साझा विवेकशील पार्टीले प्रदेश ३ संसदमा गुठी विधेयकविरुद्ध आवाज उठाएको छ।
पार्टीकी एक मात्र सांसद शोभा शाक्यले प्रदेश ३ को संसदमा बोल्दै संघीय सरकारले ल्याएको गुठी विधेयक काठमाडौं उपत्यकाको समाज, संस्कृति, सम्पदा र जनभावनाविरोधी भएको बताइन्।
‘संघीय सदनमा विचाराधीन अवस्थामा रहेको प्रस्तावित गुठी विधेयक उपत्यकाको समाज विरोधी, जनताको भावनाविरोधी देखिएकोले तत्काल खारेज गर्न सभामुखमार्फत् संघीय सरकारसँग जोडदार माग गर्दछु’, प्रदेश संसद बैठकलाई सम्बोधन गर्दै उनले भनिन्, ‘गुठीबिना हाम्रो संस्कृति, जात्रा, बाजागाजा केही चल्न सक्दैनन्। गुठीलाई लुटतन्त्रको गोटी नबनाउन निवेदन गर्दछु’, उनले भनिन्, ‘गुठीसम्बन्धी ऐनको आवश्यकता भएमा सम्बन्धित सबै पक्षले छलफल र बहसपछि मात्र विधेयक ल्याउन माग गर्दछु।’
अहिले सरकारले ल्याएको विधेयक पारित भए निजी गुठीले दाहसंस्कार गर्दासमेत सरकारको अनुमित लिनुपर्ने भन्दै उनले सदियौंदेखि चलिआएको संस्कृति तथा पूजालाई नबिथोल्न आग्रह गरिन्। ‘हाम्रो संस्कृतिमा कूलदेवतालाई दुई बाहेक तीन वटा आँखाले हेर्नु नहुने गुठीहरु पनि छन्। हाम्रा बहालमा अहिले पनि यो विद्यमान छ। यस्ता सम्पदा मास्न पाइँदैन’, उनले भनिन्।
भिडियो
प्रतिक्रिया