ad ad

राजनीति


नेपालगन्ज : जहाँ गठबन्धनविरुद्ध जादु चल्छ!

उपमहानगरमा बलिया प्रतिस्पर्धीबीच नै तालमेल
नेपालगन्ज : जहाँ गठबन्धनविरुद्ध जादु चल्छ!

सागर न्यौपाने
बैशाख १६, २०७९ शुक्रबार १२:२६, काठमाडौँ

अघिल्लो निर्वाचनकै उम्मेदवार दोहोरिएको भए नेपालगन्ज उपमहानगरपालिकाको चुनावी परिणाम अहिल्यै करिब आकलन गर्न सकिन्थ्यो।

देशकै पुरानोमध्येको एक नेपालगन्ज शहरमा राप्रपाबाट ०७४ सालमा एक्लै चुनाव जित्न सफल डा. धवल शमशेर राणा वैशाख ३० गते हुने चुनावको मैदानमा छैनन्।

कुनै समय बाँके, बर्दिया, कैलाली र कञ्चनपुर मिलाई बनेको ‘नयाँ मुलुक’को प्रमुख केन्द्र एवम् भारतीय स्थलमार्गका पर्यटकको मुख्य प्रवेशद्वार नेपालगन्ज उपमहानगर यतिबेला नयाँ नेतृत्व पर्खिरहेको छ।

मतदाताको मनग्गे विश्वास पाएर लोकप्रियता कमाएका डा. राणाले राप्रपाको महामन्त्री जितेपछि यसपटक नेपालगन्ज उपमहानगर हाँक्ने सपना बुनेनन्।

बरु केही दिनअघिमात्र माओवादी केन्द्र परित्याग गरेर राप्रपा प्रवेश गरेका नन्दलाल वैश्यलाई उम्मेदवार बनाएर आफू पर्दा पछाडिबाट चुनावी रणनीति बुनिरहेका छन्।

राणाको व्यक्तिगत छविकै कारण ०५४ र ०७४ मा दुईपटक उपमहानगरको प्रमुख बन्ने अवसर पाएका थिए। कार्यकालको हिसाबले लामो समय नेतृत्व गरे पनि नेपालगन्जको मुहार फेर्न भने उनी असफल भएको विश्लेषण छ।

राणाले ‘ग्राउण्ड’ छाडिदिएपछि नेपालगन्जको राजनीतिले पनि कोल्टे फेरेको विश्लेषण हुन थालेको छ। त्यहाँका जानकारहरु राप्रपा (राणा) मा रहेको शक्ति अब कांग्रेस र जसपातिर सरेको बताउँछन्।

त्यही भएर राणाले चुनाव नलड्ने घोषणा गरेपछि सबैभन्दा बढी खुशी कांग्रेस छ।

तर, राणाले आफूले दुई कार्यकाल हाँकेको उपमहानगरमा यसपटक नयाँ व्यक्ति वैश्यलाई अघि सारेका छन्। राजनीतिक भन्दा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष भएकाले वैश्यको व्यवसायीसँग राम्रो प्रभाव छ। उनी माओवादीमा रहँदा उपमहानगर कमिटीको सहसचिव थिए। 

अघिल्लो चुनावी परिणाम हेर्ने हो भने नेपालगन्जमा माओवादी केन्द्र तेस्रो भएको थियो। ०७४ मा सो उपमहानगरमा माओवादीबाट दामोदर शर्माले ७ हजार १ सय ९८ मत ल्याएर तेस्रो स्थानमा थिए।

शर्माको अघिल्लो महिना क्यान्सरका कारण निधन भएको छ। जसले माओवादीलाई नेतृत्वविहीनजस्तै बनाइदिएको छ। माओवादीबाट प्रमुख पदका आकांक्षी वैश्यटिकट नपाउने भएपछि हठात् राप्रपामा प्रवेश गरेका छन्।

अहिले वैश्यको व्यक्तिगत प्रभाव भन्दा बाहेक अन्य मत राप्रपालाई यसकारण आउँदैन कि माओवादी केन्द्रले छुट्टै उम्मेदवार उठाएको छ।

चुनौती १८ हजार मतदाता र स्वतन्त्र उम्मेदवार
नेपालगन्ज उपमहानगरमा १८ हजार बढी नयाँ मतदाता थपिएर ८२ हजार ८ सय ६६ पुगेको छ। मतदाता मात्रै थपिएको छैन, केही प्रभाव पार्नसक्ने स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी दिएका छन्।

उपमहानगरको प्रमुखमा १८ जनाले र १० जनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन्।

कांग्रेसको लबिङ
पाँच वर्षअघि चारहजार मतले पराजित गर्ने डा. धवल शमशेर राणाले ‘चुनावी मैदान’ छोडेपछि कांग्रेसले आफूलाई उपमहानगर हाँक्ने प्रमुख दाबेदार दाबी गरिरहेको छ।

त्यो कुरा पाँच दलीय गठबन्धनमा उसले राखेको अडानबाट पुष्टि हुन्छ।

गठबन्धनले ११ उपमहानगर र ६ महानगरको भागवण्डा गर्दा कांग्रेसले नेपालगन्ज आँफैले राख्नुपर्ने कुराबाट टसमस भएन।

जनता समाजवादी पार्टी (जसपा)ले नेपालगन्ज नपाए गठबन्धनमै नबस्ने चेतावनी दियो। उसले २४ घण्टे अल्टिमेटम पनि दियो। 

जसपाको चेतावनी यसकारण पनि जायज सुनिन्थ्यो कि, नेपालगन्ज उपमहानगरको २३ वडामध्ये २१ वटा वडा बाँके क्षेत्र नम्बर २ मा पर्छ। त्यो निर्वाचन क्षेत्र जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तियाक राइको हो।

२०७४ को संघीय निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट उनले वाम र लोकतान्त्रिक गरी दुई वटा गठबन्धनलाई हराएर सांसद बन्न सफल भएका थिए। राई २१ हजार ५ सय २५ मत ल्याई विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका पशुपतिदयाल मिश्रले १५ हजार ६ सय ४१ मत ल्याएका थिए।  

लोकतान्त्रिक गठबन्धनका ओमप्रकाश आजादले ११ हजार ६ सय २२ र राजपाका विजयकुमार गुप्ता १ हजार ४ सय ९७ मत प्राप्त गरेका थिए।

जसपाको चेतावनी पछि पनि कांग्रेस पछि हट्न तयार भएन। केन्द्रबाट शीर्ष नेताले हस्तक्षेप गरे। अन्ततः जसपाले उपप्रमुख लिएर नेतृत्वको दाबी छोडिदियो। 

हो, यिनै दुई मुख्य प्रतिस्पर्धाबीच नै गठबन्धन बनेपछि नेपालगन्जको चुनाव रोचक हुने देखिएको छ।

बलिया प्रतिस्पर्धाबीच नै गठबन्धन भएपछि कम्तिमा २० हजारको अन्तरले चुनाव जित्न सकिने उनीहरुको दाबी छ।

राईका अनुसार नेपालगन्ज उपमहानगरमा अन्य कुनै दल र उम्मेदवारसँग पनि प्रतिस्पर्धा हुँदैन।

‘यो उपमहानगरमा बलियो प्रतिस्पर्धी छैन,’ राईले भने, ‘१५ देखि २० हजार बढी मतले हाम्रा उम्मेदवारले जित्छन्।’

गठबन्धनमै रहेका एउटा घटक माओवादी केन्द्रले केन्द्रीय निर्णय विपरीत बागी उम्मेदवारी दिएको छ। ‘माओवादी केन्द्रबाट छुट्टै उम्मेदवारी नपरेको भए कम्तीमा ३० हजारको अन्तरले चुनाव जितिन्थ्यो, माओवादीले केही मत काट्छ।’ 

तर, माओवादीको बागी उम्मेदवारी फिर्ता गराउने पहल भइरहेको जसपाका नेता तथा उपप्रमुख उम्मेदवार कमरूद्धिन राईले बताए।

यी हुन् मुख्य उम्मेदवार 
गठबन्धनबाट प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपप्रमुखमा जसपाका कमरूद्धिन राईले मनोनयन दर्ता  गराएका छन्। 

नेकपा एमालेबाट प्रमुखमा पशुपति दयाल मिश्र र उपप्रमुखमा शान्ति ढकालले उम्मेदवारी दिएका छन्।

मिश्र तिनै हुन्, जो बाँके क्षेत्र नम्बर २ मा बाम गठबन्धनबाट २०७४ को संघीय निर्वाचन लडेका थिए। उनी हृदयेश त्रिपाठी समूहमा थिए। 

मिश्र नेपालगन्जका प्रसिद्ध उद्योगपति र बैंक तथा वित्तीय क्षेत्रका लगानीकर्ताका रुपमा चिनिन्छन्। अर्थशास्त्रमा स्नातकोत्तर मिश्र २०५४ सालमा हिरमिनिया गाविसको अध्यक्षमा निर्वाचित भएपछि गाविस महासंघ बाँकेको अध्यक्ष, जिल्ला विकास समितिको सभापति भइसकेका छन्।

२०५० सालमा सरकारी सेवाबाट निवृत्त भएदेखि राजनीतिमा लागेका उनी तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी हुँदै राजपा नेपालको सहमहामन्त्री बनेका थिए। 

तर, उक्त पार्टीमा असन्तुष्ट भएपछि त्रिपाठीसहितका नेताहरुले २०७४ सालमै स्वतन्त्र समूह गठन गरेका थिए। मिश्र गत मंसिर १ गते केपी ओलीलाई नेपालगन्जकै बोलाएर एमालेमा प्रवेश गरेका हुन्। 

माओवादी केन्द्रका टंक धामीले प्रमुख र तारा रोकायले उपप्रमुखमा मनोनयन दर्ता गराएका छन्। गएको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका समसुद्धिन सिद्धिकी नेकपा एकीकृत समाजवादी गएका छन्। उनी उम्मेदवार बनेका छैनन्।

को हुन् विष्ट ?
उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार विष्ट तीन पटक नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका पार्टी कार्यसमितिको सभापति भइसकेका छन्।  मंसिरमा भएको अधिवेशनमा पनि उनी उमा थापा मगर र विनोद रिजाललाई हराएर सभापति निर्वाचित भएका थिए। विष्ट देउवा निकट हुन्। 

वैश्यका केही किस्सा !
२०७४ जेठ १५ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई २५ किलोको माला लगाएर वैश्य चर्चामा आएका थिए। तत्कालीन समयमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष रहेका वैश्यले स्थानीय निर्वाचनमा दामोदर आचार्यलाई मञ्चबाटै मत मागेका थिए।

२०२७ जेठ १४ गते नेपालगन्जमै जन्मेका वैश्यले भारतको रुपैडियास्थित रामजानकी कलेजबाट आइए अध्ययन गरेका छन्। उनको नेपालगन्जमा होलसेल व्यवसाय छ।

फ्ल्यासब्याकमा अघिल्लो निर्वाचन 
गएको निर्वाचनमा नेपालगन्ज उपमहानगर प्रमुखमा राणा र उपप्रमुखमा कांग्रेसकी उमा थापा मगर निर्वाचित भएका थिए। 

राणाले १२ हजार ५ सय १५ ल्याएर विजयी हुँदा कांग्रेसका उम्मेदवार सुरेशकुमार कनोडियाले आठ हजार ७ सय ३० मत पाए।

यसैगरी माओवादी केन्द्रका वैश्यले ७ हजार १ सय ९८ मत मात्र ल्याएका थिए।

त्यसबेला एमाले चौथो भएको थियो। एमालेका शमसुद्धिन सिद्धिकीले ६ हजार ९६५ मत पाए।

प्रमुखमा राणाले जिते पनि उपप्रमुख भने कांग्रेसले जितेको थियो। उमा थापा मगरले १० हजार ७३३ मत पाइ विजयी भएकी थिइन। 

२३ वडा रहेको नेपालगन्जमा ८ वडामा कांग्रेस, ६ वडामा एमाले, राप्रपा, जसपा र माओवादी केन्द्र ३/३ वडा जितेको थियो। 

अहिलेको अवस्था 
अहिले एमाले र राप्रपा विभाजित छ। एमालेले कमल थापाको राप्रपा नेपालसँग तालमेल गरिसकेको छ।

राप्रपा भने एक्लै चुनाव लड्ने तयारीमा छ। 

तर, कांग्रेस, जसपा र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन बनेको छ।

पाँच वर्ष अघि ६ हजार भन्दा बढी मत ल्याउने सिद्धिकी गठबन्धनमै भएकाले कांग्रेस ढुक्क देखिन्छ।

उपप्रमुख उम्मेदवार राईले भने, ‘चुनाव जित्न हामीलाई कुनै गाह्रो छैन, खाली कति अन्तरले जितिन्छ भन्ने मात्र हो।’

गठबन्धनमा एकता कायम गरेर चुनावमा जानेगरी छलफल भइरहेको उनले बताए। 

पहिले नै अनुमान गर्न सकिने 
अघिल्लो चुनाव र अहिलेको गठबन्धनलाई आधार मान्दा कांग्रेसकै उम्मेदवार प्रमुख बन्न सक्ने विश्लेषण छ।

त्यहाँ राप्रपा, कांग्रेस र एमालेबीच नै मुख्य भीडन्त हुने देखिन्छ। ‘नेपालगन्जमा राप्रपा बलियो थियो, तर, राणाको क्रेजले मात्र हो, उनी उम्मेदवार नबनेपछि त्यो घट्यो,’ नेपालगन्जको भूगोलबारे जानकार एक पत्रकारले नेपालखबरसँग भने, ‘अहिले कांग्रेस बलियो देखिएको छ, गठबन्धनमा इमानदारी भएमा नतिजा उसकै पोल्टामा जानसक्छ।’

चुनावको जादु !
चुनावमा टिकट पाउनकै लागि नेताहरु कसरी रातारात पार्टी परिवर्तन गर्छन् भन्ने तथ्यको असली उदाहरण हेर्न नेपालगन्ज उपमहानगरपालिकामा पुग्नै पर्छ। अर्थमन्त्री जनार्दन शर्मा चैतको दोस्रो साता नेपालगन्ज पुगेका थिए।

०७४ को चुनावमा नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा ७ हजार १९८ मत पाएर तेस्रो बनेका माओवादी नेता दामोदर शर्माको मलामी बनेर मन्त्री जनार्दन नेपालगन्ज पुगेका थिए। क्यान्सरले नबितेका भए अहिले उनै दामोदर नेपालगन्जको मेयरका दाबेदार बन्ने निश्चित थियो।

मलामीका रुपमा नेपालगन्ज आएका मन्त्री शर्मासँग स्थानीय माओवादी नेता नन्दलाल वैश्यले भेट गरे। पार्टीले आफूलाई टिकट दिएमा मेयर पदमा जितेर देखाइदिने भन्दै वैश्यले मन्त्री शर्मासँग टिकटको याचना गरे। मन्त्री शर्माले पनि उनलाई अघि बढ्न ‘ग्रिन सिग्नल’ दिएका थिए। तर, त्यो ग्रिन सिग्नल काम लागेन, वैश्य राप्रपाको उम्मेदवार बने।

नेपालगन्जमा ४० करोड लगानीमा ‘मेरो प्लानेट’ नामको पर्यटन व्यवसाय चलाइरहेका पशुपति दयाल मिश्रा भन्छन्, ‘यहाँ गठबन्धनले चुनाव हार्ने गरेको छ। ०७४ मा म वाम गठबन्धनको उम्मेदवार थिएँ, हारेँ। काँग्रेस र माओवादीको गठबन्धन थियो, ऊ पनि हार्यो। गठबन्धन नै नभएका जसपाका इस्तियाक राईले जादु चलाए!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .