले जायज र न्यायिक ठान्छौँ। उहाँहरु आउनुपर्छ। त्यसका निम्ति ओलीले राम्रो वातावरण बनाउनुपर्छ र माधव नेपाल समूहले पनि बदलिदो परिस्थितिलाई बुझेर आफूलाई ध्रुविकरणको पक्षमा ल्याउनुपर्छ,' उनले भने।

नेता थापाले आफूहरु पुरानो पार्टीमा फर्किने सम्भावना नरहेको पनि प्रष्ट पारे। पुरानो पार्टी छोडेर नयाँ कम्युनिष्ट पार्टी बनाउनका लागि आइसकेकाले अब पुरानो नभइ नयाँ ध्रुविकरण आवश्यक रहेको उल्लेख गरे।

पूर्व एमालेको एकतामा पूर्व माओवादीको समूह मिसिँदा कम्युनिष्ट आन्दोलनको मुल प्रवाह हुने भएकाले यसैको ध्रविकरणमा उनले जोड दिए।
उनले प्रधानमन्त्री ओलीलाई सर्वोच्च अदालतको फैसलापछि मन्त्रिपरिषद् पुर्नगठन गर्न सुझाव दिएको बताए।

सर्वोच्चको फैसलापछि पुर्नगठन गर्दा राजनीतिक, कानुनी र नैतिक रुपले सही हुने निष्कर्षका साथ प्रधानमन्त्री ओलीलाई सुझाव दिएको भएपनि प्रधानमन्त्री ओलीको निर्णयमा आफूहरुको असन्तुष्टि नरहेको उनले बाताए।

तर प्रधानमन्त्री ओलीले आफूहरुको सहभागिता बिना फरक ढंगले राजनीति गर्न चाहेमा राम्रो नहुने पनि उनले बताए।

नेता थापाले एमालेभित्र पूर्व माओवादीहरुले पूर्व समूहको रुपमा आफ्नो अस्तित्व नखोजी वाम प्रवृति, राष्ट्रवादी प्रवृत्ति र प्रगतिशील प्रवृत्तिले प्रश्रय पाओस् भन्ने खोजेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .