प्रधानमन्त्री केपी शर्मा ओलीले कसुरको अनुसन्धान गर्दा पद र अनुहार नहेरी निष्पक्ष छानबिन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।
६४ औँ प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले कुनै पनि कसिमको दबाबमा नपरी निष्पक्ष अनुसन्धान गर्न प्रहरी संठनलाई सचेत गराएका हुन्। उनले अपराध अनुसन्धानको सवालमा प्रहरीले सरकारमा सहभागी सत्त्तापक्ष, राजनीतिक दल, ओहोदा, पद वा सम्पत्ति लगायतका विषयलाई हेर्न नहुने बताए।
‘म सरकारको तर्फबाट भन्न चाहन्छु। कुन पार्टी सरकारमा छ। यो प्रहरीले वास्ता गर्नुपर्ने विषय होइन। कसले अपराध गर्यो त्यो अनुहार हेर्नुपर्ने पनि विषय होइन। को पक्षमा छ,को विपक्षमा छ त्यो प्रहरीले मतलब राख्नुहुँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘को कुन पदमा छ, कुन ओहोदामा छ, के हैसियतको मान्छे हो? कति सम्पत्तिवाला मान्छे हो। यस्ता कुराहरुको प्रहरीलाई मतलब हुनुहुदैन। कानुनको पालना, कार्यन्वय र अनुहार नहेरीकन निष्पक्ष छानविन गर्नुपर्छ। कसैको दबाब मान्न हँुदैन।’
प्रधानमन्त्री ओलीले राजनीतिक दबाबको वास्ता नगरेपछि दबाब दिनेले पनि दबाब दिन छाड्ने र निष्पक्ष न्याय निरुपणबाट समाजमा सत्य स्थापित हुने बताए । अपराधको राजनीतिकरण गर्ने अनि राजनीतिलाई अपराधीकरण गरि निष्पक्ष अनुसन्धान गर्न व्यवधान श्रृजना गरि प्रहरीलाई नै आरोप लगाउने प्रवृत्ति समाजमा देखिने गरेको उल्लेख गर्दै उनले त्यस्ता गतिविधिबाट प्रहरी सधैँ सजग हुनुपर्नेमा जोड दिए।
उनले प्रहरी दिवस भव्य र उल्लासपुर्ण रुपमा मनाउनुपर्नेमा त्यसो हुन नसकेको भन्दै अमर प्रहरी दिवस र प्रहरी दिवश छिुट्टा छुट्टै मनाउने व्यवस्था गर्न पनि आग्रह गरे। उनले दुवै दिवस एकै दिन मनाउदा ‘बधाई दिने कि समवेदना’ दिने भन्ने अप्ठ्यारो स्थिति श्रृजना भएको उल्लेख गरे।
Shares
प्रतिक्रिया