ad ad

राजनीति


जातीय विभेद आरोपीलाई छुटाउन मन्त्री गएपछि बाबुरामको कटाक्ष : जो रक्षक उही भक्षक

जातीय विभेद आरोपीलाई छुटाउन मन्त्री गएपछि बाबुरामको कटाक्ष : जो रक्षक उही भक्षक

नेपालखबर
असार ९, २०७८ बुधबार १६:२०,

जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी काठमाडौंकी घरभेटीलाई छुटाउन मन्त्री नै गएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘जो रक्षक उही भक्षक’ भनी कटाक्ष गरेका छन्।

बुधबार साँझ सामाजिक सञ्जालमा लेख्दै भट्टराईले उत्पीडित दलित समुदायको घाउमा राज्यकै तर्फबाट थप नूनचूक दल्ने काम भएको आरोप पनि लगाएका छन्।

‘जातीय भेदभाव तथा छुवाछुत मुद्दाजस्तो सरकारवादी मुद्दामा वहालवाला मन्त्रीले आरोपितलाई छुटाउन दौडधूप गर्नु विधिको शासनको ठाडो उपहास त हो नै साथै समाजका सबभन्दा उत्पीडित दलित समुदायको घाउमा राज्यकै तर्फबाट थप नूनचूक दल्नु पनि हो’ उनले लेखेका छन्, ‘जो रक्षक उही भक्षक भए पछि के गर्ने? वृहद प्रतिरोध गरौं!’

काठमाडौंमा डेरा खोज्ने क्रममा सञ्चारकर्मी रूपा सुनारलाई जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरधनीलाई शिक्षामन्त्री नै गएर छुटाएका थिए।

यही असार १ गते काठमाडौंको बबरमहलमा भाडामा कोठा हेर्न गएकी रूपा सुनारलाई पहिले कोठा दिने सहमति गरिसकेकी घरधनी सरस्वती प्रधानले पछि उनको जात थाहा पाएपछि बहिष्कार गरेकी थिइन्।

आफूलाई जातीय विभेद गरेको भन्दै सुनारले यही असार ३ गते घरबेटी प्रधानविरुद्ध महानगरीय प्रहरी वृत्त (सिंहदरबार) मा उजुरी दिएकी थिइन्। त्यसपछि ६ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो।

तर जिल्ला सरकारी वकिलको कार्यालय (काठमाडौं) ले यथेष्ट प्रमाण नभएको भन्दै मुद्दा फिर्ता गरेपछि आजै (बुधबार) घरबेटी प्रधान रिहा भएकी छन्। उनलाई छुटाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि प्रहरी वृत्त पुगेका थिए भने आफ्नै सरकारी गाडीमा घरबेटी प्रधानलाई लिएर फर्किएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .