ad ad

राजनीति


बागमतीमा पहिलो पटक कांग्रेसको नेतृत्व, को हुन् मुख्यमन्त्री बन्न लागेका बहादुर सिंह लामा?

बागमतीमा पहिलो पटक कांग्रेसको नेतृत्व, को हुन् मुख्यमन्त्री बन्न लागेका बहादुर सिंह लामा?

सुनिता विष्ट
साउन ६, २०८१ आइतबार १३:१३, मकवानपुर (हेटौंडा)

नेपाली कांग्रेस बागमती संसदीय दलका नेता बहादुर सिंह लामा बागमती प्रदेशका मुख्यमन्त्री बन्ने भएका छन्।

केन्द्रमा भएको सहमति अनुसार बागमतीको नेतृत्व कांग्रेसको पोल्टामा आउँदा कांग्रेस संसदीय नेता लामा मुख्यमन्त्री बन्ने भएका हुन्। 

यससँगै, संघीयता कार्यान्वयन पश्चात् बागमतीमा पहिलो पटक कांग्रेसले सरकारको नेतृत्व गर्नेछ। संघीयता कार्यान्वयनको ७ वर्षे अवधिमा अधिकांश समय प्रमुख प्रतिपक्ष रहेको कांग्रेस विगत ३ वर्ष सत्ता साझेदार बनेको थियो।

२०७८ कात्तिकमा सत्ता साझेदारी गर्दै सरकारमा गएको कांग्रेसले नेतृत्व भने प्राप्त गर्न सकेको थिएन।

२०७८ मा कांग्रेससहितको समीकरणबाट एकीकृत समाजवादी पार्टीका राजेन्द्र प्रसाद पाण्डेले बागमती प्रदेश सरकारको नेतृत्व पाएका थिए।

सो समयमा मुख्यमन्त्री त्याग गरेर निर्वाचनको तयारीमा लागेको कांग्रेसले २०७९ पुसमा गठित सरकारमा पनि स्थान पाउन सकेन।

२ महिना प्रतिपक्षमा रहेको कांग्रेस चैतमा मात्र सरकारमा फर्कियो।

एमाले, माओवादी केन्द्र र राप्रपाको गठबन्धन सरकार २ महिनामा ढलेपछि २०७९ चैतमा सरकारमा कांग्रेस सहभागी भएको थियो। सो समयमा पनि मुख्यमन्त्रीको सशक्त दाबी गरेको कांग्रेसले माओवादी केन्द्रलाई सरकारको नेतृत्व दिएको थियो।

यसअघि माओवादी–कांग्रेस लगाएतको सत्ता गठबन्धनमा उनी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालेका थिए।

आलोपालोको सरकारमा माओवादीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको पालो पछि लामा मुख्यमन्त्री बन्ने दौडमा थिए। तर यसबीचमा कांग्रेस सत्ता बाहिर गएर एमालेसँग माओवादी लगाएतका दलसँग गठबन्धन हुँदा लामाको मुख्यमन्त्री यात्रामा ब्रेक लागेको थियो।  

एमाले, माओवादी लगाएतका दलहरुबीचको सत्तासहकार्य करिब ४ महिनामा टुटेपछि लामाको मुख्यमन्त्री यात्रा पूनः तय भएको हो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका लामाले अब बन्ने बागमती प्रदेश सरकारको नेतृत्व गर्नेछन्।

२०७९ मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा नुवाकोट प्रतिनिधिसभा २ प्रदेशसभा (ख) बाट निर्वाचित भएका हुन्। 

२०४३ सालदेखि विद्यार्थी संगठनबाट राजनीतिमा लागेर लामा नुवाकोटको क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा सक्रिय छन्। उनी हाल कांग्रेसको वर्तमान केन्द्रीय सदस्य रहेका छन्।

उनले २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत माओवादी (हालको नेकपा माओवादी केन्द्र) का चर्चित नेता स्व. पोष्टबहादुर बोगटीलाई भारी मतले हराएर संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए।

नेपाली कांग्रेसका नेता तथा निर्माण व्यवसायी लामा विभिन्न संघ संस्थामा आबद्ध तथा खेलकुद क्रियाकलापमा पनि सक्रिय छन्।

लामा २०५४ सालमा गाविस बनेर अध्यक्ष जनप्रतिनिधिको भूमिकामा रहेर काम गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .