ad ad

राजनीति


माओवादीलाई बागमती प्रदेश संसदीय दलको नेता छान्न सकस, चुनाव हुने सम्भावना

माओवादीलाई बागमती प्रदेश संसदीय दलको नेता छान्न सकस, चुनाव हुने सम्भावना

नेपालखबर
पुस १६, २०७९ शनिबार १३:१५, हेटौँडा

नेकपा माओवादी केन्द्रले बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि सकस भइरहेको छ। दलको नेता चयन गर्न हिजोदेखि प्रदेश कमिटीको बैठक काठमाडौँमा जारी छ।

शुक्रबार आकांक्षीहरुको धारणा राखिएको र शनिबार जारी बैठकमा कसलाई संसदीय दलको नेता बनाउने भन्ने बिषयमा छलफल तीव्र भइरहेको प्रदेश कमिटीका उपाध्यक्ष प्रेमबहादुर पुलामी ‘छिन्तु’ ले नेपालखबरलाई बताए। 

‘हिजो दिभरको छलफलमा सहमति जुट्न सकेन। आज बिहान १० बजेदेखि बैठक चलिरहेको छ। सकेसम्म सहमति जुटाउने प्रयास हो। बेलुकासम्म पनि टुंगो लगाउन सकिएन भने निर्वाचन हुन पनि सक्छ। तर सर्वसम्मतीको सम्भावना बढी छ,’ उनले भने। 

संसदीय दलको नेतामा माओवादी प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, प्रदेशका बहालवाला आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेल र प्रदेशका पूर्व सामाजिक विकासमन्त्री युवराज दुलालले संसदीय दलको नेतामा दाबी गरिरहेका छन्। यद्यपि तीनमध्ये मुख्य दाबदारका रुपमा पौडेल र जम्मकट्टेललाई लिइएको छ। 

जम्मकट्टेल अघिल्लो कार्यकालमा पनि प्रदेश संसदीय दलको नेता थिए। अघिल्लो कार्यकालमा पूरा हुन नसकेको मुख्यमन्त्री बन्ने सपना यसपटक पूरा गर्ने कसरतमा छन् भने पौडेल सधैं एकै व्यक्तिले पद पाइरहन नहुने भन्दै आफू नै संसदीय दलको नेता हुनपर्ने दाबी गरिरहेका छन्। 

केन्द्रको सत्ता समीकरणअनुसार नै प्रदेशमा पनि माओवादीको हातमा मुख्यमन्त्रीको भाग पर्न सक्ने सम्भावना प्रबल भएका कारण प्रदेश संसदीय दलको नेता चयनमा सहमति हुन नसकेको हो। मुख्यमन्त्रीका दुई दाबेदार जम्मकट्टेल र पौडेल दुवै सहमतिमा एकले अर्कालाई पद छाड्ने पक्षमा देखिएका छैनन्।

सहमतिबाट चयन गर्न नसकिए निर्वाचन प्रणालीमा जाने नेताहरुले बताएका छन्।

निर्वाचन भए संसदीय दलको नेता बन्न ११ मत आवश्यक पर्छ। बागमती प्रदेशसभामा नेकपा माओवादी केन्द्रले २१ सिट जितेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .